२०७८ को जनगणना अनुसार युवाको जनसंख्या मात्रै कुल जनसंख्याको करिब ४२.५६% छ । यो जनसंख्यालाई हेर्ने हो भने देशको विकासका लागि ठूलो सम्भावना हो, आशा हो जसलाई “जनसांख्यिक लाभ” (demographic dividend) पनि भनिन्छ।
हामी आज २६औं अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै छौं। यो दिवस हाम्रो देशमा मात्र नभएर मूलतः विश्वभर एकसाथ मनाइने दिवस हो। जुन दिवसले एकसाथ युवाको हक अधिकारको विषयमा गहन आवाज उठाउँछ र उठाइएको कारण यो दिवसको थालनी समेत भएको हो।
अन्तर्राष्ट्रिय युवा दिवस सन् २००० देखि हरेक वर्ष अगस्ट १२ मा मनाउन थालिएको एक विशेष दिवस हो। संयुक्त राष्ट्र संघको महासभाले सन् १९९९ मा युवा दिवस मनाउने निर्णय गरेको थियो।
त्यसको सिफारिस पोर्चुगलको लिस्बनमा सन् १९९८ मा भएको युवा मन्त्रीहरूको विश्व सम्मेलनले गरेको थियो भने यसको मुख्य उद्देश्य युवाहरूको समस्या, चुनौती र युवाको हक अधिकारलाई विश्वभर एकसाथ पहल गर्नु थियो। युवाका चुनौतीहरूको सम्बोधन र समस्याको समाधान गर्न सन् २००० बाट अन्तर्राष्ट्रिय युवा दिवस विश्वभर मनाउन थालिएको थियो।
यद्यपि नेपालमा भने सन् २००४ देखि मात्र अन्तर्राष्ट्रिय युवा दिवस मनाउन सुरु गरिएको थियो। युवा सम्बन्धी नेपालमा काम गर्ने गैरसरकारी संघ संस्थाको दबाबमा यो दिवस नेपालमा पनि मनाउन थालिएको हो। नेपालमा यो दिवस विशेषगरी युवाले पाउने अवसर, युवाका समस्याको सम्बोधन र बढ्दो युवा समस्यालाई गहन रूपमा अध्ययन गर्न अन्तर्राष्ट्रिय युवा दिवसलाई एक महत्त्वपूर्ण दिवसको रूपमा लिने गरिएको पाइन्छ।
विभिन्न युवा सम्मेलनमा पारित भएका घोषणापत्रहरूले नेपालमा युवा नीतिको निर्माण भएको पाइन्छ। नेपालमा विगतदेखि हालसम्म युवालाई लक्षित गरी विभिन्न नीति तथा कार्यक्रमहरू बनिरहेका छन्। युवा नीति बन्ने सवालमा भने कुनै आन्दोलन भएको स्पष्ट रूपमा देखिँदैन तर युवाको आवश्यकतालाई मध्यनजर गरेर राष्ट्रियस्तरमा युवालाई प्राथमिकता दिने सोच राज्यले गहन रूपमा राखेको पाइन्छ।
नेपालमा युवा नीति निर्माणको विकासक्रम र त्यसको पृष्ठभूमिलाई हेर्दा गणतन्त्रपछि राष्ट्रिय युवा नीति पहिलोपटक वि.सं. २०६६ सालमा बनेको देखिन्छ। जुन नीति २०६६ सालमा जारी भएको थियो भने यसअघि इतिहास हेर्ने हो भने युवाका मुद्दाहरूलाई विभिन्न विकास योजनाहरूमा छरपस्ट रूपमा राखिएको मात्र पाइन्छ तर आवश्यक नीति भने बनेको देखिँदैन।
यो नीति वि.सं. २०६२/०६३ को जनआन्दोलन पछिको परिवर्तनपछि युवाहरूको भूमिकालाई राष्ट्रिय स्तरमा ल्याउनुपर्छ भन्ने आवश्यकता महसुस भएपछि ल्याइएको थियो। अन्तर्राष्ट्रिय स्तरको प्रभाव र दबाबले गर्दा पनि नीतिहरू बनेका हुन्।
वि.सं. २०६५ सालमा भने युवा तथा खेलकुद मन्त्रालयको स्थापना भइसकेको थियो। यही मन्त्रालयको पहलमा सो युवा नीति तयार पारिएको थियो। यस नीतिले युवालाई राष्ट्र निर्माणको प्रमुख अंग मान्दै युवाहरूको अधिकार र दायित्वलाई स्थापित गर्ने लक्ष्य समेत राखेको थियो। यसले १६-३५ वर्ष उमेर समूहलाई युवा मानेको थियो। समयक्रमसँगै २०६६ को नीतिको प्रभावकारिता र कमीकमजोरीहरूको समीक्षा गर्ने क्रममा यसकै आधारमा २०७२ सालमा नयाँ राष्ट्रिय युवा नीति जारी गरियो।
यो नीति २०७२ सालमा जारी भएको संविधानको प्रमुख पाटोको रूपमा पछिल्लो नीतिको समीक्षा र सोही वर्ष जारी भएको राष्ट्रिय युवा परिषद् ऐन, २०७२ को जगमा रही बनेको हो। यस नीतिले युवाको उमेर समूहलाई बढाएर १६ देखि ४० वर्ष बनाएको छ र युवालाई उद्यमशीलता, रोजगारी, शिक्षा, स्वास्थ्य तथा राजनीतिक रूपमा पनि व्यापक सहभागिता गर्न अग्रगामी पहल समेत चालिरहेको छ।
उदाहरणको लागि राष्ट्रिय युवा परिषद्ले विभिन्न सीपमूलक तालिम प्रदान गर्नुको साथै, नमूना युवा सांसद जस्ता राष्ट्रिय स्तरका कार्यक्रम गरेर युवाको चेतना स्तर बढाउने कार्य समेत गरिरहेको छ। जसको प्रतिफलले म यो लेख लेखिरहेको छु।
राष्ट्रिय युवा नीति, २०७२ लाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्नको निम्ति युवा भिजन २०२५ र त्यसको दश वर्षे रणनीतिक योजना ल्याइएको छ भने यसले युवा नीतिका सपना पूरा गर्न विशेष कार्ययोजना तयार पार्ने काम समेत गरिरहेको छ।
जसको निम्ति राष्ट्रिय युवा परिषद्ले व्यापक रूपमा आवाज उठाउँदै आइरहेको छ भने वर्तमान राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत ज्युले समेत खरो रूपमा युवाका सवाल, समस्या र चुनौतीहरूको आवाज उठाइराख्नु भएको छ। जसको कार्यशैली देशका युवाहरूलाई सकारात्मक प्रभाव समेत परेको छ।
नेपालमा युवा र रोजगारको अवस्था :
नेपालमा युवाहरूको अवस्था निकै जटिल समस्यामूलक छ। २०७८ को जनगणना अनुसार युवाको जनसंख्या मात्रै कुल जनसंख्याको करिब ४२.५६% छ । यो जनसंख्यालाई हेर्ने हो भने देशको विकासका लागि ठूलो सम्भावना हो, आशा हो जसलाई “जनसांख्यिक लाभ” (demographic dividend) पनि भनिन्छ। तर, विडम्बना विभिन्न समस्याहरूको कारण यसको पूर्ण रूपमा उपयोग हुन भने सकेको छैन।
नेपालमा बेरोजगारी र रोजगारी दर विभिन्न तथ्याङ्क अनुसार:
विभिन्न अध्ययनहरूले नेपालमा भएको युवाहरूको बेरोजगारी दर तथ्याङ्कहरू फरक–फरक रूपमा देखाएका छन्। जसमध्ये नेपाल श्रमशक्ति सर्वेक्षण २०१९ का अनुसार, नेपालको बेरोजगारी दर ११.४ प्रतिशत रहेको थियो भने यो तथ्याङ्क १५ वर्ष वा सोभन्दा माथिको उमेर समूहमा आधारित थियो।
त्यस्तै चौथो नेपाल जीवनस्तर सर्वेक्षण २०७९/८० को तथ्याङ्क अनुसार नेपालको बेरोजगारी दर ४.७ प्रतिशत रहेको पाइएको छ। यो मूलतः सही रूपमा अध्ययन नभएको देखिन्छ । तर नेपालमा विशेष गरी युवाहरूको सन्दर्भमा बेरोजगारी दर अझ उच्च रहेको स्पष्ट रूपमा देखिन्छ। चौथो जीवनस्तर सर्वेक्षण अनुसार १५ देखि २४ वर्ष उमेर समूहका युवाहरूमा बेरोजगारी दर २२.७ प्रतिशत पुगेको छ। यो तथ्याङ्कले शिक्षित युवाहरूका लागि रोजगारीका अवसरहरू अझै पनि पर्याप्त रूपमा नभएको देखाउँछ।
अब कुरा गरौं नेपालमा रोजगारीमा युवाहरूको संख्याबारे, तर यसको यकिन तथ्याङ्क भने पाउन सकिँदैन। तर राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको तेस्रो नेपाल श्रमशक्ति सर्वेक्षण २०७४-७५ (सन् २०१९) अनुसार, नेपालमा १५ वर्ष वा सोभन्दा बढी उमेरका कुल ७१ लाखभन्दा बढी व्यक्तिहरू रोजगारीमा रहेका छन्।
