आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै कर्णाली प्रदेशभर ९ हजार ७ सय ४३ निर्वाचन प्रहरी माग गरिएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार १० जिल्लाका १२ निर्वाचन क्षेत्रको सुरक्षाका लागि यो दरखास्त आह्वान गरिएको हो।
जिल्लागत विवरण अनुसार सबैभन्दा बढी सुर्खेतमा १ हजार ६ सय २८ र सबैभन्दा कम हुम्लामा ५ सय ४९ जनाको कोटा तोकिएको छ। अन्य जिल्लाहरूमा दैलेखमा १,३७८, सल्यानमा १,३१०, कालिकोटमा १,१०२, जाजरकोटमा ८८६, जुम्लामा ८७८, मुगुमा ५८० र डोल्पामा ५७९ जना निर्वाचन प्रहरी माग गरिएको छ। इच्छुक व्यक्तिहरूले आजबाट माघ १ गतेसम्म सार्वजनिक बिदाका दिन समेत सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दरखास्त बुझाउन पाउने छन्।
सरकारले देशभर कुल १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी भर्ना गर्ने लक्ष्य राखेको छ, जसमध्ये ठूलो संख्या नेपाल प्रहरी र केही सशस्त्र प्रहरी बल मातहत परिचालन गरिनेछ। भर्ना हुने निर्वाचन प्रहरीले १० दिनको तालिम र ३० दिन कार्यस्थलमा सेवा गर्नुपर्नेछ। उनीहरूले प्रहरी जवान सरहको आधारभूत तलब, पोसाक र रासन सुविधा उपलब्ध हुनेछ।
साथै तयारी खर्चबापत ८ सय ४६ रुपैयाँ र खाजा खर्चबापत १ हजार २ सय रुपैयाँ एकमुष्ट उपलब्ध गराइनेछ। तलब र भत्ताको रकम सिधै बैंक खातामा जम्मा गरिने व्यवस्था मिलाइएको छ
सुरक्षाकर्मीहरूका लागि क्षेत्र अनुसार फरक पोसाक भत्ता र संगठन अनुसार निलो डांग्री वा तोकिएको विशेष पोसाक अनिवार्य गरिएको छ।














