दिपायलस्थित कार्यालयमा हाजिर भई बहसका लागि पुनरावेदन अदालत दिपायलमा मलाई तोकिएका मुद्दाहरूमा बहस–पैरवी गर्न गएको थिएँ। त्यो बेला उक्त अदालतमा माननीय मुख्य न्यायाधीश ईश्वर खतिवडा हुनुहुन्थ्यो। पहिलो दिन भएकोले भेट्न गएको थिएँ। उहाँले आफ्नो च्याम्बरमा बोलाई प्रेमपूर्वक नजिकै सोफामा बसाली पानी र चिया मगाई आतिथ्य गर्नुभयो। उहाँको नजिक अर्का माननीय न्यायाधीश हिमालयराज पाठक पनि हुनुहुन्थ्यो। हामी सबैले गफिँदै पानी र चिया पियौँ।
२०७० साल असोजमा जिल्ला सरकारी वकिल कार्यालय मुगुमा पदस्थापन भएपछि हाजिर हुन असोजमा मुगु गएको थिएँ। मंसिरमा चुनाव हुने भएपछि मलाई जिल्ला न्यायाधीश हरिप्रसाद शर्मा पंगेनी श्रीमानले अनुगमन अधिकृतमा नियुक्त गर्नुभएको थियो। म लामो समय यसअघि पनि मुगु बसेको हुनाले चुनावमा कर्मचारी खटाउने र व्यवस्थापन गर्ने कार्य त्यति कठिन भएन। शान्ति सुरक्षातर्फ पनि असहजता भएन।
मुगुमा बसेको १० महिना हुँदै थियो। बकपत्र गराउन साक्षीलाई जिल्ला अदालतमा ल्याएपछि मुगु जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश हरिप्रसाद शर्मा पंगेनीले कर्तव्य ज्यान मुद्दामा उपस्थित गराइएका साक्षीलाई मुलुकी ऐन २०२०, अदालती बन्दोबस्तको १३९ नम्बरको आधार लिई फौजदारी मुद्दामा पनि देवानी मुद्दा सरह साक्षीलाई प्रतिवादी बनाउन सकिने भन्दै प्रतिवादी बनाई सरकारी साक्षीको बयान लिई थुनछेक आदेश गर्नुभएको थियो।
यो आदेश बदर गराई साक्षीलाई बकपत्र नै गराउनुपर्छ भनी मुलुकी ऐन २०२०, अदालती बन्दोबस्तको १७ नम्बर बमोजिम उच्च अदालत जुम्लामा तत्काल निवेदन दर्ता गराएँ। निवेदन दर्ता भएपछि सो आदेश बदर भएको थियो। सरकारी वकिलले बकपत्र गराउने कार्यमा व्यवस्थापन गर्न नसकेको भन्ने आधारमा मलाई काजमा खटाइएको थियो।
एकातिर प्रचण्ड रापिलो, उखरमाउलो गर्मी, अर्कोतिर असार महिनाको दर्के झरी, कतै बाढी–पहिरो, कतै हुस्सु र बादल, कतै अप्ठ्यारा गौँडा–गल्छेउडा, वर्षात् र बर्खासँगै शुरु भएको बेलामा बाढी–पहिरो आइरहने सुदूरपश्चिम भरिकै दुख मानिने खतरा भासु भिरको यात्रा, ती सबैलाई एकसाथ चिर्दै चुनौतीपूर्ण यात्रालाई मनोरम सम्झिँदै अपि र शैपाल हिमालको दृश्यावलोकन र सुदूरपश्चिमका सुन्दर डाँडाकाँडा एवं बस्तीहरू हेर्दै अनुपम आनन्दको अनुभूति गर्दै दिपायल हाजिर भएँ।
