कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा बीपीएच तेस्रो वर्षका विद्यार्थीहरूले सुर्खेतको लेकबेशी नगरपालिकामा ४५ दिने नगर स्वास्थ्य प्रणाली व्यवस्थापन सम्बन्धी शैक्षिक फिल्ड अभ्यास सम्पन्न गरेका छन्। कार्यक्रम २०८२ साल पुस २१ गते लेकबेशी नगरपालिका सभाहलमा औपचारिक प्रस्तुतिकरणसहित सम्पन्न भएको हो।
कार्यक्रम श्री रोशन ताम्रकारको अध्यक्षतामा आयोजना गरिएको थियो। फिल्ड अभ्यासको उद्देश्य नगरपालिकाको समग्र स्वास्थ्य प्रणालीको अवस्था अध्ययन गर्नु, उपलब्ध स्रोतसाधनको पहिचान गर्नु र प्राथमिक स्वास्थ्य समस्याको विश्लेषण गर्नु थियो। साथै मिनी एक्सन प्रोजेक्ट सञ्चालन तथा प्राथमिकतामा आधारित पाँच वर्षे स्वास्थ्य योजना तयार गर्नु अभ्यासको मुख्य लक्ष्य रहेको विद्यार्थी आनन्दकुमार सिंहले जानकारी दिए।

अभ्यासका क्रममा विद्यार्थीहरूले सुरक्षित मातृत्व, खोप, सीबीआई, एमएनसीआई, एचआईभी, तथा एटीआई लगायत प्रमुख स्वास्थ्य कार्यक्रमहरूको अवस्था अध्ययन गरेका थिए। लेकबेशी नगर अस्पताल, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र र सामुदायिक स्वास्थ्य इकाइहरूको स्थलगत अवलोकन गरिएको विद्यार्थी वैभव ठाकुरले बताए।

त्यसैगरी सुन्दर नेपाल, नेपाल रेडक्रस सोसाइटी, सीएसी नेपाल र बीएनएमटी नेपाललगायत गैरसरकारी संस्थाहरूको पनि भ्रमण गरिएको थियो। यी संस्थाहरूले स्वास्थ्य, पोषण, मानसिक स्वास्थ्य, वास र सामाजिक समावेशीकरण क्षेत्रमा गरेका कार्यबारे विद्यार्थी विकास महतोले जानकारी दिए।

मिनी एक्सन प्रोजेक्टअन्तर्गत ‘स्वास्थ्य प्रणालीमा अभिलेखन तथा प्रतिवेदन’ विषयमा स्वास्थ्यकर्मीहरूका लागि सहभागितामूलक तालिम सञ्चालन गरिएको थियो। प्रि–टेस्ट र पोस्ट–टेस्टको नतिजाले ज्ञान र सीपमा सुधार आएको विद्यार्थी दिलिप रावतले जानकारी दिए।
यस क्रममा पेटसम्बन्धी रोग एपीडी/ग्यनँस्ट्राइटीस विषयमा गरिएको अध्ययनले उक्त रोग पछिल्ला तीन वर्षदेखि नगरपालिकाको शीर्ष ओपीडी रोगमध्ये एक रहेको देखाएको छ। महिलामा बढी देखिने र श्रावण महिनामा उच्च हुने प्रवृत्ति पनि पाइएको छ।

विद्यार्थीहरूले सुरक्षित मातृत्वसम्बन्धी पाँच वर्षे योजना तयार गरेका छन्। योजनाले मातृ तथा नवजात शिशु स्वास्थ्य सुधारमा सहयोग पुग्ने विश्वास लिइएको विद्यार्थी दिपेन्द्र चौधरीले जानकारी दिए।
कार्यक्रममा लेकबेशी नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्य प्रमुख र प्रशासकीय अधिकृतले यस्ता शैक्षिक अभ्यासले स्थानीय स्वास्थ्य प्रणाली सुदृढीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे।














