बिहीबार, २६ भाद्र, २०८२

आखिर सबैले उडाए कर्णालीलाई

कर्णाली नेपालको एक अति सुन्दर, संघर्षशील र ऐतिहासिक भूगोल हो। जहाँ चारैतिर चाँदझैँ टलक्क टल्केका ती सुन्दर मन्द्रमुग्ध हिमालहरू छन्। अनि हरियाली पहाडहरू छन्। अनि बीचमा अति सुन्दर उपत्यकाहरू छन्। जहाँ एकनासले नदीको गुन्गुन आवाज आइरहन्छ।

बाहिरकाले मात्र नभई, जुम्लाका अनि कर्णालीका केही पात्रहरूले साबिकको मातृभूमि कर्णालीको ध्वजिया उडाए। चाहे ती लेखक हुन् वा कलाकार, सबै नभई केही लेखकले लेखेर उडाए, केही कलाकारले गाएर उडाए, राजनीतिकर्मीले रजाई गरेर उडाए।

आखिर सबैले मात्रुभूमी माथि बुड बजाएर उडाए। अझै भन्नुपर्दा यसलाई समय सान्दर्भिक रुपमा उडाए। आखिर सबैले उडाए। कर्णाली क्षेत्रको पहिचान, संवेदना र बेवास्ता गरिएको यथार्थ प्रति आवाज उठाउने सन्दर्भमा। हृदयदेखि प्रस्तुत गर्दैछु।

सन्दर्भअनुकूल लेख, लेख्ने म रहर नभई बाध्य भए जसले कर्णालीका स्रष्टाहरू, कलाकारहरू र राजनीतिकर्मीहरूको क्रियाकलापसँगै भावनात्मक पक्षलाई उजागर गर्ने प्रयास गर्दैछु। ध्वजिया उडाउनेहरू कर्णालीको आवाज कि विस्मृतिको उत्सव?

कर्णाली नेपालको एक अति सुन्दर, संघर्षशील र ऐतिहासिक भूगोल हो। जहाँ चारैतिर चाँदझैँ टलक्क टल्केका ती सुन्दर मन्द्रमुग्ध हिमालहरू छन्। अनि हरियाली पहाडहरू छन्। अनि बीचमा अति सुन्दर उपत्यकाहरू छन्। जहाँ एकनासले नदीको गुन्गुन आवाज आइरहन्छ। जहाँ कला, संस्कृति र खसभाषा जीवन्त छ, जहाँ रैथाने बाँसीहरू लामो समयदेखि बसोबास गर्दै आएका छन्।

यही माटोमा जन्मिएका, यही माटोमा हुर्केका, खेलेका र रमाएका, केही कर्णालीका लागि आशलाग्दा अनि भरलाग्दा भरिला र आशाहरू बोकेका केही पात्रहरू बिडम्बनामा अहिलेका दिनमा प्रदेश राजधानी र संघीय राजधानीका रंगमञ्चहरूमा, सूचना तथा सञ्चारका पानाहरूमा, त्यो रङ्गिन स्टेजमा नाटकका संवादहरूमा कर्णालीको नाम लिएर दिन दाहाडै ध्वजिया उडाइरहेका छन्।

तर यो ध्वजिया के हो? के यो गर्वको झण्डा हो? वा अपमानको तीतो उपहार हो? कि सम्झनामा पोखिएको आँसु हो? कि पहिचान बेचेर बनाइएको सुविधा हो?

आज कर्णालीका केही लेखकहरूले लेखलाई आलेख बनाएर कर्णालीको पीडा बुनिरहेका छन्। ती पीडा कागजमा त छन्, तर त्यस्तो लाग्छ ती पीडालाई बेचेर पुरस्कार लिने चाहना होला। सम्मान तथा पुरस्कार पाउनुहोस्, त्यसमा हाम्रो कुनै आपत्ति छैन।

हामी सबैको प्यारो मात्रुभूमिलाई भने, नहोच्नुहोस्। यसमा हाम्रो आपत्ति मात्र होइन खवरदारी पनि छ। केही कलाकारले गितारमा कर्णालीका सन्देश गुन्गुनाउँछन् तर त्यो स्वर राजधानीका कार्यक्रम र बजेटदाताका तालिकाभित्र मात्र गुञ्जिन्छ।

केही लेखकहरू छन्। कलम चलाएर प्रदेश राजधानीलगायत हाम्रो देशको राजधानीमा लेखेर उडाए र केही राजनीतिकर्मीहरू छन्। जो कर्णालीको भूमिमा जन्मेका, हुर्केका, बालपन बिताएका र रमाएका तर सिंहदरबारको कुर्सीमा पुगेर कर्णालीको बिर्सनामा रमाए।

उनीहरूको लागि कर्णाली एउटा भरपर्दो सिढी थियो, बिर्सन योग्य विगत बन्यो। कर्णालीमा अझै पनि मानिसहरू विकासको अभावमा छटपटाइरहेका छन्। शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी सबै कुरा नपुगेको भनी नकारात्मक सन्देश फैलाइरहेका छन्।

आखिर ती नामिहर्द भए पनि बहादुरी विकुल फुकी रहेका छन्। हाम्रो देशको राजधानीको ठाउँमा-ठाँउमा केही प्रतिनिधि पात्रहरूले भने राजधानीको चकचके रंगमञ्चमा ‘कर्णाली माया’को आवरणमा आत्मप्रचार गरिरहेका छन्।

यसलाई के भन्न सकिन्छ र? समर्पण? संवेदना? कि सुविधा खोजीको अभिनय?

यो लेख कुनै व्यक्तिगत आलोचना होइन। यो प्रश्न हो कर्णालीका लागि आखिर साँच्चिकै को उभिएको छ? कर्णालीका लागि लेखिएको लेख, गाएको गीत, गरिएका भाषण यी सबै तबसम्म अर्थपूर्ण हुँदैनन्, जबसम्म त्यो आवाज साँचो कर्ममा बदलिँदैन। ध्वजिया त हावाले पनि उडाउँछ तर पहिचान, माटोको माया र आफ्नोपनलाई आत्मा र कामले मात्र उचाल्न सकिन्छ।

अब प्रश्न यो हो कर्णालीका स्रष्टाहरूको आवाज ध्वजिया बनेर उडिरहेको छ, तर त्यो आवाज कसका लागि हो? कर्णालीका लागि? कि आफूलाई सजाउने फ्रेमका लागि? समयले हिसाब माग्ने छ। ध्वजिया कहाँबाट उडाइयो र कहाँ खस्यो। तर त्यहाँ, कर्णालीको माटो भने यथावत रहने छ। शून्य अपेक्षा, गहिरो आँसु र गुमनाम प्रतीक्षामा जस्ताको त्यस्तै रहने छ।

दुःख बेचेर सुख कहीँ कतै पनि पाइदैन हजुर। दुःखी मानिसहरू कहाँ छैनन् र चाहे त्यो राजधानी वा अरू ठाउँ—सुख-दुःख दुबै हुन्छन् यी जीवनका कालखण्डमा आ-आफ्नो पालो गर्दै आउँछन् जस्तै दिन अनि रात आउँछ।

लेख्नेले र गाउँनेले रुपैया मात्र होइन। डलरै कमाउनेछन्। तर भएको इज्जत, प्रतिष्ठा भने पक्कै पनि गुमाउनेछन्। लेखलाई आनन्द होला, गाउँनेलाई रमाइलो तर हामी कर्णाली बाँसीलाई पीडा र कष्टले घोचि रहने छ।

आखिर सबैले कर्णालीलाई उडायौँ।

यतिबेला थुप्रै पात्रहरूको अभिव्यक्तिलाई आधार बनाएर एक गहिरो र विश्लेषणात्मक आलेख तयार गर्ने जमर्को गरेको छु। यो आलेख तयार गर्न रहर नभएर बाध्यताको चंगुलसँग पौठेजोरी खेल्दै, म अघि बढे।

कर्णाली समृद्धिको भूमि कि गरिबीको परिचय?

