जेनजी पुस्ताले काठमाडौँमा गरेको आन्दोलनले देखाइदियो। शान्तिपूर्ण आन्दोलनको सुरुवातमा युवाहरूले आफ्नो आवाज समाज र प्रणालीसँग जोड्न खोजे। भ्रष्टाचारमुक्त नेपाल र सुशासनको माग मुख्य एजेन्डा थियो।
समय र परिस्थिति जहिले पनि सबै एउटै पक्षमा हुँदैन। नेतृत्वले सही समयमा सही निर्णय गर्न सक्नुपर्छ, अन्यथा हालसम्मका आन्दोलनले अविश्वास, असन्तोष र अस्थिरता मात्रै उत्पन्न गर्ने भ्रममा पर्दा, यसबाट प्रत्यक्ष असर आजका जेनजी युवाहरूले भोग्नुपर्यो।
यो केवल परिवर्तनको र फेरबदलको कुरा होइन, पुस्ताको हो। पुस्तालाई हामी केवल पुस्तकभित्र भेट्दैनौँ; हामी त्यसलाई व्यवहारमा, विचारमा र जीवनका हरेक मोडमा भेट्छौँ।
पुस्ता अतीतको कथा मात्र होइन, वर्तमानको अनुभूति र भविष्यको तयारी हो। त्यसैले पुस्तालाई सुझबुझ गर्न पुस्तक मात्र पर्याप्त छैन, स्वतन्त्र जीवन नै ठूलो विद्यालय हो, जुन आज ढल्दै, भत्किँदै छन्।
यो सत्य जेनजी पुस्ताले काठमाडौँमा गरेको आन्दोलनले देखाइदियो। शान्तिपूर्ण आन्दोलनको सुरुवातमा युवाहरूले आफ्नो आवाज समाज र प्रणालीसँग जोड्न खोजे। भ्रष्टाचारमुक्त नेपाल र सुशासनको माग मुख्य एजेन्डा थियो।
तर केही राजनीतिक समूह र स्वार्थी तत्वको प्रवेशले आन्दोलनलाई अराजक बनायो। जेनजी समूहका अभियन्ता अमित खनालले यसो प्रष्ट पारे, “हामीले शान्तिपूर्ण प्रदर्शनको प्रस्ताव राखेका थियौँ, तर केही समूहका कार्यकर्ता पछि आएर आन्दोलनलाई दुःखद मोडतर्फ लगे।”
युद्ध, क्रान्ति र आन्दोलन कहिँ पनि नभएको भने होइन। तर मुख्य कुरा हामी त्यो समयमा हुँदा भावी पुस्तालाई के सन्देश दिन्छौँ भन्ने हो। युवा सबैको साझा हो, सङ्घ, संगठन या जुनसुकै पार्टीका किन नहोस्।
यदि कुनै सीमित स्वार्थ पाल्ने व्यक्तिले युवालाई आफ्नो एजेन्डामा फसाउँछ भने, त्यो नाफा–घाटा र युवा शब्दमा व्यापारमा परिणत हुन्छ। यही कारणले, जुनसुकै नेतृत्वका लागि युवाहरूले आफ्नो स्वतन्त्र सोच, राष्ट्रिय हित र सामाजिक जिम्मेवारीलाई प्राथमिकता दिनु अनिवार्य छ।
देश विकासको आधारशिला र युवाहरूका आवश्यकतालाई मध्यनजर गर्दै, युवालाई विशेषगरी शिक्षा, प्रविधि, अनुशासन, सिर्जनशीलता, सामाजिक उत्तरदायित्व र नैतिक मूल्यको असली पहरेदार मान्नुपर्छ।
जेनजी आन्दोलनले देखाएको अर्को सत्य यो हो, युवाले बोक्ने एजेन्डा सिङ्गो देशसँग जोडिनुपर्छ। केवल व्यक्तिगत स्वार्थ र राजनीतिक खेलले युवालाई प्रयोग गर्ने हो भने, आन्दोलनको सार्थकता हराउँछ।
हिजोआज शहादत प्राप्त गर्ने शहीदहरूले दिएको बलिदान सम्झिँदा, हामीले बुझ्नुपर्छ कि संघर्षको उद्देश्य स्पष्ट र राष्ट्रिय हितमा केन्द्रित हुनुपर्छ।
यो पुस्ताले आफ्नो आवाज, साहस र चेतनासँग भविष्य निर्माणको आधारशिला बनाउनेछ। तर यसका लागि युवाले आफ्नो स्वतन्त्रता, सोच र जिम्मेवारीको संरक्षण गर्नैपर्छ, अन्यथा आन्दोलन मात्र होइन, पुस्ताको भविष्यसँगै राष्ट्रको स्वाभिमान पनि जोखिममा पर्न सक्छ।