बुधबार, ४ असार, २०८२

दलित राष्ट्रिय गोलमेच सम्मेलन आयोजक समितिको सचिवालय बैठक सम्पन्न

बैठकले नो केवल कार आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै, बैठकले सरकारद्वारा गरिएको भीषण दमनको भर्त्सना गरेको छ।

०८१ माघ १८ गते दलित राष्ट्रिय गोलमेच सम्मेलन आयोजक समितिको सचिवालय बैठक काठमाडौंमा सम्पन्न भएको छ। सम्मेलनका संयोजक डा. निर्मल विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले आगामी वैशाखमा आयोजना हुने गोलमेच सम्मेलनको सफलताको निम्ति विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको हो।

बैठकले अग्नि शिखालाई समितिको प्रवक्ताको रूपमा चयन गर्ने निर्णय गरेको छ। दलित गोलमेच सम्मेलनसम्बन्धी आवश्यक जानकारी प्रवाह गर्न चाँडै पत्रकार सम्मेलन गर्ने निर्णय गरिएको विश्वकर्माले जानकारी दिए।

सम्मेलन तयारी अभियानलाई प्रभावकारी बनाउन संयोजक विश्वकर्माद्वारा प्रस्तुत विस्तृत कार्ययोजनालाई पारित गर्दै बैठकले यसको कार्यान्वयनमा सबै सरोकारवालाहरूसँग सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ।

“नो केवल कार आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै, बैठकले सरकारद्वारा गरिएको भीषण दमनको घोर भर्त्सना गरेको छ,” संयोजक विश्वकर्माले भने, “अभिव्यक्ति स्वतन्त्रता विरोधी कुनै पनि संचार नियमन खारेजीको माग गर्दै सामाजिक अभियन्ता अशिका लामाको विनासर्त रिहाइका लागि पनि दबाब दिने निर्णय भएको छ।”

उनका अनुसार गोलमेच सम्मेलनलाई सफल बनाउन प्रत्येक प्रदेश र सम्भव भएसम्म जिल्लास्तरमा उपसमिति गठन गर्दै जाने निर्णय गरिएको छ।

त्यस्तै दलित मुक्ति अभियानका संयोजक सुनिल लोहनीलाई आयोजक समितिको सचिवालयमा राख्ने निर्णय गरिएको छ। जापानस्थित प्रवासी दलितहरूको समन्वय गर्न धनबहादुर विश्वकर्मालाई जापान प्रमुखको रूपमा चयन गरिएको छ।

बैठकले गोलमेच सम्मेलन मूल आयोजक समितिमा विभिन्न नयाँ सदस्यहरूमा झापा जिल्लाबाट झमानसिंह रामदाम, सुनसरीबाट भीमबहादुर दरनाल, प्रेम लोहार र सुनिता मरिक डोम, तेह्रथुमबाट तीर्थ मिजार, धनकुटाबाट दिलबहादुर परियार, सिराहाबाट पूर्वमाननीय सुनिता राम, कास्कीबाट शान्तबहादुर विश्वकर्मा, बाबुलाल विश्वकर्मा, तनहुँबाट कृष्णबहादुर विश्वकर्मा, रामबहादुर घले परियार, काठमाडौंबाट शिवराम रम्तेल, सिन्धुपाल्चोकबाट इन्द्रबहादुर बिक, सिन्धुलीबाट शिव वर्मा, नवलपुरबाट भीमबहादुर बिक, यमबहादुर बिक र शारदा विश्वकर्मा तथा चितवनबाट लालबहादुर बिक, श्रीभक्त बिक, बलबहादुर बिक (अडिग) र कृष्णबहादुर परियारलाई मूल समितिमा समावेश गर्ने निर्णय गरेको छ।

बैठकको निर्णयबारे जानकारी दिँदै विस्तारित प्रवासी दलित एकता समाजका प्रवक्ता तथा “दलितका लागि दलित अभियान” केन्द्रीय समितिका सदस्य सुसिल ओखेडाले दलित गोलमेच सम्मेलनलाई सफल बनाउन सबैको एकता र सक्रिय सहभागिता आवश्यक रहेको बताए।

“बैठकको निर्णय कार्यान्वयन गर्न सम्बन्धित सबै पक्षलाई अनुरोध गर्दै समितिले दलित समुदायको अधिकारसंग सम्बन्धित विषयहरूमा सरकारलाई दवाव दिने प्रतिबद्धता पनि जनाएको छ,” उनले भने।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार