उहाँका समकक्षी साथीहरूका अनुसार उहाँ सरल स्वभावका धनी र सबै सामु सकारात्मक पक्षमा रहने स्वभाव थियो भन्ने कुरा सुन्नमा पाइन्छ। उहाँ मेरो बुवाको साथी पनि, हामी हिजो एउटै गाविसका र आज एउटै नगरपालिकाका बासिन्दा पनि।
जन्म र मृत्यु शाश्वत सत्य हुन्। एकचोटी जन्म र जन्मपछि अवश्य एकचोटी मृत्यु हुन्छ। उसको भौतिक शरीरको अन्त्य हुन्छ, आत्मा भने मरेको हुँदैन। हाम्रै वरिपरि वायुरूप भएर घुमिरहेको हुन्छ। कोही मानिसको जन्म पनि के कसरी हुन्छ र मृत्यु पनि के कसरी हुन्छ र बिदाइ पनि के कसरी गरिन्छ? त्यसको पनि लेखाजोखा हुन्छ। आ–आफ्नै मूल्य मान्यता छन्।
साविकमा चन्दननाथ पञ्चायत हुँदै चन्दननाथ गाविस र हाल चन्दननाथ नगरपालिका खलंगा जुम्लास्थित भारतीबाडामा उहाँको जन्म आजभन्दा ८३ वर्षअघि अर्थात् वि.सं. २००० सालतिर भएको अनुमान गर्दछु। तिर्थराज भारतीको बाल्यकाल, युवा र प्रौढ अवस्था पनि जुम्लाकै माटोमा बित्यो।
पछिल्लो समयमा जुम्लाको चिसो हावापानी र स्वास्थ्य उपचार गर्न सहज हुने भएकोले बाँकेको राँझा एअरपोर्टमा बस्दै आउनु भएको थियो। मेरो राँझा एअरपोर्टमा जाँदा–आउँदा भेट भइरहन्थ्यो। मेरो बुवा उहाँको संगती भएकोले उहाँले मलाई परबाट देख्नेबित्तिकै नजिकै आएर सञ्चो–बिसञ्चो सोध्दै भलाकुसारी गर्नुहुन्थ्यो। म पनि अग्रज भएकोले सकेसम्म र जानेसम्मको सत्कार र भलिभाँति गर्थे नै।
उहाँको बाल्यकालबारे उति जानकार छैन। म ठूलो हुँदै गएपछि बुझ्दै गएँ। उहाँको स्वभाव सबैसँग नम्र बोल्ने, शिष्ट व्यवहार देखाउने, कहिल्यै पनि कडा र रुखो बोलेको पाइँदैन। उहाँका तीन जना छोरा र एक छोरी हुनुहुन्छ — छोरा जयराज, महेन्द्रराज र गोकर्ण र छोरी टिउकी। उहाँहरू सबैको विवाह पनि भइसकेको छ। उहाँका छोराहरू तिनैले मलाई जहाँ भेट्यो “गुरुज्यू” भनेर आदर र सम्मान पनि गर्नुहुन्छ। सायद बाबुआमाबाट असल संस्कार सिकेर होला।
उहाँ पञ्चायत कालमा २०४३ सालमा चन्दननाथ पञ्चायतको प्रधानपञ्चमा निर्वाचित हुनुभयो भने पञ्चायती व्यवस्थाको अन्त्यपछि नेपाली काँग्रेस पार्टीबाट विजयी भई २०५४ देखि २०५९ सम्म दोस्रो कार्यकालमा चन्दननाथ गाउँ विकास समितिको अध्यक्ष पदमा निर्वाचित हुनुभयो। यही निर्वाचनपछि बिस्तारै उहाँको राजनीतिक यात्रा पनि सुस्ताउँदै गयो।
उहाँका समकक्षी साथीहरूका अनुसार उहाँ सरल स्वभावका धनी र सबै सामु सकारात्मक पक्षमा रहने स्वभाव थियो भन्ने कुरा सुन्नमा पाइन्छ। उहाँ मेरो बुवाको साथी पनि, हामी हिजो एउटै गाविसका र आज एउटै नगरपालिकाका बासिन्दा पनि। उहाँलाई म च. ना. मा. बि. मा पढ्दादेखिनै चिन्दछु। उहाँ चन्दननाथ गाविस हुँदा अध्यक्ष भई काम पनि गर्नु भएको थियो।
चन्दननाथ नगरपालिका वडा नं ४, भारतीबाडा, जुम्लामा उहाँको स्थायी घर हो। हाल केही वर्ष राँझा एअरपोर्ट, बाँकेमा अस्थायी बसोबास गर्दै आउनु भएका पूर्व गा.वि.स. अध्यक्ष, समाजसेवी, हामी सबैका साझा प्रिय व्यक्तित्व हुनुहुन्थ्यो।
