झार उखेलेजस्तो गरेर पैसा बुझ्ने क्रम जारी छ। देशमा ७७ जिल्ला छन्, तर ७४ जिल्लाकै जनता तीन जिल्लामा आएर थुप्रिएका छन्। गाउँ खाली, शहर भरी, काम नहुँदा जो पनि टिकटकमा दिनभर। दुख गर्न कोही नखोज्ने, जसले गर्दा सबै विदेशमा भर पर्नुपरेको छ।
सार्वजनिक ठाउँ सबैको साझा हो। आकाशे पुल, मठमन्दिर, सडक, फुटपाथमा कसैलाई अवरोध गर्न पाइँदैन। अवरोध गरेमा कानुनबमोजिम कारबाही भोग्नुपर्छ। तर, पछिल्लो समय व्यक्तिहरूले कानुन नबुझेको हो कि अटेरेको ? बुझ्नै मुश्किल छ। पैदलयात्रीको आवतजावत भइरहने आकाशे पुल, फुटपाथ, सडकमा जताततै टिकटक बनाइरहेको देखिन्छ।
बाटो छेकेर टिकटक बनाइन्छ। जसका कारण पैदलयात्रीलाई हिँड्न साह्रै सास्ती छ। मठमन्दिरको ढोकैमा टिकटक बनाइरहेको पाइन्छ। मानिसलाई एक मिनेट समयको पनि महत्त्व हुन्छ। कोही कार्यालय हिँडेका हुन्छन्, कोही अस्पताल। कोही कतै जान लागेका हुन्छन्। यस्तोमा ‘टिकटके’हरूका कारण उनीहरू समस्यामा पर्ने गरेका छन्।
एउटाले मोबाइल समाउने, अर्कोले आकाशे पुल छेकेर बुरुकबुरुक उफ्रने। आफ्नो कारणले अरूलाई कति असर पर्ला ? सर्वसाधारणलाई कति असजिलो होला ? समाजमा कस्तो प्रभाव पर्ला ? कसैलाई मतलब नै छैन। बस्, बाटो छेकेर उफ्रिन पाए पुग्यो। भनिन्छ, ‘आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारको हनन गर्नुहुँदैन।’
विद्यालयमा सानै कक्षादेखि यो पाठ सिकाइँदै आइएको छ। तर, यहाँ कसैलाई मतलब नै छैन। बूढापाकाले भन्थे, ‘बाँदरको हातमा नरिवल।’ अहिले त्यस्तै भएको छ। नेपालीको हातमा मोबाइल बाँदरको हातमा नरिवलजस्तै भएको छ। काम नगर्ने, दिनभर टिकटक बनाउने अनि काममा हिँडेकालाई पनि दुख दिने।
आकाशे पुल, सडक, फुटपाथ टिकटक बनाउने ठाउँ होइन। यहाँ जतिबेला पनि पैदलयात्रीको आवतजावत भइरहन्छ। अनि उनीहरूले टिकटक बनाउँदासम्म अरूले कुरेर बसिदिनुपर्ने ? आफ्नो कला देखाउनु राम्रो कुरा हो। तर, जतिबेला पनि टिकटकमै झुम्मिँदा यसले समयको बर्बादी गर्छ।
एकातिर टिकटक बनाउनेको समय त खेर जान्छ नै, अर्कोतिर हेर्नेले पनि घण्टौंसम्म समय त्यत्तिकै खेर फाल्छ। पछिल्लो समय कसैलाई पनि सार्वजनिक काममा चासो र रुचि छैन। टिकटक हेरेर घण्टौंसम्म समय खेर फाल्नेहरूले सार्वजनिक काम गरे भने देशलाई कति फाइदा होला ?
