मंगलवार, १३ माघ, २०८२

‘कर्मचारी भएपनि जुम्लामा एमाले स्थापना गर्ने मध्येको एक हुँ, आवश्यक परे त्याग गर्न तयार छु’:जीवन भण्डारी

चाहनाभन्दा माथि विचार हुन्छ, आकांक्षा भन्दा माथि आस्था हुन्छ र व्यक्तिभन्दा माथि पार्टी र संगठन हुन्छ भन्ने चेत मसँग सधैं रहयाे र छ। यो विचारसँग हुर्किएको, संघर्षसँग पल्लवित भएको कार्यकर्ता हुँ। मलाई पार्टीको विधि, विधान र छनोट प्रक्रियाका विषयमा पुर्ण विज्ञता छ त्यसैले म याे निर्णयकाे उच्च सम्मान छ।

नेकपा एमाले जुम्लाको राजनीतिक वृत्तमा पछिल्ला दिनहरू चर्चा र बहसले भरिएका छन्। फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमाले जुम्लाले पार्टी अध्यक्ष शान्तिलाल महतलाई एकल उम्मेदवार सिफारिस गरेपछि यही सन्दर्भमा जीवन भण्डारीको लामो स्टाटस सार्वजनिक भयो।

उक्त स्टाटस समर्थनको अभिव्यक्ति मात्र नभई एक पुस्ताको संघर्ष, निष्ठा र राजनीतिक चेतनाको दस्तावेज हो। भण्डारीको राजनीतिक जीवन साधारण कर्मचारीको कथामा मात्रै सिमित छैन।

उनी २०४७ सालमै नेकपा मालेका सदस्य बनेका हुन्। जुम्लामा एमाले स्थापना र विस्तार गर्ने प्रारम्भिक पुस्तामा उनी अग्रपंक्तिमा थिए।

‘पार्टी कमजोर थियो। कार्यकर्ता थोरै थिए। सडक आन्दोलनमा आठ जना कार्यकर्ता र सामना गर्न ४०–५० प्रहरी हुन्थे। यस्तो कठिन समयमा पार्टी सम्हाल्नेहरू नै आजको एमालेको जग हुन्,’ उनले भने।

उनले स्टाटस मार्फत सामाजिक सञ्जालमा चलेको सम्भावित उम्मेदवारी चर्चाप्रति स्पष्ट अस्वीकार गरेका छन्। तर उनले उम्मेदवारीको चाहना भएको घुमाउरो तरिकाले स्वीकार गरेका छन्।

उनले भनेका छन्, ‘तयारी पनि गरेको थिएँ। गाउँ गाउँमा सर्वेक्षण पनि भयो। मित्रमार्फत रिपोर्ट बुझेँ। तर अन्तिम निर्णय पार्टीको हुनेमा म स्पष्ट छ, त्यसकारण शान्तिलाल महतलाई मेरो समर्थन छ।’

उनले आफ्ना लागि व्यक्ति भन्दा पार्टी माथि रहेको भन्दै आकांक्षा भन्दा विचार माथि रहेको बताए। ‘यही कारण अध्यक्ष शान्तिलाल महतले उम्मेदवारी इच्छा व्यक्त गरेपछि मैले प्रतिस्पर्धा गर्ने सोच त्यागेँ,’ उनले भने, ‘जिल्ला कमिटीको सर्वसम्मत निर्णय पार्टीको सार्वभौम निर्णय हो। त्यसप्रति पूर्ण सम्मान छ।’

भण्डारीको राजनीतिक यात्रा विद्यार्थी आन्दोलनबाट सुरु भएको हो। ०४९ सालमा उनी अनेरास्ववियु जुम्लाको अध्यक्ष बने। टनकपुर सन्धि, मदन भण्डारी हत्या विरोधी आन्दोलनमा उनको नेतृत्व थियो। ०५२ सालमा विराटनगरमा भएको अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनमा उनी सहभागी भए। त्यही अधिवेशनले योगेश भट्टराईलाई अध्यक्ष बनायो।

त्यसपछि पनि संघर्ष निरन्तर थियोे। जुम्ला बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव जिते। एमाले कमजोर हुँदाहुँदै पनि संगठन जोगाए। तर उनका धेरै सहकर्मी टिक्न सकेनन्। आज ती सबै भिन्न पार्टीमा छन्। उनी भने एमालेमै छन्।

पारिवारिक अवस्थाका कारण २०५४ सालमा उनले लोकसेवा दिए। निजामती सेवामा प्रवेश गरे। डिठ्ठाबाट सुरु भएको सरकारी जागिरे यात्राबाट उनी उपसचिवसम्म पुगेका छन्। तर जागिरले उनको पार्टी निष्ठा कमजोर बनाएको छैन। अवसरले होइन, विश्वासले पार्टीसँग जोडिएको उनको दाबी छ।

उनले शिक्षकको भूमिका पनि निभाए। ०५२ देखि ०६३ सम्म उनले जुम्लाका हजारौं विद्यार्थीलाई गणित पढाए। गाउँ गाउँमा उनका विद्यार्थी छन्। सरकारी सेवामा रहेर पनि सामाजिक सेवा उनले छोडेका छैनन। नेपालकै पहिलो मालिकावोता शैक्षिक सम्मेलन र ४४ बुँदे शैक्षिक घोषणापत्र उनको जीवनको कोसेढुंगा हो।

उनको स्टाटसमा आत्मविश्वास छ। मित्र र विरोधी दुवैको यथार्थ स्वीकार छ। पार्टीभित्रै पनि आफूलाई हराउन चाहनेहरू रहेको उनको स्वीकारोक्ति छ। तर त्यसले आफूलाई उर्जा दिएको उनको भनाई छ। उनले थपे, ‘संगठनले उठ भनेको भए चुनाव लड्न तयार थिएँ। परिस्थितिले नउठ भन्यो, उकेकोलाई सहयोग गर्छु।’

उनले सामाजिक संजाल मार्फत आगामी चनावका लागि प्रस्तावित उम्मेदवार शान्तिलाल महतप्रति भावनात्मक समर्थन व्यक्त गरेका छन्। उनको योगदानको सम्मान गरेका छन्। लडाइँ व्यक्ति वा पदको नभई विचार र भविष्यको भएको सन्देश दिएका छन्।

भण्डारीले आफ्नो स्टाटसलाई राजनीतिक घोषणा नभई एक पुरानो कार्यकर्ताको आत्मस्वीकृति बताएका छन्। ‘पार्टीभित्रको अनुशासन, संघर्षको इतिहास र आजको यथार्थलाई जोड्ने सेतु हो,’ उनले भने।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार