कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्थायी चिकित्सकहरूले आफ्ना जायज मागहरूको सम्बोधन नभएको भन्दै डिन कार्यालयमा तालाबन्दी गरेका छन्।
लामो समयदेखि विभिन्न मागहरू सम्बन्धित निकायसमक्ष राख्दै आए पनि कुनै ठोस सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिन बाध्य भएको उनीहरूको भनाई छ।
आन्दोलनरत चिकित्सक डा. रविन खापुङका अनुसार पटक–पटक संवाद र सहकार्यमार्फत समाधान खोज्ने प्रयास गरिए पनि व्यवस्थापन पक्षबाट बेवास्ता भएको छ।

‘हामीले शान्तिपूर्ण ढंगले आफ्ना मागहरू राखिरहेका छौं, तर सुनुवाइ नभएकै कारण यस्तो कदम चाल्न बाध्य भयौं,’ उनले भने।
अर्का आन्दोलनरत चिकित्सक डा. राजेन्द्र मडी गिरीले आन्दोलनका कारण विद्यार्थी तथा सेवा-ग्राहीलाई परेको असुविधाप्रति क्षमायाचना व्यक्त गर्दै आफ्ना आधारभूत हक र व्यावसायिक सम्मानका लागि संघर्ष गर्नुपरेको बताए।
‘हामी संवादमार्फत समाधान चाहन्छौं, तर माग सम्बोधन नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउनुको विकल्प छैन,’ उनले स्पष्ट पारे।
चरणबद्ध आन्दोलनअन्तर्गत चिकित्सकहरूले अब डिन कार्यालय अगाडि धर्ना तथा तालाबन्दी गर्ने कार्यक्रम अघि बढाएका हुन्।

उनीहरूले यो कदम आफ्नो मागप्रति सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउने उद्देश्यले चालिएको बताएका छन्।
यता, प्रतिष्ठानका उपकुलपति डा. पुजन रोकायाले चिकित्सकहरूको माग तत्काल सम्बोधन गर्न कठिनाइ रहेको बताएका छन्।
उनका अनुसार लोकसेवा आयोगमार्फत बढुवा लिने विकल्प भए पनि तत्कालका लागि त्यसको वातावरण बनिसकेको छैन।
‘उहाँहरूले माग गरेजस्तो थप जिम्मेवारी दिने प्रावधान कानुनमा नभएकाले समस्या भएको हो,’ उनले भने।















