आईतवार, ८ भाद्र, २०८२

समाजसेवाः जनता लुट्दै, कथित समाजसेवी मोटाउँदै, सरकार टुलुटुलु रमिता हेर्दै !

जनतालाई लोकदोहोरी गीतमा नचाएर, एकछिनको रमाइलोमा भुलाएर जनताको सम्पत्ति थुत्ने काम इन्द्रेणीले गरिरहेको छ। अर्कोतिर, इन्द्रेणीमा कलाकारले गाएका कतिपय गीत छाडा छन्। ती गीतबाट समाजले के सिक्छ ? जनताले के सिक्छन् ? कोही कार्यक्रम खोलेर हाकाहाकी लुट्छन्। कोही अभियन्ता बनेर सर्वसाधारणबाट पैसा बटुल्छन्। कोही आफूलाई माता र धामी–झाँक्री भनेर सर्वसाधारण लुटिरहेका छन्। तर, तिनका अगाडि सरकार निरीह छ। मुलुकको कानुन लाचार बनेको छ।

७० वर्ष पुगेपछि ज्येष्ठ नागरिक भत्ता पाइन्छ । सरकारले ज्येष्ठ नागरिकहरूलाई मासिक चार हजार भत्ता दिँदै आएको छ । ज्येष्ठ नागरिकको जीविकोपार्जनमा सहज होस् भनेर सो भत्ता दिइएको हो । त्यो भत्तापनि जनताले तिरेको कर र वैदेशिक ऋण हो । जनताले खाइनखाइ, खुट्टामा एक जोर चप्पल नलगाई कर तिरेका छन् ।

यता, वैदेशिक ऋण २९ खर्ब ४२ अर्ब नाघिसकेको छ । तैपनि सरकारले जसोतसो कर बाँडिरहेकै छ । एकातिर सरकार दशदुनियाँबाट हात थाप्दै ल्याएर भत्ता बाँड्छ, अर्कोतिर ज्येष्ठ नागरिकहरू कथित समाजसेवीको कार्यक्रममा पुगेर सो भत्ता दान गर्छन् । नाममात्रका समाजसेवीलाई दिनुभन्दा त लिँदै नलिए राज्यलाई कति राहत हुन्थ्यो ?

यहाँ मासिक लाखौँ घरभाडा उठाउनेले पनि भत्ता लिन्छन् । पेन्सन खाने, छोराछोरी विदेश भएका, महिनाको लाखौँ तलब खाने, सरकारी जागिरेहरूले पनि भत्ता बुझ्छन् । कसैले पनि भत्ता छोड्दैनन् । तर, त्यो भत्ता लगेर नचाहिँदो ठाउँमा उडाइन्छ । चर्चामा आउनका लागि नै भत्ता दान दिइन्छ ।

मिडियामा आफ्नो अनुहार देखाउनकै निम्ति राज्यले दिएको भत्ताको दुरुपयोग गरिएको छ । कृष्ण कँडेलले चलाएको इन्द्रेणी कार्यक्रम सर्वसाधारण माझ लोकप्रिय कार्यक्रम हो । सो कार्यक्रममा सहयोग भन्दै पैसा बटुलिन्छ । देश–विदेशबाट सहयोग प्राप्त हुन्छ । त्यहाँ उपस्थित भएर ज्येष्ठ नागरिकहरूले भत्ता हस्तान्तरण गरिरहेका हुन्छन् ।

तर, वास्तवमै त्यो सहयोग दीनदुःखी, गरिबहरूको हातमा पुगिरहेको छ त ? कि त्यहींभित्र हिनामिना भइरहेको छ ? कसैलाई थाहा छैन । समाजमा यत्रा गरिब छन् । उनीहरूलाई सहयोग गरिँदैन । तर, त्यस्ता कार्यक्रममा गएर रकम हस्तान्तरण गरिन्छ । कृष्ण कँडेलले इन्द्रेणी सञ्चालन गरेको दुई दशक भयो ।

स्कुल पढ्ने बच्चादेखि विदेशमा बसेका नेपालीहरूले आफूले रगत–पसिना बगाएर कमाएको पैसा इन्द्रेणीमा पठाएका छन् । इन्द्रेणीले यतिका वर्षमा ठूलो रकम उठाइसकेको छ । तर, त्यो पैसा कहाँ खर्च भयो ? केमा प्रयोग गरियो ? कसलाई सहयोग गरियो ? सरोकारवालाले खोजबिन गरेको छैन ।

राष्ट्रिय सतर्कता केन्द्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालयलगायतका नियामक निकाय आँखामा पट्टी बाँधेर बसेका छन् । इन्द्रेणीले अहिलेसम्म कति कर राज्यलाई तिर्यो ? यसको पनि कसैलाई जानकारी छैन । उनले त दिनमै लाखौँ रुपैयाँ उठाउँछन् ।

देशविदेशबाट बटुलेको पैसाले कहाँ कति विकास भयो ? कति दीनदुःखीको जीवन फेरियो ? कहाँ अस्पताल बनाइयो ? पुल कतिवटा बन्यो ? स्कुल कहाँ–कहाँ बन्यो ? यसको विवरण अब कँडेलले सार्वजनिक गर्नैपर्छ । जनताबाट असुलिरहने अनि कहाँ कति लगानी गरियो भनेर नदेखाउने ।
जनताको पैसा उठाएर खान मिल्छ ? गरिबको नाम बेचेर जनतालाई लुट्न पाइन्छ ? बजारमा पछिल्लो समय गाइगुइँ सुनिन थालेको छ – कँडेलसँग अकूत सम्पत्ति छ । कसैले सुइँको नपाओस् भनेर उनले त्यो सम्पत्ति आफन्तहरूको नाममा राखेका छन् । गरिबी हटाउने राज्यको दायित्व हो ।

बिरामीको उपचार गर्नु पनि राज्यको कर्तव्य हो । जनतालाई शिक्षा दिनु पनि राज्यकै जिम्मा हो । तर, देशलाई अन्तर्राष्ट्रिय स्तरमै बदनाम गराएर कँडेलजस्ताले आफ्नो कमाउधन्दा चलाइरहेका छन् । शिक्षा दिन सकेन, स्वास्थ्य दिन सकेन, गरिबी हटाउन सकेन भनी राज्यमाथि लाञ्छना लगाएर जनता लुट्ने खेती चलिरहेको छ ।

राज्यमाथि हिलो छ्यापेर देश–विदेशबाट पैसा उठाउने क्रम चलिरहँदा गृह मन्त्रालय कहाँ छ ? किन टुलुटुलु रमिता हेरेर बसेको ? राज्यलाई बदनाम गर्ने अधिकार कसैलाई पनि छैन । न गरिबीको बहानामा पैसा बटुल्ने । त्यस्तामाथि कारबाही गर्नुपर्नेमा सरकार हात बाँधेर बसेको छ ।

त्यसैले, ती व्यक्तिको झनै मनोबल बढेको देखिन्छ । रवि लामिछानेले के–के न गर्छु भनेर पार्टी खोले । अहिले सहकारी ठगीको आरोपमा कारागारमा छन् । उनको असली अनुहार त देखिसकेको छ । जबसम्म जनताको आँखामा पट्टी बाँधिरहन सकिन्छ, तबसम्म मात्र हो ‘ठग‘ हरु बच्ने ।

सक्कली अनुहार बाहिर आएकै दिन रविको जस्तो हविगत हुन्छ । जनतालाई लोकदोहोरी गीतमा नचाएर, एकछिनको रमाइलोमा भुलाएर जनताको सम्पत्ति थुत्ने काम इन्द्रेणीले गरिरहेको छ । अर्कोतिर, इन्द्रेणीमा कलाकारले गाएका कतिपय गीत छाडा छन् । ती गीतबाट समाजले के सिक्छ ?