उहाँ जेष्ठ नागरिक संघ जिल्ला कार्य समिति जुम्लाका संस्थापक तथा हालसम्मका अध्यक्ष पनि हुनुहुन्थ्यो। चन्दननाथ माध्यमिक विद्यालय, जुम्लाका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भएर अभिभावक, विद्यार्थी र शिक्षकबीचको पुल भएर पनि काम गर्नुभयो।
यसैगरी हामीले प्रत्येक वर्ष मनाउँदै आएको श्रीकृष्ण जन्माष्टमी तथा नवमीको दिन लाखे (कंस) को अन्त्य गर्न कृष्ण भगवानको भूमिकामा जुम्ला खलंगा बजारको बालमन्दिरदेखि चन्दननाथ भैरवनाथ मन्दिर, जिल्ला प्रशासन कार्यालय जुम्ला अगाडिको चौतारीमा नाचेर सबै जुम्लाबासी दर्शकलाई खुशी बनाएको दृश्यले सबै जुम्ली जनताको मन–मस्तिष्कमा अझै बसिरहनु भएको छ।
तात्कालीन रूपमा स्थापित जुम्ला गौँडामा आएर जुम्लीमाथि प्रशासन चलाउने प्रमुखहरूमाथि गाईजात्राको अवसरमा उहाँ र उहाँहरूको टिम मिलेर सरकारका नमिलेका काम–कारबाहीहरूको सुन्दर तरिकाले व्यङ्ग्य गर्नुहुन्थ्यो।
जुम्लाका नेवार जातिहरूले गत वर्षसम्म गाईजात्रा देखाउँदै आएका छन् भने यस वर्ष पनि जात्रा देखाउने काममा निरन्तरता हुने नै छ। गाईजात्रादेखि श्रीकृष्ण जन्माष्टमी र सोको भोलिपल्ट रोपाइँ जात्रा, सिपाही जात्रा, बाघ–भालु मार्ने जात्रा, मुगल सम्राटहरूको सम्म नक्कल गरेर देखाइने मिम बास्सा जात्रा र श्रीकृष्ण लिला सम्म देखाएर कंस अर्थात् दुष्टको एकदिन अवश्य नाश हुने सम्मको जात्रा देखाएर खेतीपाती र गोढाई सकेर बसेका जुम्लीबासीलाई जात्राको माध्यमबाट मनोरञ्जन दिलाउन उहाँ र उहाँहरूको सम्पूर्ण टिम सफल भएको थियो।
मलाई याद छ, उहाँ र उहाँहरूको टिमबाट हुनुपर्छ — २०४३ देखि २०४७ सालसम्म देखाइएका जात्रामा अञ्चलाधीश र प्रमुख जिल्ला अधिकारीसहित सबै कार्यालयका प्रमुखलाई चन्दननाथ मन्दिर अगाडि बोलाई बिउबिजन र प्राविधिक सरसल्लाहको अभावमा किसानले बालीनाली उत्पादन गर्न नसकेको, जुम्लीबासी अझै सल्लाको दियालो बालेर अँध्यारोमा बस्नुपरेको कुरामा व्यङ्ग्य गरिएका थिए।
यस बाहेक, जग्गा बेचेर उपचारको लागि महँगो भाडा तिरेर प्लेन चढेर नेपालगन्ज–काठमाडौं जानु परेको, क्याम्पस नभएर उच्च शिक्षाको लागि राजधानी र सुर्खेत–नेपालगन्ज धाउनु परेको, अनावश्यक प्रहरी ज्यादती सहनु परेको, नागरिकताको लागि ३–४ दिन धाउनु परेको जस्ता थुप्रै विषयमा कार्यालय प्रमुखहरूको अगाडि गाईजात्राको अवसरमा व्यङ्ग्य गरिएका थिए।
श्रीकृष्णको भूमिकामा नाच्ने उहाँलाई यहाँका मानिसहरूले सदा सम्झिरहने छन्। यही २०८२ साल साउन ४ गते दिउँसो करिब ३:०० बजे तिर अस्पतालमै उपचारको क्रममा समाजसेवी तिर्थराज भारतीज्यूको ८३ वर्षको उमेरमा देहवसान भएको छ।
यस्तो दुःखद खबरले हामी सबै स्तब्ध भएका छौँ। उहाँप्रति दुःख प्रकट गर्दै उहाँको वैकुण्ठमा वास होस्, उहाँको आत्माले शान्ति पाओस् भन्दै भावपूर्ण हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजन, आफन्तजन प्रति गहिरो समवेदना समेत व्यक्त गर्दछु।
