कसूरदार हो भनी अभियोग नलगाइएका मानिसलाई अदालतको अनुमति बिना कसैलाई पक्राउ गर्न वा थुनामा राख्न मिल्दैन। यही मुद्दामा अनुसन्धान गर्दा यिनै न्यायाधीशले अन्य प्रतिवादीलाई पक्राउ गर्ने अनुमति र अनुसन्धान गर्ने म्याद दिइरहनुभएको थियो। आशंका लागे म्याद थप अनुमतिमा कडाइ गर्नुपर्थ्यो। मुद्दा लगाउनुपर्नेलाई नलगाए त्यस्ता सरकारी वकिललाई माथिल्लो निकायले बदनियत गरेको भनी कारबाही गर्न सक्थ्यो। यति कुरामा पनि न्यायाधीशज्यूको ध्यान पुग्न सकेन। दाबी नलिएको कुरामा हात हाल्नुहुँदैन भन्ने कुरामा पनि ध्यान पु¥याउन सक्नुभएन।
न्यायाधीश पंगेनीलाई सर्वोच्च अदालतले उक्त आदेश गैरकानुनी भए पनि मुगु जस्तो पछाडिएको ठाउँबाट अन्यत्र काज खटाउन वा तत्काल कारबाही गर्न उपयुक्त छैन भन्ने आधार लिई कुनै कारबाही गरेन।
मलाई कार्यालय प्रमुखको भूमिकाबाट सहायक बनाएर तत्काल जेठको अन्तिम साता काजमा उच्च सरकारी वकिल कार्यालय दिपायलमा खटाइयो। मलाई महान्यायाधिवक्ताको कार्यालयले जे सोचेर काज खटाएको भए पनि त्यसलाई मैले कार्य सम्पादन र निजी जीवनका लागि एक महत्त्वपूर्ण अवसरको रूपमा लिएँ।
निमुखा कर्मचारीलाई हठात् सफाइको मौका नदिई त्यो बेलामा गरिएको काज सरुवा निरङ्कुश शैलीको एक पराकाष्ठा थियो। एक सोझा कर्मचारी जो दुर्गम ठाउँमा अत्यन्त मेहनतका साथ हिउँ, झरी, जाडो, ठण्डी नभनी काम गरेको छ, त्यस्ता जनशक्तिलाई प्रोत्साहन र हौसला दिई पुरस्कृत गर्नुपर्नेमा मनोबल गिराउने गरी काज सरुवा गरियो। निर्धोको सहारा दैव भनेझैं तत्कालीन महान्यायाधिवक्ताले सजाय दिए पनि पछि आउने महान्यायाधिवक्ता र नायबले मेरो कार्य सम्पादनको उच्च सम्मान गर्नुभएको थियो।
त्यस्तो दुर्गम ठाउँमा यथार्थता र वास्तविकता नबुझी अविवेकी निर्णय गरी तत्काल रमाना लिन बाध्य पारेर काज खटाइनुले त्यो मेरो जीवनको सङ्घर्षको समयको रूपमा रह्यो। अर्कोतिर मेरो इमानदारीको पुष्टि गर्ने मौका पनि प्राप्त भएको थियो।
दिपायलस्थित कार्यालयमा हाजिर भई बहसका लागि पुनरावेदन अदालत दिपायलमा मलाई तोकिएका मुद्दाहरूमा बहस–पैरवी गर्न गएको थिएँ। त्यो बेला उक्त अदालतमा माननीय मुख्य न्यायाधीश ईश्वर खतिवडा हुनुहुन्थ्यो। पहिलो दिन भएकोले भेट्न गएको थिएँ। उहाँले आफ्नो च्याम्बरमा बोलाई प्रेमपूर्वक नजिकै सोफामा बसाली पानी र चिया मगाई आतिथ्य गर्नुभयो। उहाँको नजिक अर्का माननीय न्यायाधीश हिमालयराज पाठक पनि हुनुहुन्थ्यो। हामी सबैले गफिँदै पानी र चिया पियौँ।
चिया गफमा वास्तवमा मुगुमा के भएको थियो? र तपाईंलाई किन यहाँ पठायो, देवकोटाजी? यसरी असारको अन्त्यमा हाजिर हुन आउनुभयो। साउनमा आए पनि त हुन्थ्यो।
उहाँको यो सोधाइ जिज्ञासा र कौतुहलपूर्ण थियो। मैले बेलिविस्तार लगाएँ। उहाँले उक्त निर्णयलाई केही भन्नुभएन। बरु यथार्थता बुझी काज गरेको भए राम्रो हुन्थ्यो मात्र भन्नुभयो। मैले असार बिताएर आएको भए कार्य सम्पादन मुगुबाट भरी उच्च सरकारी वकिल कार्यालय जुम्लामा पेश गर्नुपर्थ्यो, कहिलेकाहीँ कार्य सम्पादन मूल्याङ्कन बिगार्न सक्थे। यही कारण जुम्लामा पेश नगरी दिपायलमा पेश गर्न उपयुक्त लाग्यो।
मैले उहाँसँग १/२ वटा जिज्ञासा राखेँ– के दिपायल, डोटी एवं दुर्गम क्षेत्रमा जागिर खान आउने कर्मचारीले सजाय पाएर मात्र आउँछन् र? कि कत्तिपनि पहुँच नहुने कर्मचारीको साधनास्थल हो र, श्रीमान्? यसरी गरिने निर्णयबाट कर्मचारीले सेवा प्रवाहमा कत्तिको प्रभावकारिता ल्याउन सक्छ?
उहाँ मेरा कौतुहल र जिज्ञासापूर्ण कुराले भावुक बन्नुभयो। हो, देवकोटाजी! उच्च व्यवस्थापनले सतर्कता र विवेक पुर्याएन भने यस्ता निर्णयले चौतर्फी असर पुर्याउन सक्छ। कर्मचारीको मनोबल कमजोर हुने गर्दछ। यदि विवेकशील निर्णय भएको भए स्वयं कर्मचारीले आफूलाई सुधारेर आफ्नो जीवन र भावी व्यवसायिक यात्रालाई स्वर्णिम बनाउँछ।
तपाईंले भने जस्तै सोच्ने हो भने मलगायत अन्य श्रीमानहरू र यहाँ अदालतमा काम गर्ने सबै कर्मचारीहरू कारबाहीको रूपमा आएको मानिन्छ। हामी कारबाहीको रूपमा आएका होइनौँ। म जस्तै हामी सबै कारबाहीको रूपमा नभई नयाँ ठाउँमा देश दर्शन गर्ने अवसर पाएर आएका हौँ भन्ने सोच राखी पवित्र भावले काम गर्नुपर्छ। हामी सबैले सकारात्मक भाव राखी काम गरेका छौँ भन्नुभयो।
देवकोटाजी! यसलाई सजाय नसम्झी भविष्यका लागि सुनौलो अवसर हो भन्ने सम्झिनुहोस् भन्दै माता शैलेश्वरीको दर्शन गरी आफूलाई पवित्र, शान्त र खुसी बनाउनुहोस् भन्नुभयो। त्यसपछि मैले पनि सकारात्मक सोच राखी मेरो सेवाको आवश्यकता दिपायल मात्र नभई सुदूरपश्चिमभरिका जनतालाई रहेछ भन्ने सोचेर खुसीले काम गर्न थालेँ। वास्तवमा मेरो उत्कण्ठालाई ईश्वर श्रीमानले अप्रसन गरी निकालेर फालेझैँ गर्नुभएको थियो।
वास्तवमा दिपायलको सुन्दर शान्त वातावरण, पहाडी सौन्दर्य, विशाल सेती नदीको मनमोहक बहावले मलाई दिनप्रतिदिन आनन्दसँगै सान्त्वना पनि दिइरहेको थियो। सेती नदीको पुलमा बसेर समय–समयमा त्यसको बहाव हेर्दा र सेती नदीको सुसेली सुन्दा स्वर्गको टुक्राझैँ लाग्थ्यो। यहाँको शान्त र साधारण जीवनशैली, एक–आपसमा मिलेर बस्ने मौलिक परम्पराले मलाई अत्यन्त मन पर्यो।
नेपाल एयरलाइन्स, साविकमा रोयल नेपाल एयरलाइन्स लेखिएको ट्विन अट्टर प्लेनमा बसी राजधानी काठमाडौँबाट धादिङ, गोरखा, कास्की, पर्वतमा रहेका माछापुच्छ्रे र धवलागिरि जस्ता अग्ला, सेताम्य चाँदीझैँ टल्केका हिमालको दृश्यावलोकन गर्दै महाभारत र चुरे भावरका शृङ्खला, चितवन, बुटवल र दाङका समथर फाँटहरू हेर्दै नेपालगन्ज एयरपोर्टमा ओर्लिनुको अर्कै मज्जा हुन्थ्यो।
डोटीस्थित दिपायल एयरपोर्ट मलाई एकताका व्यस्त र रमाइलो बन्दै गएकोमा प्रयोगमा नआएर बाँझिएकोमा उदेक र नरमाइलो लागिरह्यो। कैयौँपटक शाही नेपाल वायुसेवा निगमको प्लेन चढी काठमाडौँ–नेपालगन्ज र नेपालगन्ज–काठमाडौँ प्लेनमा यात्रा गरेर थुप्रै आनन्द लिएको छु।
शानै–शानै प्लेनले सेवा प्रवाह गरिरहेको दिपायल एयरपोर्ट बाँझिएर घाँसे मैदानमा परिणत भई काठमाडौँदेखि दिपायलसम्म र नेपालगन्जदेखि दिपायलसम्मको प्लेनमा यात्रा गरी नयाँ मुलुकको रूपमा रहेका बाँके, बर्दिया, बर्दिया राष्ट्रिय निकुञ्ज, कैलालीस्थित टिकापुर, धनगढी, डडेलधुरा र दिपायल, जो डोटीको बीच–बीच बग्ने सेती नदीको दृश्यावलोकन गर्न नपाउँदा भने दिपायल–डोटी बसाइ अधुरो र अपूरो जस्तै अनुभूति भयो।
दिपायल ऐतिहासिक, धार्मिक, सांस्कृतिक, भौगोलिक रूपमा साँच्चिकै सुदूरपश्चिमको सुन्दर र महत्त्वपूर्ण नगरीभित्र पर्दछ। राजा दिलिपको नामबाट अपभ्रंश हुँदै दिपाइल हुँदै दिपायल भएको किंवदन्ती पनि सुन्न पाइन्छ। सुदूरपश्चिमका पवित्र र प्रमुख धार्मिक स्थलको रूपमा मानिने शैलेश्वरी भगवती मन्दिर पनि दिपायल नजिकैको परिधि सिलगढीमा पर्दछ।
वि.सं. २०७२, २०७८ र २०७९ सालको माघी सङ्क्रान्तिको दिनमा यस दिपायलस्थित सेती नदीमा नुहाएर पवित्र बन्ने अवसर पनि प्राप्त भएकोले आफूलाई भाग्यमानी सम्झिरहेको छु।
चौध महिनाको बसाइमा तीनजना उपन्यायाधिवक्तालाई प्रमुखको रूपमा बेहोर्नुपर्यो– दशरथ गौतम, उहाँभन्दा अघि उपन्यायाधिवक्ता बाबुराम अधिकारी ७/८ महिना प्रमुख भएर बस्नुभएको रहेछ।
दशरथ गौतमपछि उपन्यायाधिवक्ता रमेश शर्मा पौडेललाई पठाइयो। उहाँ त्यही कार्यरत रहँदा जिल्ला न्यायाधीशमा सिफारिस भएपछि उपन्यायाधिवक्ता दमनसिंह विष्टले कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको थियो।
माननीय मुख्य न्यायाधीश ईश्वर खतिवडापछि दीपक कुमार कार्की मुख्य न्यायाधीशको रूपमा आउनुभयो। सरल, शिष्ट स्वभाव, मृदुभाषी, कहिल्यै पनि उत्तेजना र आवेगमा नआउने कार्की श्रीमानको प्रायः इजलासमा म बहस–पैरवी गर्न गइरहन्थेँ।
कहिलेकाहीँ कुनै विषयमा विवाद भएर कानुनी उपचारका लागि पक्षको तर्फबाट तिनै कानुन व्यवसायीहरू बहस–पैरवी गर्न आउँथे। तिनै कानुन व्यवसायीहरूबीच हात हाल्ने जस्तो विवाद हुन्थ्यो। एकदिन अधिवक्ता प्रयागराज भट्ट र अधिवक्ता रणबहादुर सिंहबीच इजलासमा विवाद भयो। मुख्य श्रीमान दीपक कुमार कार्कीज्यूले सम्झाएर बहसलाई व्यवस्थापन गर्नुभयो।
कहिलेकाहीँ सरकारी वकिल र कानुन व्यवसायीबीच घम्साघम्सी पर्थ्यो। एकचोटि यो पङ्क्तिकार यस्तै कर्तव्य ज्यान, जवरजस्ती करणी र लागूऔषध ओसार–पसारका मुद्दाहरूमा बहस गर्दै थिएँ। जघन्य र गम्भीर प्रकृतिका मुद्दाहरूमा पीडितको तर्फबाट बहस–पैरवी गर्दा यस्तो घम्साघम्सी सहनुपरेको थियो।
एकपटक तत्कालीन अधिवक्ता प्रयागराज भट्टले मेरो बहसमा नियमापत्ति गर्नुभयो। बहसमा मैले कुनै कानुनको मूल्य–मान्यता रहेको उखान प्रयोग गरेको थिएँ। कार्की श्रीमानले सान्दर्भिक उखान भएकोले नियमापत्ति गर्न नपर्ने भनी सहजीकरण गरिदिनुभएको थियो। कार्की श्रीमान जहिल्यै पनि पाइला–पाइलामा काममा सतर्क रहनुपर्ने भनी सबैलाई सम्झाइरहनुहुन्थ्यो।
२०७२ साल वैशाख १२ गते शनिबारको दिन भएकोले खाना खाएर भर्खर निदाएको के थिएँ, अचानक खाट ढल्ने गरी हल्लियो, झ्यालका पल्ला हल्लिए। घर नै कड्केर चर्कियो। मेरो सातो गयो। भूकम्प आएको रहेछ, बिहान १२ बजेको आसपासमा। माथिल्लो तलामा थिएँ, कुदेर बाहिर निस्केँ। घर त रेडलिस्टमा पर्नेगरी चर्किएको रहेछ।
अन्तमा, प्रायः उपन्यायाधिवक्ता बिदामा बस्दा एक्लै पुनरावेदन दर्ता, बकपत्र, रिट निवेदन, बेरितका निवेदन र पुनरावेदनका विविध विषयका मुद्दाहरूमा बहस गरिरहनुपर्थ्यो। चौध महिनापछि २०७२ भाद्रमा बाँकेमा सरुवा भयो। एक महान्यायाधिवक्ताज्यूले दण्डित गरेर मुगुबाट दिपायल पुर्याए पनि अर्का महान्यायाधिवक्ता र महान्यायाधिवक्ता कार्यालयको उच्च प्रशासकीय टोलीले कामको उच्च मूल्याङ्कन गरेर जिल्ला सरकारी वकिल कार्यालय बाँके जस्तो अत्यन्त कार्य व्यस्तता हुने ठाउँमा सरुवा गरेको थियो।
कामको सही मूल्याङ्कनका लागि सबैमा आभार व्यक्त गर्दछु।
(“प्रशान्त” २०८२/३/१४ शनिबार।)