जनताले के सिक्छन् ? कोही कार्यक्रम खोलेर हाकाहाकी लुट्छन् । कोही अभियन्ता बनेर सर्वसाधारणबाट पैसा बटुल्छन् । कोही आफूलाई माता र धामी–झाँक्री भनेर सर्वसाधारण लुटिरहेका छन् । तर, तिनका अगाडि सरकार निरीह छ । मुलुकको कानुन लाचार बनेको छ । सरकारले अब नागरिकको पनि सम्पत्ति छानबिन गर्नुपर्छ ।

नेता र कर्मचारीले भ्रष्टाचार गरेर कमाएका छन् भने जनताले अरुलाई लुटेर, राजस्व छलेर सम्पत्ति जोडेका छन् । जसले सम्पत्तिको स्रोत खोल्दैन, त्यसलाई लगेर जेल कोचौँ । तिनको सम्पत्ति राष्ट्रियकरण गरेर वैदेशिक ऋण तिर्नुपर्छ । पछिल्लो समय समाजसेवाको नाममा व्यापक ठगी मौलाएको छ ।

गरिबहरूको नाम बेचेर बाठाबाठाले पैसा बटुल्छन् अनि आफू मोजमस्ती गर्छन् । कँडेललाई पैसा दिनेहरूले आफ्नो पैसा कहाँ लगानी भयो ? खोतल्नुपर्छ । गाँस काटीकाटी सहयोग गरेको पैसा कतै दुरुपयोग त भएको छैन ? यसमा जनता सचेत हुनुपर्छ । गरिबहरूको भलाइ सोचेर दिएको पैसा साँच्चै नै उनीहरूको हातमा पुगेको छ कि छैन ? यो कुरा सहयोगीहरूले थाहा पाउनुपर्छ ।

सञ्चारमाध्यमहरूले पनि समाजसेवाको नाममा मौलाएको लुटको खेतीको भण्डाफोर गर्नुपर्छ । जनतालाई सचेत बनाउनुपर्छ । कँडेलले पैसा उठाएका छन् तर कसैलाई बिल दिएका छैनन् । अनि राज्य कहाँ छ ? कुनै ऐनकानुनको पालना नगरिकन पैसा असुल्ने कार्य चलिरहेको छ ।

च्याऊझैँ उम्रिएका समाजसेवीलाई सरकारले थितिमा नल्याउने हो भने जनता लुटिरहन्छन् । राज्यले दिएको पैसाको दुरुपयोग भइरहन्छ । बाठाटाठाहरूले कमाइरहन्छन् । राज्यमाथि लाञ्छना लागिरहन्छ । त्यसैले राज्य यसमा गम्भीर हुन आवश्यक छ । समाजसेवाको नाममा कतिले पैसा उठाए ? कहाँ खर्च गरे ? राज्यले यो खोतल्नैपर्छ ।

गरिबको नाम बेच्ने देशमा एकदमै धेरै भए । यो सबैभन्दा सजिलो पेशा भयो । काम पनि गर्न नपर्ने, गरिबको फोटो बेच्ने अनि पैसा बटुल्ने । समाजसेवी भनिनेहरूको व्यापार व्यवसाय, जागिर केही छैन । उनीहरूले कसरी आफ्नो घर धान्छन् ? भन्दा जनताबाट उठाएको पैसाले ।

जनताबाट पैसा उठाउँछन्, केही सहयोग गरेकोजस्तो गर्छन्, अरु सबै खल्तीमा हाल्छन् । गरिबहरूलाई त थोरै पनि धेरै हुन्छ । यसको फाइदा कथित समाजसेवीहरूले उठाइरहेका छन् । नेपालीको बानी कस्तो छ भने, आफ्नो घरअगाडि माग्न आएकालाई एक सुको पनि दिँदैनौँ ।

मठमन्दिर, आकाशेपुल, सडक छेउछाउ माग्ने मान्छे देखिएमा हत्त न पत्त दौडिन्छौं । कुनै गरिबहरू अलिकति दिनुपर्यो भने नेपालीको दाँतबाट पसिना छुट्छ । तर, कथित समाजसेवीको कार्यक्रममा पुगेर लाखौँ–लाख दान दिन्छौं । हुन त यो मौलाउनुमा दोषी सरकार नै हो ।
सरकारले आफ्नो दायित्व पूरा गरेको र ठगलाई बेलैमा कारबाही गरेको भए धेरै नेपाली जनता ठगिनबाट जोगिन्थे ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार