अधिवेशनमा केही साथीहरू रुष्ट भए पनि सबैलाई मिलाएर लैजाने दायित्व मेरो काँधमा आएको छ। नेपाली कांग्रेस जुम्लामा भातृ संगठनहरूको इतिहासमा चुनाव भएको थिएन।
नेपाल तरुण दल जुम्लाको पाँचौं जिल्ला अधिवेशन सम्पन्न भएको १२ औं दिनमा संगठनभित्र उत्पन्न विवाद अन्ततः साम्य भएको छ। केन्द्रले हेम बुढथापाको अध्यक्षतामा गठित कार्यसमितिलाई अनुमोदन गर्दै विवादको औपचारिक टुंगो लगाएको हो।
नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले बुधबार हेम बुढथापाको अध्यक्षतामा निर्वाचित समितिलाई अनुमोदन गरिएको पत्र पठाएका छन्।
पत्रमा उल्लेख छ, “नेपाल तरुण दल जुम्लाको पाँचौं जिल्ला अधिवेशनबाट तपशिल बमोजिम जिल्ला कार्यसमिति, केन्द्रीय पार्षद र महाधिवेशन प्रतिनिधिहरू सर्वसम्मत निर्वाचित हुनुभएको हुँदा सोको अनुमोदन गरिएको छ। तपाईंको अध्यक्षतामा निर्वाचित जिल्ला कार्यसमिति, केन्द्रीय पार्षदहरू र महाधिवेशन प्रतिनिधिहरूलाई बधाई एवं सफल कार्यकालको शुभकामना।”
यसअघि अधिवेशनले बुढथापालाई सर्वसम्मत अध्यक्ष घोषणा गरेपछि नेपाली कांग्रेसभित्रका दुई धार, शेखर कोइराला समूह र शेरबहादुर देउवा समूहबीच विवाद चुलिएको थियो। विवादले गहिरो रुप लिँदै जाँदा शेखर समूहले संजिव रावलको नेतृत्वमा समानान्तर जिल्ला समिति गठनको घोषणा समेत गरेको थियो।
तर अब केन्द्रबाट बुढथापाको नेतृत्वमा रहेको समितिलाई औपचारिक मान्यता दिइएपछि उक्त विवादमा टुंगो लागेको छ। अनुमोदनपछि प्रतिक्रिया दिँदै अध्यक्ष बुढथापाले असन्तुष्ट सबै पक्षलाई समेटेर लैजाने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, “अधिवेशनमा केही साथीहरू रुष्ट भए पनि सबैलाई मिलाएर लैजाने दायित्व मेरो काँधमा आएको छ। नेपाली कांग्रेस जुम्लामा भातृ संगठनहरूको इतिहासमा चुनाव भएको थिएन। यो परम्पराको निरन्तरता दिन पनि सहमति आवश्यक थियो। निर्वाचन समिति र केन्द्र दुवैको प्रयासले अबको नेतृत्वले सार्थकता पाउने विश्वास लिएको छु।”
तरुण दलको नयाँ कार्यसमिति अब नेपाली कांग्रेसको सांगठनिक पुनःजागरणमा केन्द्रित हुने बुढथापाको भनाई छ। उनले थपे, “संयमित र समावेशी दृष्टिकोण र विवाद समाधानमा देखिएको सक्रियता संगठनभित्र एकताको सन्देशका रूपमा हेरेको छु।”