सोमबार, ८ पुष, २०८१

के हो एचआइभी एड्स?

वर्तमान विश्वमा एचआइभी एक प्रमुख विश्वव्यापी जनस्वास्थ्य समस्या बनेको छ। विश्वमा २०२२ को अन्त्यमा अनुमानित ३९.० मिलियन (३३.१–४५.७ मिलियन) मानिसहरू एचआईभीसँग जुधिरहेका छन्।

ह्युमन इम्युनोडेफिशियन्सी भाइरस (एचआइभी) मुख्यतया प्रतिरक्षा प्रणालीका कोषिकाहरूलाई संक्रमित गर्ने भाइरस हो। जसले एड्स निम्त्याउँछ। एचआइभी भाइरस संक्रमण भएमा भाइरस रगतमा प्रवेश गरेर व्यक्तिको शरीरका कोषिकाहरूमा तीब्र रुपमा फैलिन्छ। विशेष गरी प्रतिरक्षा प्रणालीका सेतो रक्तकोषिकाहरूलाई संक्रमित र आक्रमण गर्छ। सेतो रक्तकोषिकाको कमीले अन्ततः शरीरको संक्रमणसँग लड्ने क्षमतालाई नष्ट गर्छ।

एक्वायर्ड इम्यून डेफिसेन्सी सिन्ड्रोम (एड्स), एचआईभी संक्रमणबाट हुने रोग, जसले प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ। यसको कुनै उपचार छैन। सीडीफोर प्लस सेतो रक्तकोषिकाको ह्रास हुँदै जान्छ र एड्स रोगीहरूमा रोगप्रति लड्ने प्रतिरक्षाको क्षमता कमजोर हुँदै जान्छ।

स्वस्थ मानिसमा सीडीफोर प्लस सेतो रक्त कोषिकाहरूको संख्या प्रति माइक्रोलिटर रगतमा करिब १,००० कोषिकाहरू हुन्छन्। उपचार नगरिएका एड्सका बिरामीहरूमा प्रति माइक्रोलिटर २०० कोषिकाहरू कम हुन्छ। एड्सलाई स्लिम डिजिज पनि भनिन्छ।

संयुक्त राज्य अमेरिकामा एड्सको पहिलो संक्रमित व्यक्ति१९८१ मा फेला परेका थिए। यो रोग १९८० को दशकमा समलिङ्गी पुरुषहरूमा सबैभन्दा बढी प्रचलित थियो। तर १९९० को दशकमा त्यो समूहमा एड्सको फैलावट सुस्त भयो। अन्य समूहहरूमा एड्सको दर, जस्तै विसमलिङ्गी पुरुष र महिला र लागूपदार्थ सुई लगाउने मानिसहरूमा बढ्दै गएको थियोे।

वर्तमान विश्वमा एचआइभी एक प्रमुख विश्वव्यापी जनस्वास्थ्य समस्या बनेको छ। विश्वमा २०२२ को अन्त्यमा अनुमानित ३९.० मिलियन (३३.१–४५.७ मिलियन) मानिसहरू एचआईभीसँग जुधिरहेका छन्। जसमध्ये दुई तिहाइ (२५.६ मिलियन) अफ्रिकी क्षेत्रमा रहेका छन्। जसमा १.५ मिलियन बालबालिका (१५ बर्ष मुनिका), २० मिलियन महिला र १७.४ मिलियन पुरुष एचआइभीसँग जुधिरहेका छन्। जसले विश्वव्यापी छ लाख ३० हजार मानिसहरुको ज्यान लिएको छ।

नेपालमा पहिलो पटक एचआइभी/एड्सका केसहरू सन् १९८८ मा देखिएका थिए (४ केसहरू)। नेपालमा २०७९/८० को अन्त्यमा तीन हजार छयासी जना मानिसहरूमा एचआइभी एड्स देखिएको छ। जसमा सबैभन्दा बढी बाग्मती प्रदेशमा (८८३)रहेको छ। अन्य प्रदेशको तथ्यांक हेर्दा कोशी-३८१, मधेस-६०६, गण्डकी-२४६, लुम्बिनी-६२२, कर्णाली-५६ र सुदुरपश्चिम-२५२ मानिसहरूमा एचआइभी देखिएको छ।

एचआइभी सर्ने माध्यम
असुरक्षित यौनसम्पर्कबाट, एचआइभी संक्रमित रगत, रगतबाट बनेका पदार्थ तथा अंगहरु लिदा, सुई तथा सिरिन्जको साझा प्रयोगबाट र संक्रमित आमाबाट बच्चामा सर्छ।

अँगालो मार्ने, एउटै रुमालको प्रयोग गर्ने, जुठो खाने गर्नाले एचआइभी संक्रमण हुँदैन। साथै लामखुट्टेले टोकेर, एउटै भाँडामा खाना खाँदा, हाछ्यूँ गर्दा, खोक्दा, एउटै चर्पी प्रयोग गर्दा, एउटै लुगाफाटो प्रयोग गर्दा, चुम्बन गर्दा, सँगै पौडी खेल्दा, बिरामीको स्याहार-सुसार गर्दा र परिवारमासँगै बस्दा यो रोगको संक्रमण हुँदैन।

एचआइभी एड्स रोगका लागि जोखिम समूहहरु यौनकर्मी, ट्रक ड्राइभरहरु, सडक बालबालिका, प्रवासी मजदुर, लागूऔषध प्रयोगकर्ताहरू र समलिङ्गी पुरुषहरु हुन्।

एचआइभी एड्सका लक्षणहरु
लगातार सामान्यीकृत लिम्फैडेनोपैथी, तौल घट्ने, बारम्बार श्वासप्रश्वास नलीको संक्रमण साइनसाइटिस, टन्सिलाइटिस, ओटिटिस मिडिया र ग्रसनीशोथ, हर्पेस जोस्टर, मुखको अल्सरेशन, कुपोषणका लक्षणहरू देखिनु, छालाका विभिन्न समस्या आउनु, मुख तथा घाँटीमा काई (सेतो) आउनु, दाँत वा गिजाका समस्याहरू, एक महिना भन्दा लामो समय सम्म अस्पष्ट पखाला चल्ने, लगातार ज्वरो आउने(३७.६ डिग्री सेल्सियस भन्दा माथि रुकरुक वा स्थिर, एक महिना भन्दा लामो समयसम्म), रक्तअल्पता र चाँडै थकाइ लाग्नु वा कमजोरी हुनु आदि।

एचआइभी एड्सको रोकथाम
आजको दिनसम्म यसलाई पूर्ण रूपमा निको पार्ने कुनै औषधीको विकास भएको छैन। तर यसका लागि एन्टी रेट्रोभाइरल थेरापी (एआरआई) औषधी प्रयोग गर्न सकिन्छ। जसले शरीरमा एचआइभीको संख्यालाई नियन्त्रणमा राखी शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई सामान्य राख्न र एड्सको अवस्थामा पुग्नबाट बचाउने काम गर्छन्।

आफ्नो चिकित्सकसँग सल्लाह गरी रगतको जाँच गरी कुन अवस्थामा औषधी सुरु गर्न सकिन्छ, आफ्नो शरीरमा भाइरसको मात्रा कति छ (भाइरल लोड), रोग प्रतिरोधात्मक कोषहरूको संख्या कति छ (सीडीफोर काउन्ट) भनेर थाहा पाउन सकिन्छ।

एचआइभी एड्सबाट बच्ने उपायहरु
सुरक्षित यौन व्यवहार अपनाउने। सधैँ सही तरिकाले कन्डमको प्रयोग गरी यौनसम्पर्क राख्ने। सुई तथा छाला छेड्ने औजार नयाँ मात्र प्रयोग गर्ने वा निर्मलीकरण गरेर मात्र प्रयोग गर्ने। एचआइभी संक्रमित महिला गर्भवती नहुने।

यौनरोगको लक्षण देखापरेमा तुरुन्त उपचार गर्ने साथै आफ्नो यौनसाथीलाई पनि उपचार गराउने, अङ्ग प्रत्यारोपण गर्नुपरेमा सम्बन्धित व्यक्तिलाई संक्रमण भए/नभएको कुरामा विशेष ध्यान पुऱ्याउने र रगत दिँदा सो रगत संक्रमण भए/नभएको पक्का गर्ने। यति उपाय अपनान सके यो रोगबाट बच्न सकिन्छ।

नेपालको राष्ट्रिय एचआइभी रणनीतिक योजना (एनएचएपशि) २०२१-२०२६ को भिजन: सन् २०३० सम्ममा नेपालमा एड्सको महामारीको अन्त्य गर्ने। मिशन: समावेशी, समान र पहुँचयोग्य सेवाहरू सुनिश्चित गर्दै एचआईभी हेरचाह निरन्तरता प्रदान गर्ने।

लक्ष्यहरू: नयाँ एचआइभी संक्रमण रोक्ने, एचआइभी लागेका मानिसहरुको स्वास्थ्य परिणामहरू सुधार गर्ने र एचआइभी उपचारको असमानता कम गर्ने। साथै २०२६ सम्मको लक्ष्यमा एचआइभी लागेका मानिसहरुको ९५ प्रतिशत पहिचान गर्ने, एचआइभी पत्ता लागेका ९५ प्रतिशत मानिसहरूको उपचार गर्ने, एआटी मार्फत एचआइभी लागेका मानिसहरूको ९५ प्रतिशत उपचार गर्ने, नयाँ एचआईभी संक्रमण ९० प्रतिशतमा झार्ने (सन् २०१० को रूपमा आधार रेखा) रहेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार