साउन पुनि, गाउँ फर्काउने एउटा विशेष अवसर बन्न सक्छ। धार्मिक र सांस्कृतिक महत्वका कारण यो दिन वर्षौंदेखि गाउँ नफर्केका अनुहारहरूलाई पनि गाउँसम्म ल्याउन सक्षम भएको देखिन्छ। देवी–देवता पूज्ने, मन्दिर घुम्ने, तीर्थयात्रा गर्ने वा कुलदेवीको दर्शन गर्ने बहानामा मानिसहरू गाउँ पुग्दा गाउँमा पुरानो जीवनशैलीको सम्झना ताजै हुन्छ।
हाम्रो समाजमा साउन महिना केवल पानीको झरी, हरियो वनस्पति र खेतीपातीको समय मात्र होइन, सांस्कृतिक र आध्यात्मिक भावनाले भरिएको महिनाको रूपमा पनि परिचित छ। विशेषगरी साउने पुनि (पूर्णिमा) धार्मिक आस्थासँगै गाउँ फर्काउने एउटा अदृश्य निम्तो जस्तै बन्छ।
वर्षौंदेखि गाउँबाट टाढा भएका अनुहारहरू यस दिन देवी–देवताको दर्शन, पूजाआजा वा तीर्थयात्राका बहानामा आफ्नो जन्मभूमिमा देखिन पाउँदा गाउँलेहरूलाई पनि पुराना दिनको झल्को ताजै हुन्छ।
तर, यथार्थको कुरा गर्दा हिजोआज गाउँहरू दिनानुदिन रित्तिँदै गएका छन्। कोही रहरले, कोही बाध्यताले गाउँ छोडेर सहर पसेका छन्, त सहरमा अडान नपुगेकाहरू परदेश पसिरहेका छन्।
यसरी गाउँको खेत–वारि, पाखा–पखेरा बन्जर हुँदै गएका छन्। ठूला भवनसहितका विद्यालय बनेका छन्, तर विद्यार्थी छैनन्। स्थानीय सरकारले बाटाघाटा, पुल–पुलेसा जस्ता भौतिक संरचना निर्माण गरे पनि मानिसको सोचमा परिवर्तन ल्याउन सकेको छैन।
दक्ष जनशक्ति गाउँमा बस्ने वातावरण दिन सकिएको छैन। ठूला ओहोदामा पुगेका गाउँका छोराछोरीहरूले गाउँमा भविष्य नदेखेर सहर केन्द्रित हुने क्रम बढ्दैछ। साधारण नागरिकको मन पनि त्यसरी नै गाउँबाट टाढा हुन थाल्छ। परिणामतः गाउँ र सहरबीचको खाडल अझै गहिरो बन्दै गएको छ।
५० को दशकमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सुरु गरेका ‘गाउँ फर्क’ अभियान र ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रमहरू त्यतिबेला जति आवश्यक थिए, अहिले झन् अपरिहार्य भएका छन्। दक्ष जनशक्ति जबसम्म गाउँ फर्किँदैन, तबसम्म न त गाउँको विकास सम्भव छ, न त सहर र गाउँबीचको दूरी घट्छ।
गाउँबाट टाढा रहेका धेरैलाई दशैं–तिहारजस्ता ठूला चाडपर्वमा घर फर्कने बहाना मिल्छ। तर पछिल्ला वर्षहरूमा ती पर्वहरूले पनि गाउँ तान्ने क्षमता गुमाउँदै गएका छन्। सहरको सुविधा, रमझम र सहजतामा हराएका मानिसहरूका लागि गाउँ फर्कनु नै चुनौतीजस्तो भइरहेको छ।
यस्तो अवस्थामा साउन पुनि, गाउँ फर्काउने एउटा विशेष अवसर बन्न सक्छ। धार्मिक र सांस्कृतिक महत्वका कारण यो दिन बर्सौंदेखि गाउँ नफर्केका अनुहारहरूलाई पनि गाउँसम्म ल्याउन सक्षम भएको देखिन्छ। देवी–देवता पूज्ने, मन्दिर घुम्ने, तीर्थयात्रा गर्ने वा कुलदेवीको दर्शन गर्ने बहानामा मानिसहरू गाउँ पुग्दा गाउँमा पुरानो जीवनशैलीको सम्झना ताजै हुन्छ।
साउने पुनिले देखाएको यो सम्भावनालाई केवल धार्मिक परम्परामा मात्र सीमित नराखी, सामाजिक पुनर्जागरणसँग पनि जोड्न सकिन्छ। गाउँ फर्केका मानिसहरूले केही दिन भए पनि गाउँको अवस्था बुझ्ने, समस्या देख्ने र समाधानका लागि योजना बनाउने वातावरण मिलाउन सके, साउने पुनि केवल पूजापाठको दिन मात्र नभई गाउँ विकासको प्रेरणादायी पर्व बन्न सक्छ।
यसैले, साउने पुनि जस्ता पर्वहरूले हामीलाई एउटा स्पष्ट सन्देश दिन्छन्। गाउँको माटो, संस्कृति र समुदायसँगको सम्बन्ध जीवित रहुञ्जेल मात्र हाम्रो पहिचान सजीव रहन्छ। वर्षमा एकपटक भए पनि गाउँ फर्कनु, आफ्ना जरा सम्झनु र गाउँका लागि केही योगदान गर्नु नै वास्तविक पूजाआजा हो। यही भावनाले मात्रै गाउँ र सहरबीचको खाडल मेटाउन मद्दत पुर्याउन सक्छ।