जसमा युवाहरूको संख्या कति छ भन्ने स्पष्ट छुट्याइएको छैन, तर यसमा ठूलो हिस्सा युवाहरूको रहेको अनुमान भने सहजै गर्न सकिन्छ। त्यस्तै, २०७८ को जनगणना अनुसार, १६ देखि ४० वर्ष उमेर समूहका युवाहरूको संख्या १ करोड २४ लाख १२ हजार १७३ छ। यो उमेर समूह देशको कुल जनसंख्याको करिब ४२.५६% हो। यसमध्ये १९.८ प्रतिशत युवाहरू पूर्ण बेरोजगार रहेको जनगणनाको तथ्याङ्कले देखाउँछ।
युवामा बढ्दो निराशा:
राष्ट्र निर्माणको प्रमुख अंग युवालाई मानिन्छ । किनभने युवा शक्ति भनेको राष्ट्र निर्माणको एक बलियो खम्बा हो। जसले देशको जिम्मेवारीको काँध थामिरहेका हुन्छन्। जसको आयस्रोतबाट राष्ट्रले आर्थिक चलायमान गरिरहेको हुन्छ। तर नेपालको राजनीतिक अस्थिरता नियाल्ने हो भने युवामा निकै निराश मात्र पलाएको देखिन्छ। जसको कारण हो, राज्यले युवा वर्गलाई अपहेलित गर्नु, जसको कारण युवाहरूमा बढ्दो निराशा पाइन्छ।
आखिर युवाको कर्तव्य के? युवाले राष्ट्र निर्माणमा के योगदान गर्नुपर्छ?
युवा सधैं प्रश्न गर्ने ठाउँमा मात्र हुनु हुँदैन। युवाले राष्ट्र निर्माणको भार स्वयंले बेहोर्नु समेत पर्छ। राष्ट्र निर्माण गर्नु, देशलाई समृद्धिको दिशातर्फ उन्मुख बनाउनु युवाको भूमिका हो, कर्तव्य हो। देशमा केही छैन भन्ने प्रश्न र आरोप लगाउनु भन्दा आफ्नो सोच, श्रमको प्रयोग गरेर राष्ट्रको निम्ति आफू सदा समर्पित हुनु युवाको कर्तव्य हो। युवाले गहन रूपमा, “यो देश अब हामीले बनाउने हो” भन्ने उद्देश्य राखेर राष्ट्र निर्माणमा योगदान गर्नुपर्छ।
युवा विदेश पलायन हुनु रहर कि कहर?
हाम्रो देशको तुलनामा युवाहरू विदेश पलायन हुनु भनेको एक कहर हो, बाध्यता हो। जसले युवालाई दिनदिनै अरबी देशहरूको ५० डिग्री तापक्रममा जान बाध्य पारिरहेको छ। जसको कारण हो, देशमा भएको स्रोत उत्खनन नगर्नु र राज्यले संयमित भएर नसोच्नु। युवालाई देशमा टिकिरहनको निम्ति त्यस्तो कुनै वातावरणको तय नगर्नाले युवाहरू विदेश पलायन हुन बाध्य हुन्छन्। गरिबी, अशिक्षा, अपरिपक्व निर्णय समेत विदेश पलायनका कारण हुन् जस्तो लाग्छ।
अब अर्को तर्फ विदेश पलायन हुनु एक रहर जस्तै देखिन्छ। छिटोछरितो धेरै पैसा कमाउने आसमा पनि युवाहरू विदेश पलायन भएको देखिन्छ। तर उनीहरूले लाखौं पैसा लगानी गरेर विदेश गइरहेका हुन्छन्, सोही पैसा स्वदेशमै राज्यको सहयोग बिना नै प्रयोग गर्न सकेको भए युवाले स्वदेशमै आत्मनिर्भर हुन सक्थे, तर त्यसो थोरै मात्र युवाले गरेको पाइन्छ।
“देशमा अवसर नै छैन, काम गर्ने कुनै वातावरण नै छैन” भन्ने तर्कले समेत विदेश पलायन भैराखेका छन् युवाहरू । तर यसलाई युवाले आफ्नै भिजन तयार पारेर त्यही सोचलाई ठ्याक्कै उल्टो बनाए भने युवावर्ग विदेश पलायन हुन धेरै कम हुने देखिन्छ। तर पछिल्लो समय विदेश पलायन हुनु भनेको एक रहर जस्तै बनेको छ।
युवाको सवालमा राज्य किन निरीह?
