कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने “कर्णाली उत्सव: कुडा कर्नालीका” को सातौँ संस्करण आगामी चैत २८, २९ र ३० गते सञ्चालन हुने भएको छ।
राजनीतिक, सामाजिक र आर्थिक विषयमा बहस हुने साझा थलोका रूपमा स्थापित यस उत्सवका यसअघि छ वटा संस्करण सम्पन्न भइसकेका छन्।
उत्सवका आयोजक ऋति फाउन्डेसनका अनुसार अघिल्ला वर्षहरूझैँ यस वर्ष पनि कार्यक्रम तीन दिनसम्म वीरेन्द्रनगरस्थित सिटी हलको प्राङ्गणमा सञ्चालन हुनेछ।
उत्सवका कार्यकारी निर्देशक दिनेश गौतमका अनुसार पहिलो दिन आर्थिक विषयमा केन्द्रित बहस हुनेछ भने दोस्रो दिन पर्यावरण र प्रकृतिसँग सम्बन्धित विषयमा सत्रहरू सञ्चालन गरिनेछन्।
तेस्रो दिन समसामयिक राजनीति र सुशासनका विषयमा छलफल हुने कार्यक्रम रहेको छ।
उत्सवमा प्यानल छलफलका साथै कर्णालीका विभिन्न प्रतिभाशाली व्यक्तिहरूका अनुभव र कथा सुन्न पाइने ‘पैकेलो’ सत्र पनि सञ्चालन गरिनेछ।
साथै सांस्कृतिक साँझ, गजल साँझ लगायतका सांस्कृतिक तथा साहित्यिक कार्यक्रमहरू पनि आयोजना गरिनेछन्।
आयोजकका अनुसार उत्सवका प्रत्येक दिन समसामयिक विषयमा ख्यातिप्राप्त व्यक्तिहरूका विद्वत् प्रवचन समेत रहनेछन्।
















