संघर्षले मानिसलाई बलियो बनाउँछ। मैले पाएको दुःख अरूले नपाओस् भन्ने चाहनाले नै म समाजमा केही गर्न प्रेरित भएको हुँ।
जुम्लाबाट राजधानी काठमाडौंसम्मको कठिन यात्रालाई सफलताको कथामा बदल्ने युवामध्ये एक हुन् किरण एस. नेपाल। आज उनी मुलुककै महत्वपूर्ण जलविद्युत् परियोजनामध्ये एक, कालंगा बसाइँ ६५ मेगावाट हाइड्रोपावर परियोजनामा प्रशासन तथा प्रोक्योरमेन्ट सम्बन्धी जिम्मेवारी सम्हालिरहेका छन्।
राष्ट्रिय पूर्वाधार विकासको अग्रपङ्क्तिमा रहेर काम गरिरहेका नेपाल धेरै युवाका लागि प्रेरणाको नाम बनिरहेका छन्। उनले १६ वर्षको उमेरमा चप्पल लगाएर काठमाडौं प्रवेश गरेका थिए। न हातमा पैसा थियो, न कुनै चिनजान।
जीवन चलाउन उनले होटलमा काम गरे। भाडाको कोठामा बसेर पढाइलाई निरन्तरता दिए। दिनभर काम, रातभर अध्ययन यही उनको दैनिकी बन्यो।
सीमित साधन र कठिन परिस्थितिबीच पनि उनले हार मानेनन्। परिश्रम, इमानदारी र अनुशासनलाई आफ्नो मूल मन्त्र बनाए। यही निरन्तर संघर्षले उनलाई आजको स्थानसम्म पुर्याएको हो।
उनको जीवन यात्रामा राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्व, पूर्व स्वस्थ्य राज्य मन्त्री तथा नेपाली कांङ्ग्रेसका पार्टी सचिव उमेेशकुमार श्रेष्ठसँगको मार्गदर्शनले थप ऊर्जा दियो। त्यो मार्गदर्शनले उनलाई आत्मविश्वासी बनायो र जिम्मेवारी बहन गर्न सक्षम बनायो।
पेशागत सफलतासँगै उनले समाजप्रतिको दायित्वमा पनि उत्तिकै संवेदनशील छन्। आफूले भोगेको दुःख उनले कहिल्यै बिर्सिएनन्। त्यसैले अरूलाई सहयोग गर्नु उनको जीवनको लक्ष्य बन्यो।
उनले अहिलेसम्म देशभित्र करिब ५० जनालाई रोजगारीको अवसर दिलाइसकेका छन्। रोजगारी मात्र होइन, कमजोर आर्थिक अवस्थाका धेरै विद्यार्थीलाई निःशुल्क अध्ययनका लागि सहयोग गरेका छन्। शिक्षा नै परिवर्तनको आधार हो भन्ने मान्यतामा उनी दृढ छन्।
त्यसैगरी, जापानमा विद्यार्थी भिसामा गएका १४ जना युवालाई रोजगारी मिलाउन पनि उनले सहयोग गरेका थिए। विदेशिएका युवालाई सुरक्षित र सम्मानजनक काममा जोड्नु उनको प्राथमिकता रहेको देखिन्छ।
उनी भन्छन्, ‘संघर्षले मानिसलाई बलियो बनाउँछ। मैले पाएको दुःख अरूले नपाओस् भन्ने चाहनाले नै म समाजमा केही गर्न प्रेरित भएको हुँ।’
विकट ठाउँबाट आएर पनि इमानदारी र मेहनतले सफलता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण उनी स्वयं हुन्।
जुम्लाबाट सुरु भएको उनको यात्रा आज जलविद्युत् क्षेत्र हुँदै समाजसेवाको उज्यालो बाटोतर्फ अघि बढिरहेको छ।