हुन मैले माथि नै नेपालमा युवा सम्बन्धी नीति बारे थुप्रै उल्लेख गरिसकेको छु। तर ती नीतिअनुरूप पूर्ण रूपमा काम नभएको देखिन्छ। राज्य संयन्त्रले युवालाई केवल “कमाइ खाने भाडो” झैं गरेर प्रयोग गरेको नकार्न सकिँदैन। युवाको सवालमा राज्य निकै निरीह भएको म देख्छु, किनभने युवाका हरेक प्रश्नको कुनै औपचारिकता गरिएको पाइँदैन। युवाले गरेका उत्कृष्ट कार्यको समर्थन र हौसला समेत सोचेअनुसार राज्यले युवालाई दिन सकिरहेको छैन।
अझै त्यस्ता थुप्रै नीति छन्, जो युवाको निम्ति बन्न बाँकी छन्। राज्यले पूर्ण रूपमा युवाको रोजगारी सुनिश्चितता गर्नुपर्छ। नत्र भने युवामा बढ्दो आक्रोश झन् झन् बढ्दै जाने देखिन्छ। राजनीतिक स्वार्थले युवालाई असर पार्ने राज्यको निरीहपन छिटो हट्नुपर्छ।
कर्णाली क्षेत्रमा युवाको अवस्था :
कर्णाली प्रदेश जनसंख्याको हिसाबले कम भएको प्रदेश हो। तर, यहाँका युवाहरूमा चरम रूपमा बेरोजगारीको समस्या छ। यहाँका केही सीमित अर्थात् आर्थिक सम्पन्नताले पूर्ण भएका युवाको अवस्था भने केही सुधारिएको छ, तर आर्थिक रूपमा विपन्न परिवारमा हुर्केका युवाहरूको अवस्था निकै दयनीय छ। यहाँ, बस्तीका युवाहरू भारतको कालापहाडमै निर्भर छन्।
कर्णाली प्राकृतिक रूपमा निकै सुन्दर र पर्यटकीय हिसाबले महत्त्वपूर्ण क्षेत्र भए तापनि त्यसको फाइदा कर्णालीका युवाले लिन सकिरहेका छैनन्। अझ भनौं, राज्यले कर्णालीलाई हेर्ने आँखाले समेत दूर व्यवहार गरेको कारण पनि कर्णाली युवामा बेरोजगारी बढी छ । यो राज्यले गर्ने एक सौता व्यवहारको प्रभाव समेत हो। यसरी ढुक्कले किन भनिरहेको छु भने म स्वयं कर्णालीको युवा हुँ । तसर्थ कर्णाली युवाको अवस्था समस्यामूलक र जटिल रहेको म देख्छु।
युवामा राज्यको उत्तरदायित्व किन कमजोर?
नेपालको अस्थिर राजनीतिले गर्दा राज्यले पूर्ण रूपमा युवाको सवालमा उत्तरदायित्व बन्न सकिरहेको छैन। सरकार बारम्बार बन्ने–भत्किने क्रमले युवाको निम्ति उत्तरदायित्व बन्ने कुरामा राज्यको त्यस्तो कुनै ध्यान देखिँदैन। तर, विशेषगरी युवा सम्बन्धी काम गर्ने निकायलाई समेत राज्यको अस्थिर व्यवहारले सोचेअनुसारको कार्य गर्न दिएको छैन । यो स्वतः राज्यको चरम लापरबाही हो।
जबसम्म राज्यले युवाका सवाललाई पूर्ण रूपमा कार्यान्वयन गर्दैन, तबसम्म युवाहरूले युवा दिवसको दिन मात्र होइन, हरेक दिन राज्यलाई प्रश्न गरिरहनेछन् । बुलन्द आवाज लिएर राज्यको कानमा सुनाइराख्नेछन्। म जस्तै युवाहरूले यो निरीह राज्यलाई हरेक कोणबाट विद्रोह जारी राखिराख्नेछन् । जबसम्म युवाको निम्ति राज्य उत्तरदायित्व बन्दैन, तबसम्म युवा उठिरहनेछन्, बोलिरहनेछन्।
जय युवा, जय देश
साथै २६औं अन्तर्राष्ट्रिय युवा दिवसको सम्पूर्ण युवाहरूमा हार्दिक शुभकामना।















