सहकारीमा सोझा-साझा जनताले राखेको खर्बौं रकम, निर्माण व्यवसायीको ४५ अर्ब, दूध र उखु किसानको सात अर्ब तथा कोरोना बीमाको २४ अर्ब रुपैयाँ पनि यिनीहरूले नै खाएका हुन्। यतिले मात्र कहाँ पुग्थ्यो र, देशभरका सरकारी, सार्वजनिक, गुठी, मठ-मन्दिर, ताल-तलैया, पोखरी आदिको जग्गा पनि पचाए।
केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली मधेश प्रदेश सभा सम्बोधन गर्न त्यता पुगे। प्रदेश सभा सम्बोधनपछि उनी हेलिकप्टरबाटै सिरहा पुगे, जहाँ जनसभा राखिएको थियो। तर, त्यो जनसभा जनसभाजस्तो थिएन। प्रधानमन्त्री बोल्ने क्रममा एउटै मान्छे पनि कार्यक्रममा सहभागी भएन।
जबकी उनको स्वागतका लागि मोटरसाइकल र्याली निकालिएको थियो। सिरहा कार्यक्रममा सहभागी हुनका लागि एमालेले प्रतिव्यक्ति एक हजार रुपैयाँ बाँड्नुका लागि मासु-भात खुवाएको बताइन्छ। पैसा पाउने लोभमा मानिसहरू कार्यक्रममा सहभागी त भए। तर मासु-भात खानेबित्तिकै उनीहरू घरतिर दौडिए।
प्रधानमन्त्री ओली स्टेजमा बोलिरहँदा कार्यक्रम स्थल भने सुनसान भइसकेको थियो। मधेशका जनता अशिक्षित छन् भन्ने गरिन्छ। यद्यपि, यो घटनाले मधेशका जनता धेरै शिक्षित रहेको स्पष्ट भएको छ। उनीहरूले राजनीतिक दलहरूले देशलाई कहाँ पुर्याए भन्ने बुझिसकेका छन् र त्यसैले प्रधानमन्त्री ओलीको कार्यक्रम बहिष्कार गरेका हुन्।
राजनीतिक दलहरूले देशलाई कहाँ पुर्याए? हाम्रै आँखा अगाडि छर्लङ्ग छ। जनतामा निराशा बढ्दो छ। दल र नेताप्रति वितृष्णा, घृणा बढिरहेको छ। मधेशमा भएको यो घटना त शुरुवात मात्र हो। देशभरका जनताले प्रधानमन्त्रीसहित राजनीतिक दलका नेताहरूलाई बहिष्कार गर्ने छन्। उनीहरूको कार्यक्रममा सहभागी हुने छैनन्।
ओली, देउवा, प्रचण्ड, नेपाल नेता होइनन्, दलाल हुन्। जुनसुकै पार्टी भए पनि आफ्नै स्वार्थमा रमाउने। कसैलाई देश र जनताको चिन्ता छैन। सत्तामा पुग्न पाइन्छ कि पाइँदैन? भ्रष्टाचार गर्न पाइन्छ कि पाइँदैन? भन्ने मात्र चिन्ता। अहिले जनताले बुझिसके कि कुनै पनि दल र नेता असल, इमानदार छैनन्। नेता भनेको त्यागी हुनुपर्छ।
हामी कहाँ भने ठ्याक्कै उल्टो। लुट्न पाए वा राज्यको ढुकुटी दोहन गर्न पाए मख्ख। आखिर देश बचोस् वा नबचोस्, आफ्नो हात चाँहि खाली हुनुहुँदैन। यिनै नेता भनाउँदाहरूले नेपाली भूभाग चीन र भारतलाई बेचेर खाए। विदेशीसँग २७ खर्ब ऋण ल्याएर पचाए। जनताले तिरेको कर र विदेशबाट पठाएको रेमिट्यान्ससमेत स्वाहा पारिदिए।
सहकारीमा सोझा-साझा जनताले राखेको खर्बौं रकम, निर्माण व्यवसायीको ४५ अर्ब, दूध र उखु किसानको सात अर्ब तथा कोरोना बीमाको २४ अर्ब रुपैयाँ पनि यिनीहरूले नै खाएका हुन्। यतिले मात्र कहाँ पुग्थ्यो र, देशभरका सरकारी, सार्वजनिक, गुठी, मठ-मन्दिर, ताल-तलैया, पोखरी आदिको जग्गा पनि पचाए। अहिले बजारमा व्यापक चर्चा छ, मधेशका जनताले प्रधानमन्त्री ओलीलाई बहिष्कार गरे। मधेशमा गरिबी छ, अशिक्षित धेरै छन्।
त्यहाँ मीटरब्याज जस्ता धेरै समस्या छन्। तैपनि उनीहरूले प्रधानमन्त्री ओलीको कार्यक्रम बहिष्कार गरे। हुन त यसको शुरुवात राजधानीबाट हुनुपर्ने थियो। किनकि काठमाडौं उपत्यकामा अन्य जिल्लाको तुलनामा धेरै शिक्षित व्यक्तिहरूको बसोबास छ। शिक्षित मानिसलाई देशको अवस्था राम्ररी थाहा हुन्छ।
त्यसैले, दलहरूको कार्यक्रम बहिष्कार उपत्यकाबाट हुनुपर्ने थियो। तर, उपत्यकामा बसोबास गर्ने शिक्षितहरूलाई किताबी ज्ञान मात्र थाहा भयो, व्यवहारिकता भएन। उनीहरू अझै पनि राजनीतिक दलको कार्यक्रममा सहभागी भइरहेका छन्। दलको कार्यक्रममा फूलमाला बोकेर पुग्छन्। जबकी देश र जनतालाई यो अवस्थामा पुर्याउने यिनै नेता हुन् भन्ने छर्लङ्ग छ।
अब भनौं, राजधानीका जनता शिक्षित कि मधेशका? त्यसो त दलहरूले आफ्नो कार्यक्रममा सहभागी हुन पैसा बाँड्ने गरेको आरोप लाग्दै आएको छ। थोरै पैसाको लोभमा मानिसहरू दलको कार्यक्रममा सहभागी भइरहेका छन्। देशमा बेरोजगारी छ। गरिबी छ। बिहान-बेलुकाको टार्न सर्वसाधारणलाई धौधौं परेको छ।
यसैको फाइदा उठाएर दलहरूले सोझा-साझा जनतालाई एक हजारदेखि दुई हजार रुपैयाँ दिई मासु-भात खुवाउने प्रलोभन देखाएर कार्यक्रममा ल्याउने गर्छन्। यद्यपि, अब भने जनताको आँखा खुल्न थालेको देखिन्छ। बरु उनीहरू पैसा फिर्ता दिन तयार हुन्छन् तर दलहरूको झुट्टा भाषण सुन्नेवाला छैनन्।
दलहरूको सदस्यता त्याग अभियान चलाउनुपर्छ। जनता लोभ-लालचमा नलागी पार्टीको सदस्यता त्याग्नुपर्छ। किनकि पार्टीभन्दा ठूलो देश हो। नेताहरूले देश बेचिसके। अनि हामी जनता अझै पनि लोभ-लालचमा फस्ने हो भने भविष्यमा ठूलो क्षति व्यहोनुपर्ने छ। श्रीलंका, बङ्गलादेशको अवस्था हामी सबैले देखिसक्यौं। नेपाललाई यो हुनबाट जोगाऔं।
नेताहरूको कार्यक्रम बहिष्कार गरौं। दलहरूलाई बहिष्कार गरौं। यतिले पनि दलहरूमा चेतना नआए देशबाटै लखेट्न पनि जनता तयार हुनुपर्छ। किनकि देशभन्दा ठूलो अरु केही होइन। आज यही नेता भनाउँदाहरूले देश सिध्याए। हामी जनता चाँहि अझै पनि पार्टी-पार्टी भनिरहेका छन्। सर्वसाधारणको आँखा खुल्न आवश्यक भइसकेको छ।
विदेशीसँग ऋण ल्याउँदा मोज-मस्ती गरिरहेका छन्, दल र नेता। अहिले २७ खर्ब रहेको विदेशी ऋण दुई वर्षपछि ५२ खर्ब पुग्नेछ। व्यापारी कर छल्छन्। सरकार कारबाही गर्दैन। जबकी जनताले एक रुपैयाँ कर छलेमा पनि कारबाहीको भागिदार हुनुपर्छ। यहाँ सानालाई ऐन, ठूलालाई चैन भयो। त्यसैले, अब जनता सचेत हुनुपर्छ।
जनता सार्वभौम छन्। जनताले चाहेमा जे पनि गर्न सक्छ। मुलुकमा विभिन्न समयमा भएको राजनीतिक परिवर्तन जनताकै संघर्षबाट भएको हो। लोकतन्त्र, गणतन्त्र पनि १७ हजार नेपाली जनता शहीद बनेपछि स्थापित भएको हो। अहिले यही व्यवस्थामा दल र नेताहरू मोज-मस्ती गरिरहेका छन्। जनताको रगत बगेर आएको व्यवस्थाले नेताहरूलाई आराम दिइरहेको छ।
यतिमात्र होइन, नेताहरूले लोकतन्त्र र गणतन्त्रको गलत फाइदा उठाए। जसका कारण आज देशै नरहने अवस्थामा आइपुगिसकेको छ। यदि बेलैमा फेरि जनता नतात्ने हो भने निकट भविष्यमा विश्वसामु नेपाल भन्ने देशसमेत नरहन सक्छ। भनिन्छ, अन्याय गर्नु तर अत्याचार नगर्नु। नेताहरूले देश विकास गर्ने नाममा जनताको रगत-पसिना चुसे।
त्यतिले नपुगेर देशै धितो राखेर विदेशीसँग ऋण लिए। विदेशी वा आन्तरिक ऋण तिर्न सरकारसँग आम्दानीको स्रोत छैन। कर्मचारी, जनप्रतिनिधिलाई तलब-भत्ता दिनैपर्यो। सामाजिक सुरक्षा भत्ता दिनैपर्यो। अहिले सरकारी साधारण खर्चसमेत सरकार विदेशीसँग ऋण लिएर धानिरहेको छ। विकास त परको कुरा हो। सरकारी खर्च पनि धान्न नसक्ने अवस्थामा सरकार छ।
यस्तो अवस्थामा नेताहरू पनि देश विकास गछौं भन्दै जनतालाई भ्रममा पारिरहेका छन्। जनता झुट्टा भाषणको विश्वासमा पर्नुहुँदैन। कार्यकर्ताबाट माथि उठ्नुपर्छ। पार्टी ठूलो कि देश? जनताले छुट्याउन सक्नुपर्छ। जनतामा चेतना आएको दिन नेताहरूको यो देशमा बास हुने छैन। मधेशबाट त यसको शुरुवात भइसकेको छ। अब अन्य जिल्लामा जनताले कहिलेबाट गर्छन्? उनीहरूलाई देशको कति माया छ? हेर्न बाँकी छ।