कर्णाली नाम सुन्नासाथ धेरैको मनमा आउने चित्र के हो? एउटा विकट भूगोल, पछाडि परेको विकास र गरिबीको गाँठो। तर वास्तवमा, कर्णाली यस्तो छ? समृद्धि कर्णालीलाई गरिबीको रुपमा चिनायौँ।

मार्सीफाँट छन्, यार्चा उम्रने पाटन छन्। सुनबुकि छन्, स्याउका बगैंचा छन्, भेडाबाख्रा छन्, अन्न उब्जाउने जमिन छ। त्यही बिडम्बना, तिमीहरूले गरिब भनी चिनायौँ। यी पंक्तिहरूले कर्णालीको यथार्थ चित्रण मात्र होइन, त्यसमाथि लागेको गलत दृष्टिकोणको पर्दा पनि उघार्छ।

प्राकृतिक स्रोतले भरिपूर्ण कर्णालीमा हुने यार्चागुम्बा संसारकै महँगो जडीबुटी हो। यसले आर्थिक सम्भावनाको ढोका खोलेको छ। त्यसैगरी, मार्सीचामल, स्याउ, सुनबूकी, जडीबुटी र पशुपालनमार्फत् कर्णाली आफैंमा आत्मनिर्भर बन्न सक्ने सम्भावनाले भरिपूर्ण छ।

तर किन गरिब भन्ने छवि?

यो प्रश्नको उत्तर केवल भौगोलिक दुर्गमतामा छैन। विकास नपुगेको, संरचनागत कमजोरी, अवसरहरूको अभाव र केन्द्रमा बस्ने नीति निर्माताहरूको दृष्टिकोणमा रहेको पश्चिमेली दृष्टिकोण यी सबै मिलेर कर्णालीलाई गरिबीको फ्रेममा कोच्ने प्रयास हुँदै आएको छ।

साँचो कुरा के हो भने कर्णाली स्रोत र सम्भावनाको खानी हो। तर त्यो सम्भावनाको उचित उपयोग, पहुँच, शिक्षा र लगानी बिना त्यो स्रोत केवल संवेदना बन्न पुगेको छ। बदलिंदो कर्णालीको कथा पछिल्ला केही वर्षमा कर्णालीका बासिन्दाले आफूलाई “दया होइन, अवसर चाहिन्छ” भन्ने भावना फैलाएका छन्। साना व्यवसाय, कृषि प्रविधि, पर्यटन र सहकारीहरूले कर्णालीको कथा बदल्न थालेका छन्।

अझै, युवापुँस्ताले अब विदेश पलायन होइन, स्थानीय स्रोतको उपयोगमार्फत् स्वदेशमै केही गर्ने बाटोमा हिँड्न थालेका छन्। दृष्टिकोण बदल्न आवश्यक छ, कर्णाली गरिब होइन, विचारमा गरिब बनाइएको हो।

त्यसैले अब समय आएको छ, जब हामीले विकासको बहसमा केवल आर्थिक सूचक होइन, सांस्कृतिक सम्पदा, प्राकृतिक स्रोत, र जनताको आत्मबल पनि मापन गर्न थाल्नु पर्छ।

कर्णालीलाई अब गरिब भनेर चिनाउने होइन, समृद्धिको सम्भावनाले भरिएको भूगोल भनेर चिनाउने बेला हो। तै पनि तपाईंलगायत सबै पात्रहरूले कर्णालीलाई राम्रैसँग उडायौँ। त्यसो त, जुम्ला अनि कर्णालीमा मातृभूमिप्रति माया र ममता नभएका भने होइन।

कर्णालीमा यहाँ जुम्लामा जन्मेर मातृभूमि र समाजप्रति अतुलनीय योगदान पुर्‍याएका बहुप्रतिभाशाली व्यक्तित्वहरू पक्कै पनि छन्।

साहित्यकार सुरेशजँग शाह, गायक तथा संगीतकार पदम रोकाया र देउडा तथा दोहोरी गायक छत्र शाहीहरू हाम्रो कर्णाली मातृभूमिका अमूल्य रत्नहरू हुन्।