घण्टौंसम्म टिकटक बनाउँदा पढाइ वा व्यक्तिगत कामकाजमा समय दिएको भए, त्यसले व्यक्तिलाई नै फाइदा पुग्ने थियो। गायक कुमार बस्नेतले एउटा गीत गाएका थिए, ‘छोरीभन्दा आमा तरुनी, क्रिम पाउडरले।’ आजकल त वृद्ध महिलाहरूले पनि छोटा–छोटा लुगा लगाएर टिकटक बनाउन थालेका छन्।
छोरा–चौरी बिहे, नातिनातिनी भइसकेका महिलाहरूले टन्न क्रिम पाउडर धसेर छोटा पहिरनमा टिकटक बनाउँछन्। यसले समाज कता जाँदैछ ? अर्कोतिर, महिलाहरूले टिकटकमा अङ्ग प्रदर्शन गर्न थालेका छन्। छाडा भिडियोहरू टिकटकमा राखेर समाजमा नकारात्मक प्रभाव फैलाउँदैछ।
विडम्बना, सरोकारवाला निकायलाई यसको नियमनमा कुनै चासो छैन। अभिभावकहरू आफू त टिकटक बनाउँछन् नै, स–साना बालबालिकालाई पनि सिकाउँछन्। बालबालिकाले जे सिकाइन्छ, त्यही सिक्छन्। टिकटक बनाउन र हेर्न सिकाउनुको सट्टा पढ्न, खेलकुद सिकाएको भए कति राम्रो हुन्थ्यो।
त्यसले उनीहरूलाई पनि फाइदा पुग्थ्यो, समाज र राष्ट्रलाई पनि। अमेरिका, अष्ट्रेलियालगायतका पश्चिमी मुलुकमा घण्टाको हिसाबले तलब दिइन्छ। एक सेकेन्ड मात्र काममा ढिलो पुग्यो भने त्यो दिन कामै दिइँदैन। यहाँजस्तो मासिक तलब हुँदैन। त्यसैले उनीहरूलाई समयको निकै महत्त्व छ।
टिकटक बनाउनुको सट्टा उनीहरू काम गर्छन्। त्यसैले त त्यहाँ विकास भएको छ। अमेरिकाका पूर्वरराष्ट्रपति बाराक ओबामाले दिनभर आफ्नो जिम्मेवारी सम्हाल्थे, राति काम गर्न जान्थे। उनीहरूसँग खेर फाल्ने समय नै हुँदैन। तर, हामीकहाँ त मासिक तलबको चलन छ। काम गरे पनि नगरे पनि महिनाको तलब आइहाल्छ।
त्यसैले नेपालीको बानी बिग्रियो। उनीहरूले समयको महत्त्व बुझ्नै सकेनन्। हुन त देशका प्रधानमन्त्री नै टिकटकको रटान लगाएर बसेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशको वास्ता छैन। टिकटकरहरूसँग भेटघाट गरेर बस्छन्। बालुवाटारमा र्याप सुनछन्। देशको प्रतिभा भन्दै टिकटकरहरूलाई प्रोत्साहन गर्छन्।
तर, जनताको दुख–पीडा बोकेर आएकासँग भेटघाट गर्न उनलाई फुर्सद छैन। देशका नेता र जनता उस्तै–अल्छी। २७ खर्ब रुपयाँ वैदेशिक ऋण पुगिसकेको छ, सरकार अझै ‘चिल’ अवस्थामा छ। जनता आफ्नो भविष्य बिर्सेर टिकटक बनाउनमै व्यस्त छन्।
एउटा उखान छ, ‘असारमा मुठी रोपेर मुरी फलाउने समय हो।’ असारमा रातभर खेतीपाती गरेर मंसिरमा फलेको अन्नले वर्षभरि खान पुग्छ। विडम्बना, गाउँको खेतबारी बाँझो छ। घर र खलानमा ताला लागेको छ। आँगनमा झार उम्रिएको छ। एक आनादेखि तीन आनासम्म काठमाडौँमा घर बनायो, भाडामा लगायो।
भाडाले खान पुगिहाल्छ, अनि काम कसले गर्ने ? उनीहरूसँग समय नै समय छ। काम नहुँदा सार्वजनिक ठाउँमा आयो, टिकटक बनायो। यस्तरी देश विकास हुन्छ ? नेता पनि आफ्नो धुनमा मस्त, जनता पनि। सार्वजनिक काम गर्नुपर्छ, फुर्सदको समयमा श्रमदान गर्नुपर्छ भन्ने कुरा देशका नेतृत्वले जनतालाई सिकाउन सकेनन्।
पहिले–पहिले मानिसहरू सार्वजनिक काममा केन्द्रित हुन्थे। बाटो, तालपोखरी, चौतारा बनाइन्थ्यो। सबै मिलेर सडकजस्ता सार्वजनिक स्थलको सरसफाइ गरिन्थ्यो। तर, अहिले त्यस्तो छैन। अहिले कतिपयलाई त सार्वजनिक काम र श्रमदान भनेको थाहा नै छैन होला।
जनताले श्रमदान गरिरहेका थिए, नेतृत्वले आफ्ना आफन्त र कार्यकर्ता पोस्न ‘प्रधानमन्त्री रोजगारी कार्यक्रम’ ल्याए। यसमा वर्षेनी ८० अर्ब रुपयाँ स्वाहा हुँदै आएको छ। यो कायजा्कममा वास्तविक बेरोजगार होइन, पहुँचवालालाई समेटिदै आएको छ। पहुँचले काम पाउँछन्, दिनभर हल्लिएर बस्छन्।
झार उखेलेजस्तो गरेर पैसा बुझ्ने क्रम जारी छ। देशमा ७७ जिल्ला छन्, तर ७४ जिल्लाकै जनता तीन जिल्लामा आएर थुप्रिएका छन्। गाउँ खाली, शहर भरी, काम नहुँदा जो पनि टिकटकमा दिनभर। दुख गर्न कोही नखोज्ने, जसले गर्दा सबै विदेशमा भर पर्नुपरेको छ।
राज्यले जनतालाई आत्मरनिर्भर बनाउनुको सट्टा परनिर्भर बनायो।। हुन त राज्य आफैं पनि परनिर्भर छ। सरकारले जनतालाई काम गर्नुपर्छ, समयको ख्याल गर्नेको भविष्य उज्ज्वल हुन्छ भनेर सिकाउन सकेन।
एउटाले कमाउने, परिवारले बसीबसी खाने क्रम चलिरहेक। बस्ने, खाने, हल्लने र टिकटक बनाउनेमै नेपालीको दिन बितिरहेको छ। कामकाज नहुँदा नेपाली जनता ‘बोइलर कुखुरा’ जस्तै हुन थालेका छन्। जो पनि रोगी। देशमा रोगीको संख्या बढ्नुको प्रमुख कारण यही नै देखिन्छ।
पछिल्लो समय त सरकारी कर्मचारी पनि टिकटकमा झुम्मिन थालेका छन्। ड्रेसमै टिकटक बनाइरहेका छन्। अनि कसरी समाज सुध्रिन्छ ? जनतलाई सेवा दिन छोडेर सरकारी कर्मचारी टिकटक बनाइरहेका छन्। सरकारले त्यस्ता कर्मचारीलाई कारबाही गर्नुपर्छ कि पर्दैन ?
सरकारी कार्यालय टिकटक बनाउने ठाउँ हो ? टिकटक बनाउन उनीहरूलाई तलब दिएको हो ? सरकारको ऐन–कानुनलाई सरकारी कर्मचारीले नै धोती लगाएका छन्। कर्मचारीहरू त्यस्ता छन्, जनताले के सिक्छन् ? नेता र कर्मचारी बिग्रिएपछि जनता बिग्रनु स्वाभाविक नै हो।
भनिन्छ, ‘जस्तो बा, त्यस्तै छोरा।’ अहिलेको अवस्था ठ्याक्कै त्यस्तै छ।