सोमबार, २ असार, २०८२

नवराज विकको निर्मम हत्या: प्रेम, विभेद र अन्यायको कथा

हामी प्रश्न गरिरहन्छौँ, तर उत्तर दिनेहरू मौन छन्। उल्टै हाम्रो आवाजलाई दबाउन अनेकथरी जालझेल बुन्छन्। अपराधीहरू खुलेआम छन् र पीडितको इतिहास बिर्साउने खेल सुरु भइरहेको छ। तर नवराजहरू फेरि मर्नुहुँदैन।

२०६२/६३ को आन्दोलनले ल्याएको परिवर्तनको सन्देश थियो, अब सबै समान छन्। संविधान आयो, जसले जातीय समानता, अवसरको पहुँच र अधिकारको समावेशीताको ग्यारेन्टी गर्‍यो। तर आज जब एउटा दलित युवाले आफ्नो प्रेम अभिव्यक्त गर्छ, उसको शव नदीमा बगाइन्छ।

यो हाम्रो संविधानको ठूलो पराजय हो। नवराज विक नाम हो त्यो युवा सपनाको, जुन जातको भारीले थिचियो। नवराज विक नाम हो त्यो उत्साहको, जसलाई यो घमण्डी समाजले कुल्चियो। साँच्चै, यो अन्यायको उदाहरण हो, जुन कानुनी प्रणालीको आँखाअगाडि भयो।

यो घटनाले के देखायो त? संविधान सबैका लागि छैन। कानुन अझै पनि जात हेर्छ। पहुँचवालाको अपराध दुर्घटना ठहरिन्छ। दलितको प्रेम अपराध ठहरिन्छ।

आज भन्दन छ वर्ष अगाडि रुकुम पश्चिमको त्यो रात केवल हत्या मात्र थिएन। त्यो प्रेमको हत्या थियो, संविधानको हत्या थियो, लोकतन्त्रको हत्या थियो।

किन मौन छन् राज्यका निकायहरू? किन ढिलो हुन्छ अनुसन्धान? किन समाजले उच्च जातलाई सफाइ दिन्छ? किन संसद्, जसले समानताको कुरा गर्छ, प्रश्न गर्दैन? र हामी जनता के गरिरहेका छौँ—फेसबुकमा स्टाटस लेखेर चुप लाग्छौँ? किन आज पनि आवाज उठाउन हिचकिचाउँछौँ?

नवराज मात्र मरेनन्, मरे हजारौँ आवाजहरू। कानुन अझै के हेरेर बसेको छ? किन बुझ्दैनन् ती मानिसहरू, जो आज पनि भन्छन्, यो जातीय हत्या होइन? आखिर के हो त? प्रेम गर्नु अपराध हो? जातको नाममा ज्यान गुमाउनुपर्छ? मृतकको संस्कारभन्दा पहिले दोषीलाई सफाइ दिनुपर्छ?

नवराज विकका आमा-बुबा रोइरहेका छन्। तर त्यो रुवाइ हजारौँ दलित आमा-बुबाको प्रतिनिधि रुवाइ हो। जसका छोराछोरी आज पनि कोठा खोज्दा “जात के हो?” भन्ने सुन्छन्, समाजमा अपमान सहन्छन्, प्रेम गरे ज्यान गुमाउँछन्।

यो समस्या नवराजको मात्र होइन। यो हाम्रो समाजको खोक्रोपनको समस्या हो। यो कानुनको मौनताको समस्या हो। यो कानुनको लापरबाहीको समस्या हो।

नेपालको कानुन किन केवल पहुँचवालाका लागि? किन गरिबको ज्यान सस्तो हुन्छ? किन कानुनले दोषीभन्दा पहिले पीडितको जात हेर्छ? कहिले पाउने नवराजजस्ता हजारौँ युवा-युवतीका आमा-बुबाले न्याय?

हामी प्रश्न गरिरहन्छौँ, तर उत्तर दिनेहरू मौन छन्। उल्टै हाम्रो आवाजलाई दबाउन अनेकथरी जालझेल बुन्छन्। अपराधीहरू खुलेआम छन् र पीडितको इतिहास बिर्साउने खेल सुरु भइरहेको छ। तर नवराजहरू फेरि मर्नुहुँदैन।

अब कानुनको आँखाले जात होइन, न्याय हेर्नुपर्छ। अब हाम्रो समाजले आवाज दबाउने होइन, न्याय दिलाउने बाटो बनाउनुपर्छ। किनभने यो देश सबैको हो, ब्राह्मणको मात्र होइन, विकको पनि हो; कतिथ माथिल्लोको मात्र होइन, तल्लोको पनि हो; धनीको मात्र होइन, गरिबको पनि हो।

नवराजको हत्या बिर्साउन खोज्नेहरू, तपाईंहरू कानुनको विपरीत हुनुहुन्छ। हामी सही बाटोमा कलम, आवाज र चेतना लिएर उभिरहेका छौँ। अब हामी चुप लाग्दैनौँ।

नवराज विकको लडाइँ दलितको मात्र होइन। नवराज विकको घटना कुनै व्यक्तिगत घटना थिएन। त्यो जातीय घृणाले जन्मिएको सामूहिक अपराध हो। यस्तो घटनालाई दलित समुदायको मात्र पीडा हो भनेर हेर्नु अझ ठूलो अन्याय हो।

यो लडाइँ दलित समुदायको मात्र होइन, यो सबै चेतनशील, न्यायप्रेमी नेपालीहरूको साझा आवाज हो। आज माया गर्दा जात हेरेर ज्यान लिने समाजले भोलि जस्तोसुकै कदम नउठाउला भन्ने के ग्यारेन्टी छ?

आज नवराजजस्ता युवाको हत्या हुँदा चुप लाग्ने हो भने, भोलि त्यो घटना अरू कुनै नाममा तपाईं-हामी जोसँग पनि आइलाग्न सक्छ। त्यसैले यो लडाइँ जातको मात्र होइन, मानवताको हो भनेर सबै एकसाथ हुन जरुरी छ।

गत वर्ष मेरो आफ्नै मामाले माथिल्लो जातकी केटीसँग आपसी समझदारीमा भागी विवाह गरे। यो कुरा केटी पक्षले थाहा पाउँदा उनीहरूलाई सहन भएन। उनीहरूको इज्जतमा दाग लाग्यो रे!

फलस्वरूप, मामाले बस्ने घरमा आगो लगाएर तहसनहस गरियो। दोषीहरूले सजाय पाएनन्, तर प्रेम गर्ने, त्यो पनि दलित जातको केटाको घर जलाइयो, जीवनको धम्की दिइयो। यो घटना मैले आफ्नै आँखाले देखेँ।

त्यसबेलादेखि नवराज विकको पीडाले मलाई झन् छोएको छ, किनभने नवराज विकको हत्या पनि त्यही मानसिकताको परिणाम हो। यो सब जातकै कारण अस्वीकृत भएको हो। हाम्रो समाज यति गहिरो जातीय घृणाले भरिएको छ कि प्रेमजस्तो पवित्र सम्बन्धमा पनि विभेदको आगो लगाइन्छ, ज्यान लिइन्छ।

यो देश दलितको मात्र होइन, ब्राह्मणको पनि होइन; गरिबको मात्र होइन, धनीको पनि होइन। यदि हामीले आज पनि विभेदविरुद्ध बोल्न सकेनौँ भने, भोलि धेरै नवराजहरू गुमाउन बाध्य हुनेछौँ।

त्यसैले आजै उठौँ, नवराज विकका लागि मात्र होइन, आफ्नो आत्मसम्मान बचाउनका लागि। न्याय होस्, घृणा होइन। प्रेम होस्, अन्याय होइन। समानता होस्, विभेद होइन।

अब संविधान कागज मात्र होइन, जीवनको सुरक्षा होस्। प्रेम अपराध होइन, सम्मानको आधार होस्। न्याय फोन, पहुँच, शक्ति र पैसा हेरेर नहोस्।

नवराज विक सधैँ बाँचिरहोस् भनेर इतिहास लेखियोस्। नवराज विकको बलिदानले हामीलाई आँखा खोल्न बाध्य बनाएको छ। यो कुनै स्थानीय घटना होइन, यो राष्ट्रिय कलङ्क हो।

अब फेरि नवराजहरू मारिउनन्, अब फेरि कानुन आँखा नदेख्ने नहोस्, अब फेरि नेपालले आफ्ना सन्तानलाई जात हेरेर न्याय नछिनोस्, अब फेरि कुनै नेपाली न्याय नपाएर तड्पिनु नपरोस्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार