मंगलवार, १३ माघ, २०८२

मुगुमा बोलेरो जिप दुर्घटनामा सेनाका अमलदारको मृत्यु

मुगुमा सेनाको बोलेरो जिप दुर्घटनामा एक अमलदारको मृत्यु भएको छ। हनुमान ध्वज गुल्म हुटु रारादेखि भुलभुलेसम्म सैनिक पुर्‍याउन गएको जिप फर्किने क्रममा दुर्घटनामा परेको हो।

मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार मृत्यु हुनेमा हनुमान ध्वज गुल्मका अमलदार चालक हरिसिंह ऐडी छन्। बैतडीको पाटन-४ बगाडी स्थायी ठेगाना भएका चालक ऐडीलाई मुगु अस्पतालले बिहान १ बजेर ३० मिनेटमा मृत घोषणा गरेको थियो।

न १ झ १०३९ नम्बरको बोलेरो रारा छायानाथ नगरपालिका-७ मा रहेको पिना प्रहरी चौकीदेखि अगाडि आलादुना खोलाको मोडमा दुर्घटनामा परेको थियो। 

आइतबार बेलुकी ७ बजेर ७ मिनेटमा दुर्घटनामा परेको खबर पाउनेबित्तिकै नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो। 

बोलेरो सडकदेखि २ सय मिटर तल खसेको थियो। घाइते चालकलाई राति १० बजे नै मुगु अस्पतालमा ल्याइपुर्‍याइएको भए पनि बचाउन नसकिएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए।

दुर्घटनाको कारण पत्ता लागेको छैन। तर त्यो मोडमा धेरै दुर्घटना हुने गरेको स्थानीयले बताएका छन्। मृतक ऐडीको शव पोस्टमार्टमको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार