सोमबार, २८ पुष, २०८२

महान चाड दसैँका बारेमा केही कुरा

नवरात्रको आठौँ दिन महागौरीको पूरा तथा आराधना गर्ने गरिन्छ। यसदिनलाई महाअष्टमी पनि भनिन्छ । महागौरी आठवर्षको उमेरमै  कठोर तपस्यामा लिन हुँदा शरीर कालो भएको थियो र साक्षात् शिवले गंगा जलद्वारा स्नान गराएपछि यीनको शरीर गोरो भएका कारण महागौरी भनिएको हो। यस दिन देवीको बाहन सिंहलाई विधिवत पूजन गर्ने र हात हतियारहरुको पूजा गर्ने प्रचलन पनि रहेको छ। दसैँको टीकाको अधिल्लो दिन अर्थात् नवरात्रीको नवौं दिन भगवती दूर्गाको सिद्धिदात्री स्वरुपको पूजा गर्ने गरिन्छ। यसै दिन विहान हातहतियारहरू तथा सवारीका साधनहरूको पूजा गरिन्छ ।

सदियौँदेखि नेपालीहरुको महान चाडको रुपमा दसैँलाई लिइन्छ। दसैँ आउनु अघिदेखि नै विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कने र नेपालभित्र पनि कामविशेषले कर्मक्षेत्रमा विभिन्न भागमा रहेका कर्मचारी, ब्यवसायी र अध्ययनको सिलसिलामा विभिन्न शहरहरुमा छरिएर रहेका विद्यार्थीहरु दसैँ मान्नकै लागि आ-आफ्नो जन्मथलोमा फर्किनेहरुको लर्को लाग्नेगर्दछ। यातायातको अस्तब्यस्ताका कारण कसैकसैलाई यात्रा असहज लागे तापनि महत्वपूर्ण चाड मान्नका लागि गन्तव्यमा जानपाउनु नै ठूलो कुरा मानिन्छ। कहिलेकाहीँ असोज महिनाको छिटै नै दसैँ आउनु र मनसुन लम्बिने हुँदा लामो दूरीका यात्रामा कठिनाई आउनु स्वभाविकै हो। यसपाली पनि वर्षादले दुःख दिएको कुरा सुनियो, मुगलिनमा धेरै यात्रुहरु घन्टौँसम्म अलपत्र परेका खबर पनि आए। तर पनि दसैँमा घर जानपाउनुको महत्व बेग्लैं हुन्छ। दसैँ एउटा चाड मात्र नभएर आफन्त वा नातागोताहरु बीचमा भेटघाट हुनु पनि अर्को महत्वका साथ हेर्ने गरिन्छ। वर्षौँसम्म भेट नभएका आफन्तहरुसँग भेट हुँदा खुशी साटासाट गरिन्छ दसैँ-तिहारमा।

बर्खाको अन्तिम महिना भनेर चिनिने भदौ महिना सकिएर शरद ऋतुको आगमनले मानिसमा अर्कै आनन्द भरेको हुन्छ। आँगनको डिलमा वा करेसा बारीमा फुल्दै गरेका विभिन्न फूलहरुले गर्दा आँखालाई मात्र नभएर मनलाई पनि आनन्द दिएको महसुस हुन्छ। दसैँलाई लगातार दश दिनसम्म मनाउने पर्व भनेर बुझिन्छ। दसैँको सुरुवात आश्विन शुक्ल प्रतिपदादेखि हुन्छ। जसलाई नवरात्र वा नवरथा  पनि भनिन्छ।

घटस्थापनाका दिन घर–घरमा जमरा राखिन्छ र दुर्गा भगवानीको नौ रुपको पूजा आराधना गर्ने गरिन्छ । दूर्गाको पूजा गर्नाले शक्ति प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता रहेको छ। उज्यालो प्रवेश नहुने स्थानमा जमरा उमारिँदा जमराको रङ हरियो नभएर पहेँलो देखिनेगर्दछ। जुन जुमरा हेर्दा आकर्षक लाग्दछ। नारदको वचनबाट प्रेरित भएर श्रीरामले नवरात्रको विधिपूर्वक व्रत गरेको कुरा शास्त्रमा उल्लेख छ। व्रतको शक्ति संचयको प्रभावले रामचन्द्र भगवानले रावणमाथि विजय प्राप्त गरेका थिए।

यसरी भगवान रामचन्द्रले रावणमाथि विजय हासिल गरेको हुनाले दसैँको दिनलाई हिन्दू परम्परा अनुसार विजया दशमीको रुपमा मनाउन थालियो। दसैँको पहिलो दिन प्रतिपदाका दिन जमरा राखि सुरुहुने दसैँको पहिलो दिन घर र वरपरको सरसफाई गरेर दूर्गा भवानीको पहिलो रुप शैलपुत्रीको पुजा र आराधना गरिन्छ । शैलपुत्रीको पूजाले धैर्य, सहनशिलता ममता, करुण्यता पाईने र पृथ्वी तत्वको सन्तुलन शरीरमा रहने कुराको शास्त्रमा उल्लेख गरिएको पाइन्छ। यसदिनको पूजापश्चात् दसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा   गरिन्छ । उनले परापूर्वककालमा फल–फूल र पात खाएर घोर तपस्या गरेर शिव भगवानलाई पतिरुपमा वरण गरेकी थिइन् भन्ने भनाई रहेको छ। ब्रह्मचरिणी  शक्तिको पूजाले तेज, ब्रह्मज्ञान, सत्चरित्रको वरदान तथा जल तत्वको सन्तुलन शरीरमा हुने भएका कारण रक्त सम्बन्धी बिकार पैदा नहुने कुराको शास्त्रमा उल्लेख गरेको पाईन्छ।

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा नामले दूर्गा माताको पूजा गर्ने गरिन्छ। देवीको मस्तकमा चन्द्राकार घण्ट सुशोभित भएका कारण उनलाई चन्द्रघण्टा भनिएको हो। यीनलाई वीर रसको अपूर्व शक्ति मानिएको छ। चन्द्रघण्टा देवीको रुपको पूजाले मनुष्यले राक्षसी तथा भुतप्रेत शक्तिबाट उन्मुक्ति पाइन्छ भनिएको छ। नवरात्री अर्थात् नवरथाको चौथो दिन भगवतीलाई कूष्माण्डा नामले आरधना गर्ने गरिन्छ। भगवती दूर्गाको कुष्माण्डा शक्तिबाट नै ब्रह्माणको उत्पत्ति भएको मानिन्छ। दुर्गामाताको निवास सूर्य मण्डलमा रहेको मानिन्छ भने सेतो कुभिण्डोको जस्तो रुप भएका कारण यीनलाई कूष्माण्डा भनिएको हो। दसैँको पाँचौ दिन स्कन्दमाताको पूजा गर्ने गरिन्छ।

स्कन्दमाता देवताहरुका सेनापति कार्तिकेय कुमारकी माता भएका कारण यीनलाई स्कन्दमाता भनिएको हो। स्कन्दमाताको पूजा गर्नाले बालबच्चाहरुको संरक्षण हुने विश्वास गरिन्छ। यीनको पाँचौ दिन पूजा गर्नाले काम, क्रोध, लोभ मोह शान्त हुने मानिन्छ। नवरात्रको छैठौँ दिन दूर्गाको कात्यायनी रुपको पूजन गर्ने गरिन्छ। महिषासुरको उत्पातले आक्रान्त पृथ्वीको संरक्षणको लागि महर्षि कात्यायनको घरमा उत्पत्ति भएका कारण कात्यायनी भन्ने गरिन्छ।

भगवान कृष्णलाई पति पाऊँ भनी गोपीनीहरुले यीनै भगवतीको पूजा गरेका थिए भन्ने भनाई रहेको छ। कात्यायनीको पूजा गर्नाले कन्याहरुले आफूले चाहेको वर पाउने कुरा पनि उल्लेख छ। नवरात्रीको सातौं दिन कालरात्री देवीको पूजा आराधना गर्ने गरिन्छ। कालो स्वरुप भएका कारण यीनलाई कालरात्री भनिएको हो । शास्त्रमा कालरात्रीको स्वरुपको स्मरण मात्रले दुष्ट दैत्य, दानव, राक्षस, भूत–प्रेत सबै भय शान्त हुन्छ भन्ने उल्लेख गरिएको छ। कालरात्रीको पूजा आराधनाले मनुष्यको अज्ञान, अन्धाकार आदि नष्ट हुने मानिन्छ। यस दिनमा फूलपाती भित्र्याइने गरिन्छ। यस सप्तमीको दिनलाई फूलपातीको दिन भनेर पनि चिनिन्छ।

नवरात्रको आठौँ दिन महागौरीको पूरा तथा आराधना गर्ने गरिन्छ। यसदिनलाई महाअष्टमी पनि भनिन्छ । महागौरी आठवर्षको उमेरमै  कठोर तपस्यामा लिन हुँदा शरीर कालो भएको थियो र साक्षात् शिवले गंगा जलद्वारा स्नान गराएपछि यीनको शरीर गोरो भएका कारण महागौरी भनिएको हो। यस दिन देवीको बाहन सिंहलाई विधिवत पूजन गर्ने र हात हतियारहरुको पूजा गर्ने प्रचलन पनि रहेको छ। दसैँको टीकाको अधिल्लो दिन अर्थात् नवरात्रीको नवौं दिन भगवती दूर्गाको सिद्धिदात्री स्वरुपको पूजा गर्ने गरिन्छ। यसै दिन विहान हातहतियारहरू तथा सवारीका साधनहरूको पूजा     गरिन्छ । यस दिन अरू पूजाको साथसाथै विशेषगरि दुईवर्षदेखि दसवर्षसम्मका कन्याहरूको पनि पूजाआजा गर्ने गरिन्छ।

नवरथाको दशौँ  दिनलाई दसैँ भन्ने गरिन्छ। नौ दिनसम्म गरिएको पूजा आराधनाको प्रसाद र आशिर्वाद लिने दिनको रुपमा पनि दसैँलाइ लिइन्छ। आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म दश दिन मनाइने भएको हुनाले यस दिनलाई खास दसैँ भनिएको हो भन्नुमा फरक पर्दैन। दस दिनसम्म गरिने विभिन्न पूजाले हाम्रो हिन्दू धर्ममा विशेष महत्व राख्दछ।

दसैँका दिन भगवन रामचन्द्रले नारदका उपदेशले नवरात्र व्रत गरि रावणमाथि विजय प्राप्त गरेकाले विजयादशमी भनिएको भन्ने मान्यता रहँदैआएको पाइन्छ। विजया देवीको यथाशक्ति पूजा र जमराको पूजा गरी भगवती दूर्गा पितृ अन्य देवीदेवतालाई चढाई त्यो टीका प्रसाद आफुभन्दा ठुलाको हातबाट थाप्ने चलन छ। दसैँको टीका लगाई जमरालाई शिरमा पहिरिएर वा सजाएर राखिन्छ। मान्यजनको अशीर्वादले कसैले पनि आफुमाथि दमन अर्थात् परास्त  गर्नसक्दैन भन्ने धार्मिक मान्यता पनि छ। दसैँमा मान्यजनबाट टीका लगाउँदा आशीर्वाद दिने मन्त्र यसप्रकार छः

पुरुषलाई दिइने आशीर्वादको मन्त्रः

आयुद्र्रोणसुते श्रीयं दशरथे शत्रुक्षयं राघवे ।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।।

शौर्य शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते ।

विज्ञानं बिदुरे भवति भावताम् किर्तिश्च नारायणे ।।

महिलालाई दिइने आशीर्वादको मन्त्रः

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।

दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।

जय त्वं देवि चामुण्डे जय भूतार्तिहारिणि

जय सर्वगते देवि कालरात्रि नमोऽस्तु ते ।।

नेपालमा भगवती मन्दिर तथा कुलदेवी कोटघरमा बलि दिने प्रचलन छ। तर बलिको अर्थ भने खासमा हिंसा होईन, बलीको वास्तविक अर्थ निवेदन अथवा उपहार हो। शब्दकोशले बलीको अर्थ ग्रहण गर्नुभन्दाअघि देवी देवतालाई चढाइने भोजन, नैवेद्य आदि हो भनेर अर्थ्याएको छ।

त्यो दसैँ पो दशैः

हामी सानो छँदा दशैं आउनुभन्दा एकहप्ताअघि नै नयाँ लुगा सिलाइदिए कि सिलाइदिएनन् भनेर दमाइटोलका टेके दमाई (अहिले त्यसरी सम्बोधन गर्न मिल्दैन) को घरमा धाइरहन्थ्यौं। कपडा उद्योगले प्रयोग गरेको केमिकलको गन्धसहितको नयाँ लुगा घरमा लिएर खुशी हुँदै जतनसाथ राख्थ्यौं। दशैंको दिन ती नयाँ लुगा लगाएर मूलघर जान्थ्यौं, जहाँ बाजे र बोई अर्थात् हजुरआमा कान्छाबाको साथमा रहनुहन्थ्यो। हामी (जेठापट्टी) र माइलाबाका पट्टीको छुट्टाभिन्न भैसकेको थियो। टीका को साइत अनुसार सबै जम्मा भएपछि मर्यादाक्रम अनुसार टीका शुरु हुन्थ्यो। ठूलाले सानालाई आशीर्वाद दिंदै टीकाको काम सकिन्थ्यो। काम्लाभरी अक्षता झरेर रातै हुन्थ्यो र बिझाउँथ्यो। टीकाअघि नै बोईले गोधुङको लामोलामो सीता भएको जडन चामलको भात पकाइसक्नु भएको हुन्थ्यो।

स्वादिला तरकारी, अचार अनि गोरसका साथमा हरिया टपरीमा मनभरी र पेटभरी खाइसकेपछि टपरी भैंसीको भकारमा फालिदिन्थ्यौं। हात धोइसकेपछि आराम नगरी हतपत्त करेसामा रहेको बेकमबेलीको लहरामा पिङ खेल्दै गोल्चेनीको रुखमा चढ्थ्यौं। बाजेले “ए भिउसिन” भनेर भाइ विमललाई बोलाइरहनुहुन्थ्यो, बाजेले उसैलाई नै खोजिरहनुहुन्थ्यो। खेल्दाखेल्दै बेलुका भएपछि घरघर जान्थ्यौं। भोलिपल्ट विहान बोई कुम्लो बोकेर माइत नम्जातिर हिंड्नुहुन्थ्यो भने म बोईको पछिपछि लाग्थें। साँझ नपर्दै म बोई अर्थात् हजुरआमासँग बूढो मावल पुग्थें। नम्जाली साहुले चिनिने बूढोमावली बाजेले मलाई जिस्क्याउनुहुन्थ्यो। टीका थापेर दक्षिणा गोजीमा राखेर खाना खाई आनन्दले निदाउँथें। अर्कोदिन विहान उठेर आँपको रुखमा हालेको पिङ खेल्थेँ।

हिन्दू धर्ममा दसैँको ठूलो महत्व रहेको छ भन्ने कुरा माथि उल्लेख गरिए तापनि पहिलेको दसैँ र अहिलेको दसैँमा धेरै भिन्नता छ। चाडबाडको नाममा ऋण काढेर मोजमस्ती गर्नु गलत काम हो। घरमा जे उपलब्ध छ त्यसैले दसैँ मनाउनु मनासिव ठहर्छ। अरुले घोँडा चढ्यो भन्दैमा आफूले धुरी चढ्नुहुँदैन। धेरै खाएर र मीठोमीठो खाएर मात्र दसैँ मनाइने होइन। पछिल्लो समयमा बली दिइनुहुँदैन भनेर विरोध गर्नेहरुको केही समूह पनि देखिन्छ। विशेष गरी पशुअधिकारकर्मीहरुले पशुबलीको विरोध गरेको पाइन्छ। यो विषयमा आआफ्नो तर्क राख्न पाइन्छ।

सबै हिन्दू धर्मावलम्बीहरुमा विजया दशमी २०८२ को उपलक्ष्यमा शुभकामना !!!

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार