युवा मानवाधिकार रक्षकका लागि पाँचदिने समग्र सुरक्षा सम्बन्धि क्षमता अभिवृद्धि तालिम सुर्खेतमा सुरु भएको छ।
ग्रामीणमुखी युवा अभियान (रोयम,नेपाल) र युवा मानवाधिकार रक्षक सञ्जालको आयोजना र राष्ट्रिय मानवाधिकार आयोगको समन्वय र एईआईएनको आर्थिक सहयोगमा “मानवअधिकार तथा सामाजिक न्याय अभियान” नारासहित युवा मानवाधिकार रक्षकहरूका लागि समग्र सुरक्षा सम्बन्धी क्षमता अभिवृद्धि तालिम सुर्खेतमा सुरु भएको हो।
रोयम नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेको सभाध्यक्षमा र कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री मा.विनोदकुमार शाहको प्रमुख आतिथ्य तथा कर्णाली प्रदेशका पूर्व माननीय उर्मिला विश्वकर्मा,इन्सेक कर्णाली प्रमुख राष्ट्रिय मानवाधिकार आयोगका कर्णाली प्रदेशका निमित्त कार्यालय प्रमुख सहितको उपस्थितिमा पाँचदिने आवासीय सहितको तालिमको उद्घाटन भएको हो।
तालिममा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट छनोट गरिएका २५ जना युवा मानवाधिकार रक्षकहरूको सहभागितामा मानवअधिकार प्रवर्द्धन र संरक्षणका क्रममा भोग्नुपर्ने डिजिटल, भौतिक, कानुनी तथा मनोसामाजिक जोखिम र तिनको व्यवस्थापनबारे व्यावहारिक ज्ञान र सीप हासिल गर्ने बताइएको छ।
कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री मा.विनोदकुमार शाहले ‘मानव अधिकार जटिल विषय हो। मानव उत्पत्तिसँगै मानव अधिकारलाई विविध तरिकाले अपनाउदै आएको’,उनले भने।
साथै उनले गम्भीर सवाल उठाउदै पर्यावरणीय क्षेत्रमा हानी पुर्याउनु पनि एक प्रकारको मानवाधिकार हनन भएको र यी विविध कुराहरूमा हामी गम्भीर हुनुपर्ने बताए।
त्यस्तै कर्णाली प्रदेशकी पूर्व मन्त्री उर्मिला विश्वकर्माले आजको युवा वर्गले यस्ता तालिमाबाट सिकेका कुरा व्यापक बनाउनु पर्ने बताइन्।
वर्तमान परिस्थितिमा युवाको जिम्मेवारी महत्त्वपूर्ण रहेको र यसलाई युवाले निरन्तर अघि बढाउनुपर्ने योजना आयोग कर्णाली प्रदेशका माननीय अशोकनाथ योगीले बताए।
यता राष्ट्रिय मानवाधिकार आयोग कर्णाली प्रदेशका निमित्त प्रमुख मानबहादुर कार्कीले यस्ता क्षेत्रका कार्यक्रम सबै राष्ट्रिय मानवाधिकारकै कार्यक्रम हुन्। यो क्षेत्रमा काम गर्ने रक्षकहरू आफैं पनि जोखिम भएको र यो क्षेत्रमा काम गर्नको लागि केहि सिमितता रहेको बताए।
मानवाधिकार रक्षकका लागि सुरक्षा तथा क्षमता वृद्धि तालीम पाँच दिनको रहने र युवाहरू यसमा महत्त्वपूर्ण भुमिका हुने रोयम नेपालका कर्णाली प्रदेश संयोजक सन्तोष विकले जानकारी दिए।














