घोराही–१२ स्थित तल्लो बसन्तपुर गाउँले केही महिनाअघि भोग्दै आएको पिउने पानीको चरम अभाव अहिले विगत बनेको छ। “घोराही बनाऔं अभियान” को सहजीकरण र स्थानीयवासीको सक्रिय सहभागिताले गाउँमा पानीको सहज पहुँच सुनिश्चित भएको हो।
पहिले एक गाग्री पानीका लागि रातभर पालो कुर्नुपर्ने बाध्यता झेल्दै आएका यहाँका बासिन्दा अहिले बिहान र साँझ नियमित रूपमा धारा मार्फत पानी पाउन थालेका छन्। अभियानले नयाँ खानेपानी समिति गठन गरी स्थानीयलाई नेतृत्वमा अघि बढाएपछि समस्या समाधानतर्फ ठोस प्रगति भएको हो।
तल्लो बसन्तपुर खानेपानी संरक्षण उपभोक्ता समिति नन्दराम वलीको नेतृत्वमा गठन गरिएको थियो। समितिले नयाँ मुहानबाट पानी ल्याउने योजना कार्यान्वयन गर्दै प्रत्येक घरधुरीबाट १५ हजार रुपैयाँ संकलन गर्यो।
साथै, स्थानीय दाता तथा खानेपानी तथा सरसफाइ कार्यालयको सहयोगमा आवश्यक पाइपसमेत जुटाइयो। यस प्रक्रियामा अभियानका संयोजक सविन प्रियासनले विभिन्न निकायसँग समन्वय गर्दै महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो।
स्थानीय टोल विकास संस्थाका अध्यक्ष रशेम योगी र गोबरर्धन योगीका अनुसार अभियानको सुझावअनुसार एकताबद्ध भएर काम गर्दा छोटो समयमै परिणाम देखिएको हो। “पहिलेको दुःख सम्झिँदा अहिलेको सहजता निकै ठूलो परिवर्तन हो,” उनीहरू भन्छन्।
हाल करिब ६० घरधुरी रहेको यस टोलमा पानीको समस्या समाधान भएपछि स्थानीय जीवनस्तरमा उल्लेखनीय सुधार आएको छ। यसै सन्दर्भमा शुक्रबार अभियान टोली गाउँमै पुगेर थप पानी व्यवस्थापन र अन्य विकासका सम्भावनाबारे छलफल गरेको छ।
गाउँमा पुगेको टोलीलाई स्थानीयले भव्य स्वागत गरेका थिए। यो सफलताले सामूहिक प्रयास र प्रभावकारी समन्वय भए कुनै पनि समस्या समाधान गर्न सकिन्छ भन्ने सन्देश दिएको छ।
