सुरेशजँग शाह, पदम रोकाया र छत्र शाहीको योगदानले नेपालको सुदूरपश्चिम तथा कर्णालीको सांस्कृतिक केन्द्रका रूपमा चिनिने जुम्ला जिल्ला न केवल प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ, तर यहाँका छोराछोरीहरूले देशको साहित्य, संगीत र संस्कृति क्षेत्रमा पुर्‍याएको योगदानले पनि यो भूभागलाई गौरवशाली बनाएको छ।

यस्ता तीनजना उत्कृष्ट सन्तान हुन्। साहित्यकार सुरेशजँग शाह, गायक तथा संगीतकार पदम रोकाया र देउडा-दोहोरी गायक छत्र शाही। यी तीनैजना बहुप्रतिभाशाली व्यक्तित्वले मातृभूमिको सेवा सिर्जना, कला र संस्कृति मार्फत गरी उदाहरणीय काम गरेका छन्।

साहित्यकार सुरेशजँग शाह: कलमको बलमा कर्णालीको आवाज

साहित्यकार सुरेशजँग शाह नेपाली साहित्यमा प्रखर प्रतिभाका रूपमा परिचित हुनुहुन्छ। उहाँको लेखनशैली, विश्लेषण क्षमता र सामाजिक यथार्थको चित्रणले पाठकहरूलाई सजग बनाउँछ। जुम्लाको मौलिकता, संस्कृति, संघर्ष र भावनालाई कलात्मक ढंगले प्रस्तुत गर्ने साहस उहाँको लेखनीमा पाइन्छ।

उहाँका कविताहरू, निबन्धहरू र कथाहरूमा केवल भावनात्मक पक्ष मात्र होइन, चेतनाको आह्वान पनि झल्किन्छ।

शाहको साहित्य कर्णालीको स्वर हो—शोषणविरुद्धको आवाज, सम्भावनाको उज्यालो, र परम्परागत ज्ञानको दस्तावेज। उहाँले कर्णालीका भेगहरूलाई नेपाली साहित्यमा परिचित गराउँदै देशभरका पाठकलाई त्यहाँको जीवन र हृदयको धडकन महसुस गराउनु भएको छ।

गायक तथा संगीतकार पदम रोकाया: संगीतको माध्यमबाट पहिचानको खोजी

जुम्लाको संगीतको माहोललाई राष्ट्रिय स्तरमा चिनाउने कार्यमा पदम रोकायाको योगदान अविस्मरणीय छ। लोकधुन र जीवन्ततालाई समेटेर संगीत सिर्जना गर्ने उहाँको शैलीमा मौलिकता र गहिरो सन्देश दुवै भेटिन्छ।

उहाँले गाएको र संगीतबद्ध गरेको थुप्रै गीतहरूमा सामाजिक सन्देश, मायाप्रेमका र चेतना भएका गीतहरू रचना गरे अनि सुरिलो भावमा गाए जसमा कर्णालीको वास्तविक मौलिकता झल्किन्छ।

विशेषगरी कर्णालीका जनजीवनका कथा–व्यथा उहाँले संगीतमार्फत व्यक्त गर्दा त्यो केवल मनोरञ्जन मात्र होइन, समाजको दस्तावेज पनि बन्छ।

पदम रोकायाले नेपाली लोकसंगीतमा नयाँ जीवन भरेका छन्। उनले संगीतले कर्णाली मात्र होइन, सम्पूर्ण नेपाललाई हर्ष, पीडा र आत्मसम्मानको भावनासँग जोडेको छ।

छत्र शाही: देउडा र दोहोरीमार्फत मौलिक संस्कृतिको जगेर्ना

जुम्लाको लोकसंस्कृति र मौलिकपनको अभिव्यक्ति देउडा तथा दोहोरी गीतहरूमा पाइन्छ, र यसलाई जीवित राख्न छत्र शाहीजस्ता कलाकारहरूको भूमिका निर्णायक छ।

