मंगलवार, ३ असार, २०८२

नेविसंघको घोषणापत्र सार्वजनिक : समावेशी शिक्षा, डिजिटल प्रणाली र एआईमा जोड

नेविसंघका प्रवक्ता सुरज सेजुवालले शिक्षाको गुणस्तर सुधार, समावेशीता र विद्यार्थी अधिकारलाई मुख्य आधार बनाइएको बताए।

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले शिक्षामा आमूल परिवर्तनको खाका प्रस्तुत गर्दै आफ्नो नयाँ घोषणापत्र सार्वजनिक गरेको छ।

समावेशी शिक्षा, डिजिटल रूपान्तरण र प्रविधिमा आधारित शिक्षण प्रणालीलाई प्राथमिकतामा राखिएको यो घोषणापत्रले विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउने दाबी गरिएको छ।

नेविसंघका प्रवक्ता सुरज सेजुवालले शिक्षाको गुणस्तर सुधार, समावेशीता र विद्यार्थी अधिकारलाई मुख्य आधार बनाइएको बताए। “यो घोषणापत्र हाम्रो प्रतिबद्धताको दस्तावेज हो, जसले हरेक विद्यार्थीलाई समेट्छ,” उनले भने।

त्रिविको डिजिटल रूपान्तरणको योजना
नेविसंघले त्रिभुवन विश्वविद्यालय (त्रिवि) लाई ‘डिजिटल हाउस’ मा परिणत गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ। प्रवक्ता सेजुवालका अनुसार, परीक्षा फर्म भर्नेदेखि ट्रान्सक्रिप्ट लिनेसम्मका सबै प्रक्रिया अनलाइन गरिनेछ।

“यसले विद्यार्थीको समय बचत गर्नुका साथै प्रशासनिक पारदर्शिता र सुशासन कायम गर्नेछ,” उनले थपे।

साथै, डिजिटल लर्निङ प्लेटफर्म स्थापना गरी लकडाउनजस्ता संकटमा पनि शैक्षिक निरन्तरता सुनिश्चित गरिनेछ। यो प्लेटफर्ममार्फत विद्यार्थीले JSTOR, Westlaw, LexisNexis र ResearchGate जस्ता अन्तर्राष्ट्रिय अनुसन्धान सामग्रीमा सहज पहुँच पाउनेछन्।

“हामी विश्वस्तरीय शिक्षामा नेपाली विद्यार्थीलाई जोड्न चाहन्छौं,” सेजुवालले जोड दिए।

LGBTQ+ विद्यार्थीका लागि ‘इन्द्रेणी अभियान’
नेविसंघले लैङ्गिक अल्पसंख्यक (LGBTQ+) विद्यार्थीको हकहित संरक्षण र सम्मानका लागि ‘इन्द्रेणी अभियान’ सुरु गर्ने घोषणा गरेको छ। यो अभियानले शिक्षा प्रणालीमा विद्यमान विभेद हटाउन, मानसिक परामर्श प्रदान गर्न र आवश्यक परे कानूनी सहयोग उपलब्ध गराउन जोड दिनेछ।

“LGBTQ+ विद्यार्थीले सामाजिक र मानसिक चुनौतीको सामना गर्नुपरेको छ। हामी उनीहरूको सुरक्षित र सम्मानित वातावरण बनाउन प्रतिबद्ध छौं,” सेजुवालले भने।

यो अभियानले विविधताको सम्मान र समतामूलक अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

एआई प्रविधिमार्फत ज्ञान अर्थतन्त्रमा सहभागिता
‘एआ सँगै अघि बढौँ’ नारासहित नेविसंघले कृत्रिम बुद्धिमता (AI) मा आधारित शिक्षालाई प्राथमिकता दिएको छ। यो योजनाले विद्यार्थीलाई डिजिटल साक्षरता, डेटा एनालिटिक्स र समस्या समाधान सीपमा दक्ष बनाउनेछ।

“हामी विद्यार्थीलाई ज्ञान अर्थतन्त्रमा जोडेर उनीहरूको प्रतिस्पर्धी क्षमता बढाउन चाहन्छौं,” सेजुवालले बताए। अनलाइन कोर्स, प्रविधिमा आधारित अनुसन्धान र डिजिटल माध्यमबाट ज्ञान प्रवाहलाई प्रोत्साहन गरिनेछ।

सबैको सहभागिता अपेक्षित
प्रवक्ता सेजुवालले यो घोषणापत्रलाई “समावेशी, नवप्रवर्तनशील र दूरदर्शी” भन्दै सबै विद्यार्थीलाई अभियानमा साथ दिन आग्रह गरे।

“शिक्षामा मात्र होइन, सामाजिक न्याय र प्रविधिको पहुँचमा पनि हामी सबैलाई समेट्नेछौं,” उनले प्रतिबद्धता जनाए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार