शुक्रबार, ६ चैत्र, २०८२

आतंक सिर्जना गर्दै प्रसाईं, समात्न ढिलो भएन र सुशीला सरकार ?

अहिले आफू सुकुम्बासीको पक्षमा हुने र आउँदो आन्दोलनमा उनीहरूलाई पनि सहभागी गराएर अराजकता मच्याउने उनको योजना रहेको स्पष्ट छ। त्यसकारण अब सरकारले दुर्गा प्रसाईंलाई समात्नुपर्छ। नभए देशमा अराजकता फैलिरहने छ।

चिया पसल, सार्वजनिक स्थल तथा यातायातमा अहिले एउटा कुराको व्यापक चर्चा छ कि मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेपालको वैदेशिक ऋण २९ खर्ब ४२ अर्ब मिनाहाका निम्ति किन बोल्दैनन् ? छिमेक भारत र चीनले कब्जा गरेको दार्जिलिङ, सिक्किम, टंकपुर, कोलकत्ता, कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूभाग फिर्ता ल्याउनुपर्छ भनेर पनि बोलेका छैनन्।

देशभरि कब्जा गरिएका सरकारी, सार्वजनिक, गुठी, ऐलानी, हदबन्दी बढी, वनजंगल, मठमन्दिर, पार्टी–पौवालगायतको जग्गा फिर्ता ल्याउनुपर्छ भनेर पनि उनी बोलेको पाइँदैन। बरु उनी सुकुम्बासी बस्ती हटाउनुहुन्न भन्दै केही दिनअघि जडीबुटी, नरेफाँटको सुकुम्बासी बस्ती पुगे। सुकुम्बासी बस्ती हटाएमा काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) को घर भत्काइदिने समेत उनले चेतावनी दिए।

सुकुम्बासीको नाममा हुकुम्बासीहरूले खोला, नदी किनारका जग्गा हड्पेको प्रसाईंलाई पनि स्पष्ट थाहा छ। तर, उनी आतंक फैलाउन सुकुम्बासी बस्ती पुगे। कहिले बैंक, वित्तीय संस्थाका पीडितलाई हातमा लिएर अराजक मच्याउने, कहिले सुकुम्बासी बस्तीका नाममा। उनलाई न वित्तीय पीडितप्रति कुनै सान्त्वना छ, न सुकुम्बासीप्रति। प्रसाईं त आफ्नो स्वार्थ परिपूर्तिका निम्ति उनीहरूको आवाज उठाएजसरी हिँडिरहेका छन् र महानगर, सरकारलाई धम्क्याइरहेका छन्।

सुकुम्बासी बस्तीलाई हातमा लिएर आफ्नो पक्षमा मान्छेहरू जम्मा गर्ने उनको एक मात्र उद्देश्य देखिन्छ। प्रसाईंले विभिन्न बैंकबाट ११ अर्ब ऋण लिएका छन्, त्यो पनि कमसल धितो राखेर। बैंकको ऋण नतिर्न उनी कहिले दलमा आबद्ध हुन्छन् त कहिले राजावादी। अहिले त आफैं नेताजसरी हिँडिरहेका छन्। उनले बैंकको साँवा–ब्याज नतिरेको वर्षौ भइसकेको छ। धितो लिलाम प्रक्रिया अघि बढाएमा प्रसाईंले अनावश्यक भ्रम फैलाएर बैंक नै डुबाउने हुँदा उनको धितो समेत बैंकले लिलाम गर्न सकेका छैनन्।

अर्कोतर्फ, प्रसाईंका कारण धेरै मारवाडीहरू पलायन भएका छन्। नेपालमा व्यापार व्यवसाय गरेर सरकारलाई कर तिर्दै आएका मारवाडीहरूविरुद्ध प्रसाईंले नानाथरी बोलेपछि उनीहरू आफ्नै देश फर्किएका छन्। जसका कारण आज मुलुकको राजस्वमा गम्भीर समस्या निम्तिएको छ। ‘राजा चाहियो’ भन्दै प्रसाईंको नेतृत्वमा २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा आन्दोलन भयो। त्यसक्रममा दुई जनाले ज्यान गुमाए त निजी सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाट गरियो।

‘छठपछि ठूलो आन्दोलन गर्छौं, महिनौं दिन बन्द हुन्छ, ग्याँस, चामल, खाद्यान्न किनेर राख्नुस्’ भनेर आम जनमानसमा त्रास फैलाए। अब फेरि आउँदो मंसिर ७ गतेबाट आन्दोलन हुन्छ भन्दै भ्रम फैलाइरहेका छन्। आन्दोलनमा भारतबाट २२ लाख मान्छे ल्याउने प्रसाईंको तयारी रहेको उनका कार्यकर्ता बताउँछन्।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको असरबाटै सर्वसाधारण अझै पूर्ण रूपमा बाहिर आउन सकेका छैनन्। थिलथिल परेको व्यापारी, व्यवसायीको मनोबल माथि आएको छैन। यस्तो अवस्थामा प्रसाईंले आन्दोलन गर्छु भनेपछि सर्वसाधारण, व्यापारी, व्यवसायी झनै त्रसित भएका छन्। त्यसो त उनी एकाएक सुकुम्बासी बस्तीको पक्षमा हुनु पनि योजनाबद्ध देखिन्छ।

अहिले आफू सुकुम्बासीको पक्षमा हुने र आउँदो आन्दोलनमा उनीहरूलाई पनि सहभागी गराएर अराजकता मच्याउने उनको योजना रहेको स्पष्ट छ। त्यसकारण अब सरकारले दुर्गा प्रसाईंलाई समात्नुपर्छ। नभए देशमा अराजकता फैलिरहने छ। दुर्गा प्रसाईं अरूको रोटी सेकेर खाने खालका व्यक्ति हुन्। बैंकको ऋण तिर्न नपरोस् भनेर उनी कहिले लघुवित्त, मीटर–ब्याज, सहकारी पीडितलाई उकास्छन् त कहिले राजावादी, सुकुम्बासीलाई।

यद्यपि, उनले देश र जनताको हितमा हुने कुरा वा मुद्दा उठाएको सुनिँदैन। जेनजी आन्दोलनले देश खरानी भएको छ, अब प्रसाईंले आन्दोलनले के हुने हो भन्ने डर सर्वसाधारणमा बढ्दो छ। यहाँ देश बनाउनुपर्छ भन्ने कोही छैनन्। उल्टै भएको समेत सबै सिध्याउन लागिपरेका छन्। सरकारले फागुन २१ गते चुनाव घोषणा गरिसक्यो। यही कात्तिक मसान्तसम्म दल दर्ताका निम्ति समय दिइएको छ।

हालसम्म प्रसाईंले पार्टी दर्ता गरेका छैनन्। यदि उनी साँच्चिकै देश र जनताका निम्ति काम गर्न चाहान्थे भने पार्टी दर्ता गरेर चुनावमा जान्थे। तर, उनलाई पनि थाहा छ कि चुनावमा आफूलाई कसैले भोट दिँदैन। त्यसकारण उनी आतंक फैलाउन लागिपरेका छन्। माओवादी पृष्ठभूमिका प्रसाईं एमाले हुँदै राजावादी बनेका छन्। माओवादी र एमालेबाट आफ्नो स्वार्थ पूरा नभएपछि उनी राजाको नजिक बनेका हुन्।

विचारा, सोझासाझा जनताले भने यो कुरा बुझ्न सकेका छैनन्। हिजो आफूहरूले खान नपाएपछि कांग्रेस–एमालेले पञ्चायती व्यवस्थाको विरोध गरे। जनताका छोराछोरी आन्दोलनमा उतारेर मारे, अनि आफू सत्तामा पुगे। कांग्रेस र एमालेले खाएको डाहामा माओवादीले ०५२ फागुन १ गते जनयुद्ध सुरु गर्यो। दश वर्षसम्म चलेको जनयुद्धमा १७ हजार जनता मारिए। जनताको करबाट बनेका खर्बौंको सरकारी सम्पत्ति खरानी बनाइयो। जनयुद्धपछि माओवादी सत्तामा पुग्यो, अनि त्यो सहन नसकेपछि उपेन्द्र यादवले ०६३ चैत ७ गते रौतहटको गौरमा २७ जनाको ज्यान लिए, सयौं घाइते भए।

कांग्रेस, एमाले, माओवादी, मधेशी दलले खाएको रवि लामिछाने सहन सकेनन् अनि ०७९ असार ७ गते उनले रास्वपा दर्ता गराए। अनि सहकारीमार्फत लाखौं सर्वसाधारणको अर्बौं रकम पचाएर अहिले जेल जीवन बिताइरहेका छन्। राजनीतिक दलहरू सत्तामा पुगेर खाएको दुर्गा प्रसाईंले देख्न सकेनन्। सुरुमा प्रचण्ड र ओलीलाई हातमा लिए, आफ्नो घरमै बोलाएर मार्सी चामलको भात खुवाए। तर, प्रचण्ड र ओलीबाट आफ्नो काम पूरा हुने छाँटकाँट नदेखेपछि उनी पूर्वराजाको पक्षमा लागे। अब देशमा राजतन्त्र चाहिन्छ भन्दै हिँडिरहेका छन्।

हिजो आफैं माओवादीमा लागेर राजतन्त्र हटाउने अनि आफ्नो स्वार्थ पूरा नभएपछि फेरि राजा चाहियो भन्ने! प्रसाईंले आफूलाई के ठानेका छन् ? उनी खेल खेलिरहन्छन्, जनता उनको साथमा लागिरहन्छन् भनेर? जनता अब सचेत भइसके। प्रसाईं जस्ता स्वार्थी व्यक्तिको पछि अब जनता लाग्ने छैनन्।

फागुन २१ गते चुनाव गराउने नै हो भने र अर्थतन्त्रमा सुधार ल्याउनु छ भने अब सुशीला कार्की नेतृत्वको सरकारले तत्काल प्रसाईंलाई समात्नुपर्छ। नभए उनले चुनाव पनि हुन दिने छैनन्, उनकै कारण व्यापारी–व्यवसायीहरू पलायन भएर अर्थतन्त्र गम्भीर मोडमा जान सक्छ। सरकारले चुनाव विरोध तथा अर्थतन्त्र विरोधी जुनसुकै व्यक्ति, समूहलाई पक्राउ गर्नुपर्छ। किनकि सुशीला सरकारको काम भनेकै सफल रूपमा चुनाव सम्पन्न गराउनु हो।

रुषा थापा
भक्तपुर

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार