सही प्रतिनिधि भनेको केवल लोकप्रिय व्यक्ति होइन। ऊ जिम्मेवार, इमानदार, सेवाभावी र नेतृत्व गर्न सक्ने हुनुपर्छ।
नेपालको संविधान र प्रतिनिधि सभा नियमावली अनुसार, हाम्रो भोटबाट निर्वाचित प्रतिनिधिले देशका लागि आवश्यक कानुन निर्माण गर्छन्।
विशेष परिस्थिति बाहेक पाँच वर्षसम्म उनीहरू हाम्रो आवाज बन्छन्। त्यसैले भोट दिनु भनेको केवल व्यक्तिलाई जिताउनु मात्र होइन, आफ्नो भविष्यको दिशा तय गर्नु पनि हो।
आवाज ठूलो हुनु मात्र पर्याप्त हुँदैन। आवाज सही दिशामा जानुपर्छ। कसैले धेरै बोलेर पनि गलत बाटो देखाए भने त्यसले देशको विकासमा सकारात्मक योगदान दिन सक्दैन।
जनप्रतिनिधिले आफ्नो क्षेत्रका समस्या संसदमा उठाउनु राम्रो कुरा हो, तर त्यसभन्दा महत्वपूर्ण कुरा ती समस्याको समाधान गर्नु हो।
समस्या समाधान भएर ऐन, नियम, नीति र बजेटमा समावेश हुनुपर्छ। तब मात्र जनताको जीवनमा वास्तविक परिवर्तन आउँछ।
समयअनुसार कानुन बनाउन जनप्रतिनिधिले आफ्नो क्षेत्र राम्रोसँग बुझ्नुपर्छ। क्षेत्रका अवसर, चुनौती, बलिया पक्ष र कमजोर पक्षको अध्ययन गर्नु आवश्यक हुन्छ।
अनुभव, ज्ञान र सोच भएका व्यक्तिले मात्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउन सक्छन्। दूरदर्शी र विकासमुखी प्रतिनिधिले देशको प्रणाली बुझेर त्यसअनुसार नेतृत्व गर्छन् र परिणाम दिन सफल हुन्छन्।
हामी साधारण मानिसले ठूला भाषण बुझ्नै पर्दैन। सरल तरिकाले पनि उम्मेदवारको मूल्यांकन गर्न सकिन्छ। उनले कति बोले भन्दा पनि कति काम गरे भन्ने हेर्नुपर्छ।
आफ्नो भनाइ र काममा इमानदार छ कि छैन, व्यक्तिगत जीवन कस्तो छ, आर्थिक पारदर्शिता छ कि छैन, यी सबै महत्वपूर्ण कुरा हुन्।
यदि उम्मेदवार नयाँ अनुहार हो भने पनि चिन्ता लिनु पर्दैन। विद्यालयका शिक्षक, कर्मचारी, अभिभावक वा चिनजानका व्यक्तिबाट जानकारी लिन सकिन्छ।
उनी पढाइमा कस्तो थियो, कठिन अवस्थामा कस्तो निर्णय लिन्छ, धनी–गरिब सबैसँग समान व्यवहार गर्छ कि गर्दैन, टोलीमा मिलेर काम गर्न सक्छ कि सक्दैन। यी सामान्य कुराबाट पनि व्यक्तिको चरित्र थाहा हुन्छ।
सही प्रतिनिधि भनेको केवल लोकप्रिय व्यक्ति होइन। ऊ जिम्मेवार, इमानदार, सेवाभावी र नेतृत्व गर्न सक्ने हुनुपर्छ।
बोल्ने मात्र होइन, काम गर्ने व्यक्ति चाहिन्छ। आफ्नो फाइदा होइन, जनताको हित सोच्ने व्यक्ति नै असल जनप्रतिनिधि हो।
भोट हाम्रो अधिकार मात्र होइन, जिम्मेवारी पनि हो। गलत व्यक्तिलाई भोट दिएमा त्यसको असर हामीले नै भोग्नुपर्छ।
त्यसैले भावनामा बगेर होइन, सोचेर, बुझेर र मूल्यांकन गरेर भोट दिनुपर्छ। सही व्यक्ति छान्न सकेमा मात्र हाम्रो क्षेत्र, समाज र देशको विकास सम्भव हुन्छ।
अन्त्यमा, भोट दिनु भनेको पाँच वर्षको लागि आफ्नो आवाज सुम्पिनु हो। त्यसैले यो निर्णय गम्भीरताका साथ लिनुपर्छ। इमानदार, सक्षम र सेवाभावी प्रतिनिधि छान्न सकेमा हाम्रो भोलि उज्यालो बन्नेछ।
(जुम्ला तातोपानीका लेखक महेन्द्र राज खत्री आर्किटेक्ट इन्जिनियर तथा शहरी योजनाकार हुनुहुन्छ।)















