नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी), जिल्ला समन्वय समिति जुम्लाले बहुविवाहलाई निश्चित परिस्थितिमा वैधानिकता दिन खोजिएको सरकारी प्रयासविरुद्ध जिल्ला प्रशासन कार्यालय जुम्लामा ज्ञापनपत्र बुझाएको छ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पराशर ढुङ्गानाको भनाइलाई उद्धृत गर्दै सार्वजनिक सञ्चारमाध्यमहरूमा बहुविवाहसम्बन्धी नयाँ मस्यौदा ल्याउन लागिएको समाचारप्रति संगठनले गम्भीर आपत्ति जनाएको हो।
संगठनकी इन्चार्ज लक्ष्मी कन्या बुढाका अनुसार, “उक्त कानुनी प्रस्तावले महिलामाथिको हिंसा र लैंगिक असमानतालाई संस्थागत गर्न खोजेको छ, जुन नेपालको संविधानको मर्मविपरीत छ।”
अध्यक्ष हिमाली धितालले कुनै पनि हालतमा यस्तो प्रावधान अस्वीकार्य हुने बताउँदै भनिन्, “यो महिलाको आत्मसम्मान र गरिमामाथिको ठाडो प्रहार हो।”
संगठनले तत्काल मस्यौदा खारेज गर्न माग गर्दै चेतावनी दिएको छ, “मस्यौदा फिर्ता नलिएसम्म निरन्तर संघर्ष जारी रहनेछ।”
ज्ञापनपत्रमार्फत संगठनले बहुविवाहको विरुद्ध विगतदेखि संघर्ष गर्दै आएको स्मरण गराउँदै महिलाको पक्षमा न्यायपूर्ण कानुनको माग गरेको छ।
















