सोमबार, २ असार, २०८२

जुम्ला-रारा अल्ट्रा म्याराथनको छैटौं संस्करण: खेल क्षेत्रको एक भव्य मेला

कर्णाली स्पोर्ट्स क्लबद्वारा आयोजित यो प्रतियोगिताले जुम्ला र रारा तालको पर्यटन प्रवर्द्धनसँगै कर्णालीलाई विश्वमाझ चिनाउने लक्ष्य राखेको छ।

जुम्ला सदरमुकामको मनोरम दृश्य र रारा तालको काखमा जुम्ला-रारा अल्ट्रा म्याराथनको छैटौं संस्करण आज भव्य मेला सुरु भएको छ। ५१ किलोमिटर, १० किलोमिटर र ५ किलोमिटरका तीन विधामा आयोजित यो म्याराथनमा देश-विदेशका ५९१ धावकले सहभागिता जनाएका छन्।

कर्णाली स्पोर्ट्स क्लबद्वारा आयोजित यो प्रतियोगिताले जुम्ला र रारा तालको पर्यटन प्रवर्द्धनसँगै कर्णालीलाई विश्वमाझ चिनाउने लक्ष्य राखेको छ।

क्लबका अध्यक्ष सरोज शाहीका अनुसार १० किलोमिटर दूरीमा सबैभन्दा बढी ३५५ धावक सहभागी छन् भने ५१ किलोमिटरको सबैभन्दा लामो दूरीमा ७४ र ५ किलोमिटरमा १५५ धावकले प्रतिस्पर्धा गरिरहेका छन्।

५१ किलोमिटरको दौड आज बिहानै सुरु भएको छ भने १० र ५ किलोमिटरको प्रतियोगिता सम्पन्न भई विजेताहरूलाई पुरस्कार वितरण गरिसकिएको छ।

५ किलोमिटर दौडको पुरुषतर्फ पदमराज धिताल प्रथम, नवीन चौधरी द्वितीय र सरोज कटुवाल तृतीय भएका छन्। महिलातर्फ विपना थारू प्रथम, सुनिता हमाल द्वितीय र सुनिता शाही तृतीय स्थान हासिल गर्न सफल भएकी छन्।

यस्तै, १० किलोमिटर दौडको पुरुषतर्फ हरी बोहोरा प्रथम, दीपेन्द्र बुढा द्वितीय र महेन्द्र कठायत तृतीय भए।

त्यस्तै महिलातर्फ संगीता बुढा प्रथम, सुरेशा बुढा द्वितीय र हिमाली भण्डारी तृतीय स्थानमा रहे। प्रथम, द्वितीय र तृतीय हुने सबै धावकलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

कर्णाली स्पोर्ट्स क्लबका शाहीले म्याराथनले जुम्ला र कर्णालीलाई साहसिक खेल पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

“यो म्याराथनले कर्णालीको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई विश्वसामु चिनाउन कोसेढुङ्गा सावित हुनेछ,” उनले भने।

नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल र ऐतिहासिक जुम्लाको पहिचानलाई यो प्रतियोगिताले थप उजागर गरेको छ।

५१ किलोमिटरको अल्ट्रा म्याराथनमा सहभागी धावकहरूले कर्णालीको कठिन भू-बनोट र मनमोहक दृश्यहरूको बीचमा आफ्नो साहस र सहनशीलताको प्रदर्शन गरिरहेका छन्।

यो प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा अवसर प्रदान गर्नुका साथै विदेशी धावकहरूलाई नेपालको अनुपम सौन्दर्य अनुभव गर्ने अवसर जुटाएको छ।

पोल्याण्ड, अमेरिका, फ्रान्स र भारतका अन्तर्राष्ट्रिय धावकहरूसहित पाँचथर, काठमाडौं, नुवाकोट, चितवन, बाँके, सप्तरीलगायत १० भन्दा बढी जिल्लाका खेलाडीहरू सहभागी भएका छन्।

५१ किलोमिटरको दौड प्रतियोगिताको नतिजा शनिबार साँझ सम्म हुनेछ भने आइतबार बसहान पुरस्कार घोषणा गरिनेछ।

म्याराथनको समापन समारोहमा विजेताहरूलाई पुरस्कार वितरण गरिने क्लबका सचिव मधुराज न्यौपानेले बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार