मंगलवार, २६ फाल्गुन, २०८२

म्यादी प्रहरीदेखि सहायक मतदान अधिकृतसम्म जुम्लाका टिकराज रोकाया

समयसँगै टिकराजको जिम्मेवारी र भूमिका पनि विस्तार हुँदै गएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा उनी सहायक मतदान अधिकृतको रूपमा खटिएर काम गरे।

चन्दननाथ नगरपालिका -८ जुम्ला घर भएका टिकराज रोकाया साधारण पृष्ठभूमिबाट आएका भए पनि लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउँदै उदाहरणीय यात्रा तय गरिरहेका व्यक्ति हुन्। उनले स्थानीय तह निर्वाचन २०७९ मा म्यादी प्रहरीको रूपमा सेवा गर्दै आफ्नो जिम्मेवारी निष्ठापूर्वक पूरा गरेका थिए।

त्यतिबेला उनले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेका थिए। २०७९ सालको स्थानीय तह निर्वाचनमा टिकराज जिल्ला प्रहरी कार्यालय जुम्लाबाट २०७८ चैत २८ गते म्यादी प्रहरीको रूपमा नियुक्त भएका थिए।

नियुक्तिपछि उनले नेपाल प्रहरी प्रधान कार्यालयले तयार पारेको पाठ्यक्रम अनुसार १० दिनको तालिम प्राप्त गरे। २०७८ चैत २८ गतेदेखि २०७९ वैशाख ७ गतेसम्म सञ्चालन भएको उक्त तालिमपछि उनी तोकिएको कार्यक्षेत्रमा नेपाल प्रहरीसँगै खटिएर निर्वाचन सुरक्षामा सक्रिय भए।

निर्वाचन जस्तो संवेदनशील समयमा म्यादी प्रहरीको भूमिका निकै महत्वपूर्ण मानिन्छ। मतदान केन्द्रमा सुरक्षा व्यवस्था कायम राख्नु, मतदातालाई सुरक्षित वातावरण प्रदान गर्नु र निर्वाचन प्रक्रियालाई व्यवस्थित बनाउन सहयोग गर्नु उनीहरूको मुख्य जिम्मेवारी हुन्छ।

टिकराजले पनि यी सबै जिम्मेवारी इमानदारीका साथ पूरा गरे। उनको योगदानको उच्च मूल्यांकन गर्दै जिल्ला प्रहरी कार्यालय जुम्लाले उनलाई म्यादी प्रहरीको रूपमा सेवा गरेको प्रमाणपत्र प्रदान गरेको थियो। उक्त प्रमाणपत्र तत्कालीन प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दद्वारा प्रदान गरिएको थियो।

समयसँगै टिकराजको जिम्मेवारी र भूमिका पनि विस्तार हुँदै गएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा उनी सहायक मतदान अधिकृतको रूपमा खटिएर काम गरे। यो पदमा रहेर उनले मतदान प्रक्रियालाई व्यवस्थित र सहज बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

हाल टिकराज प्युठान जिल्लाको झिमरुक गाउँपालिकामा पशु स्वास्थ्य प्राविधिकको रूपमा कार्यरत छन्। आफ्नो पेशागत जिम्मेवारीसँगै उनी सामाजिक तथा लोकतान्त्रिक गतिविधिहरूमा पनि सक्रिय रूपमा सहभागी हुँदै आएका छन्।

म्यादी प्रहरीको रूपमा जागिरे जीवनको सुरुआत गरेर सहायक मतदान अधिकृतसम्म पुग्नु टिकराज रोकायाको प्रतिबद्धता, मेहनत र जिम्मेवारीप्रतिको समर्पणको उदाहरण हो। लोकतन्त्रलाई सुदृढ बनाउन साधारण नागरिकको सहभागिता कति महत्वपूर्ण हुन्छ भन्ने सन्देश पनि उनको यात्राले दिन्छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार