सोमबार, २ असार, २०८२

पुरुषको नजरमा नारीहरू

उनको पहिरनले भन्दा नजर, बोली र व्यवहारले उनलाई चिनाउँछ। उनले कहिल्यै परपुरुषको ध्यान तान्न खोज्दिनन्, बरु आफ्नो दृष्टि झुकाएर अरूलाई सम्मान दिन जान्दछिन्।

आज धेरै नारीहरू आफूलाई सुन्दरताको नाममा परपुरुषको नजरमा रमाइलो वस्तु बनाउँदै छन्। उनीहरू सोच्छन् कि हेर्ने, मुस्कुराउने र मन पराउनेहरूको सङ्ख्या नै आफ्नो मूल्य हो।

तर ती नजरहरू श्रद्धाका हुँदैनन्, ती क्षणिक र उपभोगका लागि हुने दृष्टि हुन्, जो भोलिपल्ट अर्कै मोहमा हराउँछन्।

भीडमा दुई प्रकारका नारीहरू देखिन्छन्। एक, जसलाई माया प्राप्त भइरहेकै हुन्छ, तर उनी परपुरुषको सङ्गतमा रमाउँछिन्। अर्की, जसले कहिल्यै माया नपाए पनि घरको मेरुदण्ड बनेर धर्म निभाइरहेकी हुन्छिन्।

साँचो नारी त्यो हो, जो सधैँ लाज, मर्यादा र संस्कार बोकेर हिँड्छिन्। उनको पहिरनले भन्दा नजर, बोली र व्यवहारले उनलाई चिनाउँछ। उनले कहिल्यै परपुरुषको ध्यान तान्न खोज्दिनन्, बरु आफ्नो दृष्टि झुकाएर अरूलाई सम्मान दिन जान्दछिन्।

यस्ती नारी जहाँ जान्छिन्, त्यहाँ शान्ति फैलिन्छ। उनले आमाबुबाको शिर गर्वले उचाल्छिन् र श्रीमान्का लागि साथ मात्र होइन, आत्माको आधार बनिदिन्छिन्। सज्जनता, सहनशीलता र स्वाभिमान उनमा स्वाभाविक हुन्छ।

तर समाजमा अर्को दृश्य पनि देखिन्छ, जहाँ महिलाहरूले छोटा कपडालाई स्वतन्त्रता ठान्छन्। उनीहरू सोच्छन् कि जति शरीर प्रदर्शन गरियो, त्यति नै विचार खुला हुन्छ। तर यो सशक्तीकरण होइन, यो आफैँलाई वस्तु बनाउनु हो।

एउटा पुरुषको नजरमा अङ्ग प्रदर्शन गर्दा तिमी उसको नजरमा त पर्छौ, तर उसको मनमा कहिल्यै पर्दैनौ, यो ध्रुवसत्य हो। उसले तिमीलाई नजरमा त राख्छ, तर मनमा कदापि राख्दैन।

तिमीसँग उसको चाहना केवल यौन आनन्दसँग जोडिएको हुन्छ। जीवनभर साथ दिनका लागि उसको मनमा सधैँ संस्कारी र सभ्य नारी आउँछिन्। शरीरले आकर्षण त पाउन सकिन्छ, तर सम्मान कहिल्यै किन्न सकिँदैन।

नारीत्वको अर्थ हो, घर बनाउने, परिवार जोड्ने र समाजमा इज्जत बोकेर हिँड्ने। यस्ती नारी आफ्ना सपनाहरूसँगै आमाबुबाको सपनाको पनि जिम्मेवार हुन्छिन्।

अन्तमा, यदि बाटोमा ठेस लाग्छ भने नजर उठाउन सिक्नुपर्छ, ढुङ्गालाई दोष दिएर होइन, आफू सचेत भएर अगाडि बढ्नुपर्छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार