जिल्लाको आठबीस नगरपालिकास्थित राकम कर्णाली आधारभूत अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। अस्पतालको आयोजना तथा नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको शिविरमा ६० भन्दा बढी सेवाग्राहीले सेवा लिएका छन्।
ग्रामीण भेगका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविर बिहान ८ बजेदेखि सुरु भई साँझ ४ बजेसम्म सञ्चालन हुने जनाइएको छ। शिविरमा मधुमेह (सुगर), उच्च रक्तचाप, मुटुसम्बन्धी समस्या लगायत नसर्ने रोगहरूको निःशुल्क जाँच तथा परामर्श सेवा प्रदान गरिएको छ।
स्वास्थ्य परीक्षणसँगै आवश्यक परे औषधि सिफारिस र जीवनशैली सुधारसम्बन्धी सुझावसमेत दिइएको छ। शिविरमा सहभागीमध्ये अधिकांश बिरामीमा मधुमेह सम्बन्धी समस्या देखिएको अस्पतालले जनाएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किरण सावद माझीले ग्रामीण क्षेत्रमा नसर्ने रोगहरूको जोखिम बढ्दै गएको उल्लेख गर्दै यस्ता शिविरको आवश्यकता अझ बढेको बताउनुभयो। समयमै जाँच र सचेतनाको अभावले सामान्य समस्या पनि जटिल बन्ने भएकाले यस्ता कार्यक्रम प्रभावकारी हुने उहाँको भनाइ छ।
त्यस्तै, डा. राज कुमार सिजापतीका अनुसार पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि असन्तुलित खानपान, शारीरिक सक्रियताको कमी र बदलिँदो जीवनशैलीका कारण मधुमेह लगायतका रोग बढ्दै गएका छन्।
स्थानीयवासीहरूले शिविरबाट प्रत्यक्ष लाभ लिएको बताएका छन्। आर्थिक अभावका कारण नियमित स्वास्थ्य जाँच गर्न नसक्ने नागरिकका लागि यस्ता निःशुल्क सेवा अत्यन्त उपयोगी भएको उनीहरूको भनाइ छ। साथै, यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग समेत गरिएको छ।
















