वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाईले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको पदभार ग्रहणपश्चात मन्त्रालयअन्तर्गतका विभिन्न महत्वपूर्ण निर्णयहरू सदर गरेका छन्।
मन्त्री चौलागाईंले कर्णाली राजमार्गलाई सडक सुरक्षा तथा स्तरोन्नतिको दृष्टिले आगामी पाइपलाइन परियोजनामा समावेश गर्न एसियाली विकास बैंकलाई अनुरोध गरेका छन्।
त्यस्तै जुम्ला र कालिकोट जिल्लाको सिमाना नाग्मस्थित हिमा नदीमा पक्की पुल निर्माण सम्पन्न भइसकेको अवस्थामा सो स्थानमा रहेको बेलिब्रिजलाई जुम्ला जिल्लाको तातोपानी गाउँपालिका–६ स्थित तिला नदीमा स्थानान्तरण गर्ने निर्णय गरिएको छ।
उक्त बेलिब्रिज तातोपानी गाउँपालिका–४ हाँकु जोड्ने गरी स्थानान्तरण गरिनेछ, जसबाट स्थानीय नागरिकको आवतजावत थप सहज हुने विश्वास लिइएको छ।
यसैबीच, निर्माण व्यवसायी नियमावली, २०५६ को अनुसूची–१३ मा रहेको ‘घ’ वर्गको निर्माण व्यवसायीको योग्यता सम्बन्धी मापदण्ड परिमार्जन गर्न आवश्यक सुझाव संकलनका लागि ५ सदस्यीय समिति गठन गरिएको छ।
मन्त्रालयका सहसचिव शुसिलबाबु ढकालको संयोजकत्वमा गठित उक्त समितिले आवश्यक अध्ययन तथा सुझाव पेस गर्नेछ।