छत्र शाही देउडा र दोहोरीमा आफ्नो विशिष्ट शैलीका कारण चिनिएका छन्। उहाँले गाएका गीतहरूले सामाजिक सन्देश मात्र होइन, जनजीवनका भावनाहरूलाई प्रत्यक्ष रूपमा अभिव्यक्त गर्छन्।

लोककलाको संरक्षण र प्रवर्द्धन गर्ने कार्यमा उहाँको योगदान अनुकरणीय छ। युवापुस्तालाई मौलिक गीत-संगीतप्रति आकर्षित गराउने उहाँको प्रयासले कर्णालीको संस्कृति जोगिने आशा बढाएको छ।

छत्र शाही केवल गायक मात्र होइनन्, उहाँ संस्कृति संरक्षणका अभियन्ता पनि हुनुहुन्छ।

प्रेरणाका स्रोतहरू
यी तीनजना सपूतहरूले कलम, संगीत र स्वरमार्फत मातृभूमिको गौरव बढाएका छन्। सुरेशजँग शाहले साहित्यमा, पदम रोकायाले संगीतमा, र छत्र शाहीले मौलिक लोकसंस्कृतिमा अमूल्य योगदान पुर्‍याएका छन्।

यी महान् व्यक्तिहरूको कार्यले भावी पुस्तालाई आफ्नो पहिचान, संस्कृति र चेतनाप्रति गर्व गर्ने आधार तयार गरिदिएको छ। यसरी, जुम्ला केवल एक भौगोलिक क्षेत्र मात्र नभई सिर्जनशीलता, चेतना र सांस्कृतिक सम्पदाको केन्द्र हो भन्ने पुष्टि यी सपूतहरूको योगदानबाट हुन्छ।

मातृभूमिले यस्ता सन्तान पाउनु गौरवको कुरा हो, र हामीले उहाँहरूलाई सम्मान गर्नु हाम्रो कर्तव्य हो।

तपाईंहरूले मात्रुभू‍मिप्रति देखाएको त्यो लगाव, स्नेह, सम्मान, इज्जत र योगदान प्रति म लेखक अत्यन्तै खुशी छु। यसको लागि तपाईंहरूलाई हृदयदेखि सलाम अनि धन्यवाद छ।

र बाँकी तपाईंहरू आफैंलाई अब्बल लेखक ठान्नेहरू, गीत गाउँनेहरू, कार्यक्रम आयोजना गर्नेहरू अझै पनि सहिबाटोमा आउने सुनौलो अवसर छ। सोचेर आफ्नो कमी कमजोरी सुधार्नुहोस्। एउटा पटक गल्ती गर्दा पनि नदेखिने भगवानले पनि माफी दिनुहुन्छ।

तपाईं हामी त साबिकको कर्णालीका रैथाने रजौटाहरू, अपमानको विकुल जति फुक्नु भयो। फुक्नु भयो।

अब नफुक्नुहोस्।

अब अति गर्नु भयो भने कर्णालीका कान थुनिन्छन्, आँखा चिम्लिन्छन्। आउनुहोस् कर्णालीको क सम्म उच्चारण गर्न नसक्नेलाई कर्णालीका हुन् भनिरहोस्।

जहाँ कर्णालीको अलिकति पनि सुगन्ध सुग्न पाइँदैन। यस्तो गर्‍यौं भने साबिकको कर्णालीलाई अन्याय हुने छ। फलस्वरूप तपाईंहरूलाई धर्म होइन पाप लाग्ने छ।

माग्दा वर होइन अभिशाप हुने छ। त्यसैले आखिर सबैले साबिकको कर्णालीलाई उडायौँ। अब नउडाऔं। आउनुहोस् सकारात्मक तवरले हातेमालो गरी अगाडि बढौं।

जय मातृभूमि साबिकको कर्णाली!

(जुम्ला चन्दननाथ नगरपालिकाका स्थायी बासिन्दा राज बहादुर शाही (जुम्ली राज) स्वतन्त्र लेखक हुनुहुन्छ।)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार