बुधबार, ३२ असार, २०८२

बैंकहरूको हितमा गभर्नर पौडेलले ल्याए मौद्रिक नीति, जनता डुबाउने रणनीति !

दलाल व्यक्ति राष्ट्र बैंकको गभर्नर बनेका छन् । पौडेलले केही दिनअघि मौद्रिक नीति ल्याए । जसमार्फत घरजग्गा, गाडी र सेयरलाई धितो मूल्याङ्कनका आधारमा ८० प्रतिशत कर्जा दिने व्यवस्था गरिदिएका छन् । यसले सोझासाझा जनता सिधैँ ठगिने र डुब्ने देखिन्छ ।

विभिन्न राजनीतिक दलमा लागेका कार्यकर्ता भन्छन्, ‘चुनाव लड्न टिकट पाउन पार्टीलाई करोडौं दिनुपर्छ । चुनावमा पनि करोडौं खर्च हुन्छ ।’ जसले पैसा खर्चिन सक्दैन, उसले न टिकट पाउँछ, न चुनाव जित्छ । पैसा नभएपछि पार्टी र जनताका निम्ति जतिसुकै गरे पनि ऊ जित्न सक्दैन । २०७९ मंसिर ४ गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन भयो ।

पार्टीलाई करोडौं पैसा दिएर नेपाली कांग्रेसको तर्फबाट चितवन क्षेत्र नम्बर १ मा हाल नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल उम्मेदवार बने । चुनावमा पनि करोडौं खर्चिए । तर, रास्वपाका हरि ढकालले बाजी मारे । उनी जिते, पौडेल हारे । चुनाव हारेपछि यता न उताका भएका पौडेल अहिले फेरि पार्टीलाई करोडौं बुझाएरै गभर्नर बनेका हुन् ।

केही महिनाअघि उनले आफ्नो सम्पत्ति सार्वजनिक गरे । जसमा उनको सम्पत्ति १६ करोड बराबर रहेको देखिएको छ । त्यस्तै, सुन ४५ तोला र चाँदी पनि उत्तिकै रहेको छ । गभर्नर पौडेललाई चिन्नेहरू भन्छन्, ‘१६ करोड मात्र होइन, उनको सम्पत्ति अर्बौंको छ । आफन्तका नाममा समेत उनले सम्पत्ति राखेका छन् ।’ १६ करोड सम्पत्तिको उनले स्रोत खुलाएका छैनन् ।

त्यत्रो सम्पत्ति राखेकै बापत राज्यलाई कर तिरेका छैनन् । न त सुनचाँदीकै स्रोत खुलाएका छन् । छिटो र सरल तरिकाले सम्पत्ति कमाउने ती तरिकाहरू छन्— घरजग्गा, गाडी, सेयर र राजस्व छलि । एक हजार आना नपर्ने जग्गा लाखौंदेखि करोडौंमा बेचेर, एक सयको सेयर ३५ सयमा बेचेर, छिमेकी मुलुकबाट एक लाखमा गाडी ल्याएर पाँच लाखदेखि करोडौंमा बेच्ने र राज्यलाई राजस्व नतिर्नेले मात्र अंकुत सम्पत्ति जोड्न सक्छन् ।

सर्वसाधारण जनतालाई फसाएर नडुबाएसम्म पैसा कमाउन सकिँदैन । यस्ता दलाल व्यक्ति राष्ट्र बैंकको गभर्नर बनेका छन् । पौडेलले केही दिनअघि मौद्रिक नीति ल्याए । जसमार्फत घरजग्गा, गाडी र सेयरलाई धितो मूल्याङ्कनका आधारमा ८० प्रतिशत कर्जा दिने व्यवस्था गरिदिएका छन् । यसले सोझासाझा जनता सिधैँ ठगिने र डुब्ने देखिन्छ ।

कर्जा नगएपछि राष्ट्र बैंकमा पैसा थुप्रिएको थुप्रिएकै छ । अनि गभर्नर पौडेलले जनता फसाउने पोलिसी ल्याएका हुन् । मौद्रिक नीतिअनुसार अब तीन करोडको घरजग्गा, गाडी वा सेयर किनेमा व्यक्तिले ६० लाख रुपैयाँमात्र लगानी गरे पुग्छ । बाँकी बैंकले ऋण दिन्छ । अब यसमा जनता कसरी डुब्छन् ? भन्नुपर्दा बैंकले १६ प्रतिशत ब्याज भनेर ८० प्रतिशत असुल्छ । एक प्रतिशत सेवाशुल्क भनेर तीन प्रतिशत असुल्छ ।

चर्को ब्याजदरका कारण ऋणीले कर्जा तिर्न सक्दैन । अनि उसको धितो बैंकले लिलाम गर्छ । बैंकले धितो लिलाम गर्दा उसको धितो मात्र होइन, त्यसमा लगानी गरिएको ६० लाख रुपैयाँ र तिरेको लाखौं साँवाब्याज समेत डुब्छ । सबैतिर डुबेपछि ऋणीले अन्ततः आत्महत्याको बाटो रोज्छ । यसरी गभर्नर पौडेलले सोझा जनतालाई सिधैँ डुबाउने मौद्रिक नीति ल्याएका छन् ।

हुन त सरकारमा बसेका कोही पनि गतिलो भएनन् । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले त्रिवि शिक्षण अस्पतालको विस्तारित सेवा भवन १६ करोड खर्चिएर बनाएकोमा हालै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । उनले गुरुङको खुल्लै प्रशंसा गरे । तर, उनी ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर भइसकेका छन् ।

उनीलाई दुई वर्ष कैद र ८० लाख रुपैयाँ जरिवाना तोकिएको छ । यतिमात्र होइन, सर्वोच्च अदालतले नै गुरुङले साढे चार अर्ब राजस्व छलेको पुष्टि गरेको छ । उनीसँग सो रकम असुल्न सरकारलाई निर्देशन समेत दिएको छ । विडम्बना, सरकार चाहिँ राजस्व असुल्नुको साटो गुरुङसँग भवन लिन्छ । प्रधानमन्त्री ओलीलाई जनता सोध्छन्, ‘साढे चार अर्ब ठूलो कि १६ करोडको भवन ?’

यहाँ त जसले कोट लगाउँछ, मिठा बोल्छ, सहयोगको नाममा आफ्नो कर्तुत लुकाउँछ, उसैलाई सरकारले सम्मान गर्छ । जनता पनि केही बुझ्दै नबुझी त्यस्ता व्यक्तिको कार्यक्रममा गएर ताली पिट्छन् । भ्रष्टाचारसम्बन्धी छानबिन र कारबाहीका निम्ति सम्पत्ति शुद्धिकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग खडा गरिएको छ । तर, यहाँ जतिसुकै उजुरी हाले पनि ठूलामाथि न छानबिन हुन्छ, न कारबाही ।

उजुरी लगेर टोकरी वा दराजमा थन्काइन्छ । कुनै पनि राजनीतिक दल र तिनका नेता देश र जनताप्रति जवाफदेही र जिम्मेवार भएनन् । उनीहरू त दलाल, माफिया, बिचौलियाकै नाइके भए । ओली, देउवा, प्रचण्ड, नेपाललगायत सबै नेता जनता र देशका नेता होइनन्, बिचौलिया, दलालका नेता हुन् । यस्ता दलालहरूले देश बनाउँछन् भनेर जनताले सोच्नु नै मूर्खता हो ।

यता, २० लाखदेखि करोडौं खर्चिएर जनता अमेरिका, अष्ट्रेलिया, क्यानडालगायत विकसित मुलुक गइरहेका छन् । रास्वपा सभापति (हाल जेलमा रहेका) रवि लामिछाने ०५६ सालमै अमेरिका पुगेका थिए । ०६६ सालमा नेपाली नागरिकता र राहदानी त्यागेर उनले अमेरिकी नागरिकता र राहदानी लिए । अमेरिकामा पनि उनीमाथि विभिन्न चार वटा मुद्दा रहेको बताइन्छ ।

त्यहाँ मुद्दामाथि मुद्दा परेपछि उनी ०७१ सालमा भिजिट भिसामा नेपाल फर्किएका हुन् । अनि विदेशी नागरिकता र राहदानी बोकेर नेताहरूले केही गरेनन् भन्दै नेपाली उचाल्न थाले । लामिछाने न्यूज २४ मा ‘सिधा कुरा जनतासँग’ नामक कार्यक्रम चलाउँथे । त्यहाँ उफ्रिउफ्रि कराउँथे । आफूलाई मात्र नेपाल र नेपालीको चासो भएको, नेताहरूले केही नगरेको देखाउँथे ।

तर, लामिछानेले आफूसँगै काम गर्ने पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य बनाए । नुवाकोट घर भई काठमाडौं बस्दै आएका उनी ०७४ सालमा चितवन पुगेर प्राण त्यागे । मर्नुअघि उनले भिडियोसमेत रेकर्ड गरे । जसमा लामिछानेको सम्पूर्ण कर्तुतबारे बताइएको थियो । आफूलाई लामिछानेले दबाब दिएर मर्न बाध्य बनाएको बताएका उनले त्यो भिडियोमा लामिछानेको दोहोरो नागरिकता र राहदानीदेखि सबै कर्तुतको खुलासा गरेका थिए ।

भनिन्छ, मर्ने बेला कसैले झुट बोल्दैन । यद्यपि, पुडासैनीले आत्महत्या गर्नुअघि केही समयअघि मात्र बनाएको भिडियोमाथि कसैले विश्वास गरेन । न राज्यले, न जनताले । चितवनबासी त रविकै पक्षमा सडकमा उत्रिए । पुडासैनी नेपाली नागरिक थिए । राज्यको चौथो अंग थिए । संविधानअनुसार उनको पनि बाँच्न पाउने अधिकार थियो । तर, रविले उनलाई बाँच्न दिएनन् । उनले बाँच्न त पाएनन् नै, सँगै न्यायसमेत पाएनन् ।

त्यतिबेला पुडासैनीको भिडियोलाई न्यायपालिकाले नै झुटो भन्यो । तर, सर्वोच्च अदालतले नै लामिछानेको दोहोरो नागरिकता भएको ठहर गर्दै ०७९ सालमा तत्कालीन गृहमन्त्रीसहित उपप्रधान, संसद्, पार्टी सभापति पदसम्म खारेज गरिदियो । अनि पुडासैनीले सत्य बोलेका रहेछन् कि झुट ? अहिले लामिछाने सहकारी ठगीसहित विभिन्न कसुरमा जेलमा छन् ।

उनीविरुद्ध पाँच वटा जिल्लामा मुद्दा छ । तर, उनको पार्टी रास्वपा चाहिँ राजनीतिक प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर अभियान चलाइरहेको छ । जनता पनि रविमाथि प्रतिशोध साँधियो भन्दै हस्ताक्षर गरिरहेका छन् ।

यत्रो हुँदासमेत जनतामा अझै चेतना आएको छैन । जनता झोले भए । जनतासँग आफ्नो सोचाइ नै भएन । पार्टीले जेजे भन्यो, त्यही गर्छन् जनता । अनि जनता नै ठीक नभएपछि कहाँबाट देश विकास हुन्छ ? जनतामा चेतना नआएसम्म देशमा केही पनि हुने छैन । राजनीतिक दलका नेताहरूले देश र जनतालाई लुटिरहने छन् ।

– रुषा थापा, भक्तपुर

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार