सुर्खेतमा १६ वर्षीया किशोरी इनिशा बी.क. मृत फेला परेको घटनाले देशभर नै आक्रोश र चिन्ता बढाएको छ। कवि सुमिनाले उक्त घटनाका दोषीलाई तत्काल पहिचान गरी हदैसम्मको कानुनी कारबाही गर्न माग गरेकी छन्।
समाजमा बढ्दो यौन हिंसाका घटनाप्रति गहिरो आक्रोश व्यक्त गर्दै चर्चित कवि सुमिनाले पितृसत्तात्मक संरचना र पूँजीवादी व्यवस्थामाथि कडा प्रश्न उठाएकी छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आफ्नो स्टाटसमा उनले समाजलाई नै ‘बलात्कारी उत्पादन गर्ने कारखाना’ बनेको आरोप लगाएकी हुन्।
कवि सुमिनाले विश्वस्तरका यौन अपराधदेखि स्थानीय समाजमा हुने बलात्कार र हत्या घटनासम्म एउटै संरचनात्मक समस्यासँग जोडिएको बताएकी छन्। उनले शक्तिशाली व्यक्तिहरूले पैसाको आडमा यौन शोषणलाई संगठित रूपमा सञ्चालन गर्ने प्रवृत्तिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै अमेरिकी धनाढ्य जेफ्री एप्स्टाइनको घटनालाई उल्लेख गरेकी छन्।
उनका अनुसार पितृसत्तात्मक मानसिकता र शक्ति स्रोतको असमान वितरणले महिलालाई मानव होइन, केवल ‘वस्तु’का रूपमा हेर्ने विकृत सोचलाई बढावा दिएको छ। ‘यो व्यवस्थाले बालकदेखि वृद्धसम्मलाई बलात्कारी चेतनाको इन्धन भरिदिन्छ,’ उनले लेखेकी छन्।
समाजमा महिलाको शरीरलाई सम्मानित अस्तित्वका रूपमा नभई उपभोगका वस्तुका रूपमा प्रस्तुत गरिँदा हिंसा झन् बढिरहेको उनको तर्क छ। उनले विशेषगरी बालिका र किशोरीहरू सबैभन्दा बढी असुरक्षित अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गरेकी छन्।
उनका अनुसार अहिलेको सामाजिक वातावरण यस्तो बनेको छ कि ‘कलिला बालिकाहरू आफ्नै उमेरसमूहका केटाहरूबाट समेत असुरक्षित हुनुपर्ने अवस्था सिर्जना भएको छ।’
उनले स्त्री अङ्ग लिएर जन्मेकै कारण महिलाले निरन्तर त्रास, हिंसा र अपमान सहनुपर्ने परिस्थिति अन्त्य हुनुपर्नेमा जोड दिएकी छन्। ‘स्त्री भएर जन्मेकै आधारमा सजाय बलात्कार र मृत्यु किन?’ भन्ने प्रश्न उनले समाज र राज्य दुवैसँग उठाएकी छन्।
यसैबीच उनले इनिशा बी.क. को हत्या घटनाप्रति पनि गहिरो दुःख र आक्रोश व्यक्त गरेकी छन्। सुर्खेतमा १६ वर्षीया किशोरी इनिशा बी.क. मृत फेला परेको घटनाले देशभर नै आक्रोश र चिन्ता बढाएको छ। कवि सुमिनाले उक्त घटनाका दोषीलाई तत्काल पहिचान गरी हदैसम्मको कानुनी कारबाही गर्न माग गरेकी छन्।
उनको स्टाटस सामाजिक सञ्जालमा व्यापक रूपमा साझा भइरहेको छ र धेरैले समाजमा बढ्दो यौन हिंसाका घटनाविरुद्ध आवाज उठाउनुपर्ने आवश्यकता औँल्याएका छन्। विश्लेषकहरूका अनुसार यस्तो अभिव्यक्तिले केवल एउटा घटनाप्रति आक्रोश व्यक्त गर्ने मात्र होइन, समाजको संरचनात्मक समस्या र लैङ्गिक असमानताबारे गम्भीर बहस सुरु गराउने संकेत पनि दिएको छ।
















