मंगलवार, ३ असार, २०८२

प्राज्ञ रत्नाकर देवकोटा: व्यक्ति एक, व्यक्तित्व अनेक

कर्णाली अञ्चलका विविध विषय र विधामा भएका उल्लेखनीय तथ्यहरूको पनि विवेचना गरिएको छ भनी सत्यमोहन जोशीले सोही कृतिको मन्तव्यमा लेख्नुभएको छ।

ढली जान्छ, पोखी जान्छ, दिया कहाँ जान्छ?
वारीतिर सिमखली, पारी छ न्याउली,
यसैगरी फेरि-फेरि भेट अब कहाँ होली?”

यी भनाइहरू प्राज्ञ रत्नाकर देवकोटाका हुन्। आफूसँग भएको वस्तु र ज्ञान बाँड्नुपर्छ भन्ने उहाँको सन्देश रहेको छ।

प्राज्ञ रत्नाकर देवकोटाको अथक योगदानलाई स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारमा नेतृत्व गर्ने कसैले ध्यान नदिए पनि उहाँको साहित्य सेवा र योगदानलाई साझा प्रकाशनले २०५७ सालमै कदर गरेको छ। मेहनतका साथ तयार पारिएको कृति देखेर प्राज्ञ रत्नाकर देवकोटालाई उत्कृष्ट साहित्यकारको दर्जामा राख्दै साझा प्रकाशनले “केन्द्रीय नेपाली भाषिकाका उखान र गाउँखाने कथा” प्रकाशन गरी उहाँको गुणको सम्मान गरेको छ।

यसैगरी, संस्कृति विधाअन्तर्गत पुराना धार्मिक क्षेत्रको परिचय दिने पुस्तक प्रकाशन गर्नुपर्ने आवश्यकता देखिएको अवस्थामा साहित्यकार रत्नाकर देवकोटाद्वारा लिखित “कर्णाली अञ्चलका प्रमुख धार्मिक र सांस्कृतिक स्थलहरू” ले सो अभाव पूरा गर्न सक्ने भन्दै नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले २०५१ सालमा उक्त पुस्तक प्रकाशन गरेको छ। यसबाट उहाँ नेपाली साहित्यको आकाशमा अर्को महत्त्वपूर्ण कार्यका अग्रज स्रष्टा बन्नुभएको कुरा पुष्टि हुन्छ।

नेपालको संस्कृति र इतिहासप्रति ठूलो अभिरुचि राख्ने इटालीका तत्त्वान्वेषक जी. टुचीले नेपाल र तिब्बतको भ्रमणका क्रममा कर्णाली अञ्चलको विशेष अध्ययन र अनुसन्धान गरी वैज्ञानिक अभियानहरूको प्रारम्भिक रिपोर्ट र “The Discovery of Nepal” नामक दुई अनुसन्धानात्मक पुस्तक अंग्रेजीमा प्रकाशन गरेका छन्। सो “नेपाल” बाट उद्धृत गरिएअनुसार कर्णाली अञ्चलबाट उभो लागेका खसहरूले खारी प्रदेशमा प्रभुत्व जमाएको देखिन्छ।

यो कुरा नेपालको राष्ट्रिय इतिहासको अन्वेषण र अनुसन्धानका लागि आवश्यक दिशाबोध र कार्यक्षेत्र बनेको छ। यसै सन्दर्भमा अत्यन्त महत्त्वपूर्ण कृति “बृहत् जुम्ला राज्यको ऐतिहासिक विवेचना” लाई कर्णाली अञ्चलकै तत्त्वान्वेषक रत्नाकर देवकोटाले प्रकाशमा ल्याएर नेपालको राष्ट्रिय इतिहास लेखनमा नयाँ दिशाबोध गराउनुभएको छ। यो कृतिको मन्तव्यमा नेपालका शताब्दी पुरुष एवं प्रख्यात साहित्यकार सत्यमोहन जोशीले उत्कृष्ट टिप्पणी गर्नुभएको छ।

उहाँले मन्तव्यमा थप्नुहुन्छ, “नेपाल राष्ट्रका अन्य अञ्चलका लागि एउटा अनुकरणीय कार्य सम्पादन गरिदिनुहुने व्यक्तित्वसमेत हुनुभएको छ।” यो ग्रन्थ कर्णाली अञ्चलको विश्वकोश (Encyclopedia) जस्तै लाग्न थालेको छ, किनभने कर्णाली अञ्चलका विविध विषय र विधामा भएका उल्लेखनीय तथ्यहरूको पनि विवेचना गरिएको छ भनी सत्यमोहन जोशीले सोही कृतिको मन्तव्यमा लेख्नुभएको छ।

“बृहत् जुम्ला राज्यको ऐतिहासिक विवेचना” को २०६४ को मन्तव्यमा नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका प्राध्यापक प्रेमकुमार खत्री लेख्नुहुन्छ, “ग्रन्थकार रत्नाकर देवकोटाको विशिष्ट व्यक्तित्वजस्तै साहित्यिक अभिव्यक्ति शैली पनि विशिष्ट छ।” उहाँ मन्तव्यको अन्त्यमा थप्नुहुन्छ, “यो कृति कल्यालवंशी राजाहरूको फेहरिस्त र विवरणमा मात्र सीमित नरही जुम्ला भेककै भौगोलिक, सामाजिक, सांस्कृतिक र राजनीतिक चित्रण प्रस्तुत गरेको छ। विषयगत र विधागत विविधताले कृतिको महत्त्व बढाएको छ।”

“यो काम सजिलो थिएन। जुम्लाकै हावापानी र माटोमा भिजेका नाताले प्रस्तुत ग्रन्थकारले मात्र यो राम्ररी पूरा गर्न सक्नुहुन्थ्यो भन्ने लागेको थियो। अहिले उहाँले गरेरै देखाउनुभयो। अब यो विभिन्न संघ-संस्था, अनुसन्धानकर्ता र इतिहासप्रेमीका लागि गतिलो सन्दर्भ सामग्री भएको छ,” भन्दै प्राध्यापक खत्रीले ग्रन्थकारको सराहना गर्नुभएको छ। यसबाट प्राज्ञ रत्नाकर देवकोटाका थुप्रै कृतिहरूसहित यो कृतिको प्रकाशनले उहाँको साहित्य लेखनको उचाइ सगरमाथाजस्तै चुलिएको छ।

कल्यालहरूको इतिहासलाई बृहदाकारमा सत्य, तथ्य र प्रमाणिक रूपमा यति छिटो महत्त्वपूर्ण ग्रन्थ तयार गर्नुभएको छ। “यो ग्रन्थ प्रकाशन गर्न पाउँदा र आफ्नो पैतृक थलोलाई चिनाउने अवसर प्राप्त भएकोमा हामीलाई हर्ष लागेको छ,” भन्दै लेखक देवकोटालाई धन्यवाद दिँदै “बृहत् जुम्ला राज्यको ऐतिहासिक विवेचना २०६४” को प्रकाशकीयमा दिवश विक्रम शाह, प्रबन्ध निर्देशक, कुमार खड्ग प्राइभेट स्टडिज प्रा.लि., कमलादी, काठमाडौंले लेख्नुभएको छ।

उहाँ राष्ट्रका एक महत्त्वपूर्ण लेखक एवं अनुसन्धानदाता हुनुहुन्थ्यो, जसले भाषा, संस्कृति र लोकसाहित्यका क्षेत्रमा कर्णालीजस्तो दुर्गम प्रदेशबाट उल्लेखनीय योगदान गर्नुभएको छ। राष्ट्रले उहाँको सम्मानमा कन्जुस्याइँ गर्नुहुँदैन। उहाँ भौतिक रूपमा नरहे पनि कर्णालीका कैयौँ विशेषताहरूले युक्त आफ्ना कृतिमा जीवित नै हुनुहुन्छ भनी “प्राज्ञ रत्नाकर देवकोटा स्मारिका २०६७” मा डा. जिवेन्द्रदेव गिरीले लेख्नुभएको छ।

यसैगरी, गीता केशरी, अध्यक्ष, गुञ्जन, चण्डोल, विशाल नगर, काठमाडौंले सोही स्मारिकामा “कर्णालीका जुम्लेली पुत्र: रत्नाकर देवकोटा” भन्दै उहाँले लेखेको गीत “ढली जान्छ, पोखी जान्छ, दिया कहाँ जान्छ?” लाई साभार गर्दै लेख्नुहुन्छ, “देशका लागि भाषा र लोकसाहित्यमा उहाँ योग्य व्यक्ति हुनुहुन्थ्यो।”

प्राज्ञ रत्नाकर देवकोटाद्वारा लिखित पहिलो कृति “जुम्लेली शब्द र उखान संग्रह”लाई बालकृष्ण पोखरेलले “कर्णाली प्रदेशको लोकसाहित्य र संस्कृतिबारे ज्ञान आर्जन गर्न चाहनेका लागि दह्रो लिस्नोको काम गर्ने” भन्दै “मझेरी भाषाको अध्ययनमा लागेका व्यक्तिका लागि यो नेपाली भाषाको माझाली उपभेदसम्बन्धी तथ्य उपलब्ध गराउने गतिलो स्रोत बनेको छ” भनी शुभकामना मन्तव्य व्यक्त गर्नुभएको छ।

“यो कृतिजस्तै अन्य अञ्चलका साथीहरूले शब्द संग्रह गरिदिए वृहत् कोशको रचनाका लागि सहायता पुग्ने थियो,” भन्दै बद्रीनाथ भट्टराईले रत्नाकर देवकोटा यो काममा अगुवा भएको उल्लेख गर्नुभएको छ। प्रा. चूडानाथ भट्टराईले “जुम्लेली शब्द र उखान संग्रहले भाषालाई समृद्ध पार्ने अवर्णनीय परिश्रम गर्नुभएको छ, त्यसको म प्रशंसा गर्छु” भनी शुभकामना लेख्नुभएको छ।

उहाँका कृतिहरूले नेपाली साहित्यमा ठूलो योगदान पुर्‍याएको छ। उहाँको मेहनतको कदरस्वरूप प्रवल गोरखा दक्षिणबाहु (२०५६), राष्ट्रिय प्रतिभा पुरस्कार (२०५१), रत्नश्री सुवर्ण पदक (२०५०), नृगंगा प्रतिभा पुरस्कार (२०५५), बम-शंकर साहित्य पुरस्कार (२०५३), रेवन्त बहादुर शाह साहित्य पुरस्कार (२०५४), शुभराज्याभिषेक पदक (२०३१) जस्ता सम्मान प्राप्त गर्नुभएको छ।

अन्तमा, स्वर्गीय प्राज्ञ रत्नाकर देवकोटाको २०६५ साल पौष १४ गते, शुक्ल पक्ष द्वितीया तिथिका दिन काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा देहान्त भएको थियो। आज पौष १४ गते उहाँको १७औँ स्मृतिको पुण्यतिथिमा उहाँको आत्माको चिरशान्ति र वैकुण्ठवासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्छु।

(जुम्ला चन्दननाथ -१ का स्थायी बासिन्दा लेखक हाल खलंगा, प्युठानमा कार्यरत हुनुहुन्छ।)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार