बिहीबार, ५ चैत्र, २०८२

जब ठेकी-मदानी दोबाटोमा फ्याँकिन्छन्

जसलाई रोल्पाको पूर्वी भेगको प्रमुख व्यापारिक केन्द्र भनेर पनि चिनिन्छ। सदरमुकाम लिबाङमा भन्दा सुलिचौर बजारमा धेरै चहलपहल देखिन्छ। लिबाङका बजारमा घरहरु भाडामा जान मुस्किन छ भन्ने पनि सुनिन्छ। प्रशासनिक कामका लागि मात्र सदुरमुकाम लिबाङमा जनताको आवतजावत सामान्य भएको देखिन्छ।

पछिल्लो समय नेपालीहरुको जीवनशैली आधुनिकता तिर विस्तारै होइन ह्वात्तै अगाडि बढेको आभास मिल्छ। यसको ज्वलन्त उदाहरण हो एक हप्ताअघि मेरै जन्मथलो रोल्पाको खुंग्रीस्थित हाम्रै घर नजिक सानो बाँझो जमिनमा फ्याँकिएका ठेकी र मदानीको दृश्य।

कुनै बखतसम्म महत्वपूर्ण ठानिएका ती रैथाने उपकरण भनौँ वा यन्त्र झनपछि झन हेलामा पर्दै निकम्मा ठानिदै फ्याँक्ने गरेको पाइन्छ। गाउँमा कताकतै गोठ भए पनि त्यहाँ वस्तुभाउ वा चौपाया देखिन्नन्। घरपछि महत्वपूर्ण ठानिएको गोठको कताकतै नामो निशान पनि देख्न मुस्किल छ। कसै कसैले गोठ भत्काएर त्यहाँ बगैँचा बनाएको पनि पाइन्छ भने गोठ भत्काइएको ठाउँमा गुन्द्री वा मान्द्रो बिछ्याएर घाम तापेर आनन्द लिएका दृश्य पनि देखिन्छ। गुन्द्री परालको नभएर प्लास्टिकका देखिन्छन् भने मान्द्रोको चलन पनि हराउँदै गएको छ।

खेतीपाती गर्दाको व्यायामले जिउ तताउने होइन कि घाम तापेर आराम गरेर जिउ तताउने बानी परिसकेको। पर्यावरणीय क्षेत्रमा माटोको ज्यादै महत्व छ भन्ने कुराको विचार मानिसहरुमा विस्तारै हराउँदै गएको छ। उहिले घाँसपात वा दाउरा लिन वनमा जाने क्रममा गोरेटोमा हिँड्दा काँडाले घोँचेको पत्तो हुँदैनथियो। अहिले वन क्षेत्र विचरण गर्न जाँदा गोरेटोको दायाँबायाँतिर काँडायुक्त साना बोट विरुवा मौलाएको देखिन्छ। गाउँघरमा पनि ग्याँसको प्रयोगले गर्दा दाउराको प्रयोग घट्दै गएपछि र गाईवस्तु पाल्न छाडिएपछि वनमा जानेहरु थोरै मात्र देखिन्छन्। कसैको गोठमा लैनु भैँसी छ भन्ने थाहा भएपछि छरछिमेकीहरु दूध किन्नका लागि भाँडो बोकेर त्यसतर्फ जानेगरेको पाइन्छ।

कसैकसैले नजिक बजारमा रहेका डेरीबाट गोरस किनेर सेवन गर्ने गरेका हुन्छन्। एक किसिमले भन्नुपर्दा मान्छेले मात्र होइन जमानाले नै सुख वा आराम खोजिरहेको छ। केही दिन अघि म रोल्पा-काठमाडौँ यात्राका लागि सुलिचौर बसपार्कमा लिबाङबाट आउने रात्रीबस कुरिरहेको थिएँ। एउटा किराना पसलनिर उभिइरहँदा मेरो कानमा एउटा आवाज ठोक्कियो- “च्याउच्याउ छ भाइ?” यस्सो ती ग्राहकतिर हेर्दा उनी सेताम्मे कपाल फुलेका अवस्था र लौरो टेकेका अनि अलिक कुप्रिएका वृद्ध थिए।

पसले भाइले उनलाई चाउचाउ दिइरहँदा मैले मनमनै सोचेँ “विकास त सहर सँगसँगै गाउँमा पनि पसिसकेको रहेछ, विकासले सुविधा त देला तर त्यसैका कारण मानिसको ज्यान जोखिममा छ” भन्ने पनि सोचेँ। गाउँमा पनि आधा घन्टा पैदल हिँडाइको दूरीका लागि पचास रुपियाँ भाडा तिरेर सवारी साधनको प्रयोग गरेको पनि देखिन्छ।

तीन वर्षअघि मैले जन्थलोमा आफ्ना एक छिमेकी महिलालाई सोधेको थिएँ- “श्रीमान् के गर्नुहुन्छ?” उनको जवाफ थियो- “साउदीमा हुनुहुन्छ।“ “कमाइ कति छ” भन्ने मेरो प्रश्नमा ती महिलाको जवाफ थियो “पच्चीस हजार।“ मैले मनमनै सोचेँ- पच्चीस हजार कमाउन देशै छोड्नुभन्दा त एउटा लैनु र अर्को बकेर्नु भैँसी पालेमा महिनाको तीस हजार त नेपालमै कमाइन्छ।“ दुइटा भैँसी पालेर दूध बेचेर, परिवारसँगै रहेर अनि आफ्नै गाउँको माटोसँग खेलेर अर्थात् परिश्रम गरेर पालिएका चौपायाको मल प्रयोग गरेर उत्पादन गरिएका उपजहरु सेवन गर्ने हो भने जीवन सुरक्षित रहन्छ।

थोरै कमाउन विदेश जानुभन्दा सानै भए पनि गाउँमा उद्यम गरेर परिवारलाई सन्तुलनमा राख्न सकेमा त्यो नै उत्तम हुनेछ।“ आफ्नै देशमा रहेर केही गरेर जीवन यापन गर्न असम्भव छैन। आफ्नै देशभित्र रहेर जीवन यापन गर्दा छाती फुलाएर अनि शीर निहुराएर सगौरव रहन पाइयो। साथै प्रकृतिप्रेमी हुन पाइयो अनि देशप्रतिको प्रेम पनि झल्किने भयो। फुर्सदमा गाउँठाउँका मानिसहरुसँग भेटघाट हुन पाइयो। गाउँमा रहेका संस्थाहरुमा आवद्ध हुन पाइयो।
रोल्पाको सुनिलस्मृति गाउँपालिकामा वडापिच्छे बजार छन्, ठूलो बजार भनेको वडा नं ४ मा रहेको सुलचौर बजार हो।

जसलाई रोल्पाको पूर्वी भेगको प्रमुख व्यापारिक केन्द्र भनेर पनि चिनिन्छ। सदरमुकाम लिबाङमा भन्दा सुलिचौर बजारमा धेरै चहलपहल देखिन्छ। लिबाङका बजारमा घरहरु भाडामा जान मुस्किन छ भन्ने पनि सुनिन्छ। प्रशासनिक कामका लागि मात्र सदुरमुकाम लिबाङमा जनताको आवतजावत सामान्य भएको देखिन्छ। पहिले झैँ त्यहाँ चलहल देखिदैन। २०४० साल अघि म हजुरआमासँग बुढोमावल नम्जा जाँदा होस् वा आमासँग मावल सिर्प जाँदा होस् सुलिचौर भएरै जानुपर्दथ्यो।त्यतिबेला सुलिचौरमा तीन चारवटा घर र गोठ मात्र थिए, एउटा कपडा पसल थियो रेम बहादुरको। फगामखोला पारी रहेको रुइनिबाङमा दुईटा गोठ मात्र थिए।

त्यो सानो सुलिचौर अहिले घरैघरले भरिएको छ। बाटोमुनी भीरमा पनि घरहरु झुण्डिएका देखिन्छन् भने बाटोमाथीका चट्टानहरु फुटाएर भित्तामा घरहरु बनाइएका छन् र टाँसिएका छन् ती घरहरु। त्यस्तै पारीतिरको रुइनिबाङमा पनि त्यसरी नै घरहरु झुण्डिएका र टाँसिएका देखिन्छन्। लुंग्रीखोलाको बगरबाट घर निर्माणका लागि पिलर उठाइएका पनि देखिन्छन्। तलतिरका तलाहरु खाली वा ह्वाङ्ङै देखिन्छन् भने माथिल्लो दुई तला मात्र फिनिसिङ गरेर व्यवसाय सञ्चालनमा देखिन्छन्। रुइनिबाङको बाटोमाथि भीरमा दश तलाको एउटा घर बनेको देखिन्छ, त्यस घरलाई भाइरल घर भनेर नामाकरण पनि गरिएको छ। भुइँतलामा झारफुक गर्ने झाँक्रीको साइबोर्ड देख्नसकिन्छ।

भाइरल घर भनिने सो घरको फोटो र भिडियो मैले फेसबुकमा अपलोड गर्दा धेरैको भ्युज आएको (नजर परेको) देखियो र मैले पनि भाइरल हुनेखालको घर नै रहेछ भन्ने ठानेँ।

बाँस कुहिएको बस्तीमा आयातीत टुथपिक र प्लास्टिकको नाङ्लोः

दशकअघि गाउँमा बाँसहरु सडेर गएको आफ्नै आँखाले देखेपछि मैले त्यतिबेला टुथपिक उत्पादन गर्ने घरेलु उद्योग चलाउँ कि जस्तो पनि लागेको थियो। एक दिन दाइको पसल रहेको स्थान सुलिचौर बजारमा जाँदा त्यहाँ छतबाट माथि बस्ती छेउँमा बाँसको झाङमा नजर पर्‍यो भने घरको छतमै राखिएको प्लास्टिकको रातो रङको नाङ्लो देख्दा बित्तिकै त्यहाँ प्रकृतिप्रेमको आभास पाइनँ।

तामा-पितलका भाँडाकुँडा ओझेलमाः

पहिले हाम्रो गोठका भकार छेउँमा तामाका र पितलका ताउला, खड्कुँला र गाग्रोहरु चौबिसै घन्टा त्यसै रहिरहेका हुन्थे, चोरी चकारीको डर थिएन। तर हिजोआज तामा र पितलका त्यस्ता भाँडाकुँडाहरु चोरी हुनेगरेका समाचार पनि आइरहेका हुन्छन्। पहिले झैँ इमानदार मान्छेहरुको समाज नभएको जमाना आए झैँ लाग्छ। मान्छेहरुमा छाडा प्रवृत्ति पनि देखिन्छ, नैतिकता हराए झैँ लाग्छ। पहिले पहिले पँधेरोमा गएर तामा वा पितलका गाग्रोमा पानी लिएर आउने महिलाहरु देखिन्थे। हालका दिनहरुमा घरघरमा धारा जडान भएपछि त्यसरी पानी ओसार्ने महिलाहरु पँधेरामा देख्न मुस्किल छ। यद्यपि कसैकसैले मात्र पँधेरोबाट त्यसरी पानी ओसारेको देखिन्छ सिलेवरका गाग्राहरु वा प्लास्टिकका जर्किनहरुमा।

हराउँदै परम्परागत सामग्रीहरुको महत्वः

काठमाडौँको ठमेल लगायत अन्य पर्यटकीय क्षेत्रहरुमा विदेशीहरुलाई लक्षित गरेर क्युरियो पसलहरु सञ्चालनमा रहेको पाइन्छ। त्यस्ता पसलहरुमा गाउँघरमा कुनै बखत प्रयोग भएका र हालका दिनहरुमा प्रयोगमा नआएका यन्त्र-वस्तु-उपकरणहरु राखिएको देखिन्छ। कुनै कुनै वस्तुमा देखिने बुट्टा र कुँदिएका कलात्मक चित्रहरुप्रति विदेशी पर्यटकहरु लोभिनेगर्छन्। स्वदेशीभन्दा पनि विदेशी पर्यटकहरुको नजर ती वस्तुहरुमाथि पर्छ। त्यहाँ पुराना ठेकी, मदानी, हर्पे, हुक्का, ढ्याङ्ग्रो लगायतका कैयन सामानहरु सजाएर राखिएका हुन्छन्।

हामीहरुले अनावश्यक ठानेर महत्व नदिइएका र हाल प्रयोगमा नआउने ठानिएका ती सामानहरुले परापूर्वककालदेखि नै नेपाली समाजमा महत्वपूर्ण भूमिका खेलेका थिए। बाह्य पर्यटकहरु ती पुराना वस्तुहरु हेर्छन्, मुसार्छन् र किनेर आफ्नो मुलुकमा लगेर घरमा सजाउछन्। तर ती वस्तुहरुको महत्वका बारेमा हामीहरु अनभिज्ञ झैँ देखिन्छौँ।

बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँडः

यो उखान हाम्रो मुलुकमा निकै लागू हुने उखान हो, माल पाएर चाल नपाउनु पनि प्रचलित उखान हो। देशभित्रै उपलब्ध कच्चा पदार्थहरुलाई बेवास्ता गर्दै विदेशबाट झिकाइएका वा आयात गरिएका तयारी वस्तुहरु उपभोग गर्दा हामीहरुले देशभक्ति अर्थात् राष्ट्रप्रेम देखाउन सकेका छैनौँ भन्ने कुराको आशय दिन्छ। यो हामीहरुका लागि साह्रै नै दुःखको कुरा हो। कुनै बखतसम्म घरायसी काममा नभै नहुने ठानिएका ठेकी, हर्पे, मदानी लगायतका कैयन सामग्रीहरु अहिले हेलामा पर्दै आएका छन्।

भत्किनथालेको गोठको छेउँमा वा बारीका कुनामा वा दोबाटोमा फ्याँकिएको अवस्थामा भेटिनेगरेको पाइन्छ ती पुराना सामग्रीहरु। मदानीका अंगहरु तरी, नेती, कोइला, पोराका बारे अहिलेका किशोर किशोरीहरुलाई जानकारी नै छैन् भन्दा फरक पर्दैन। हाम्रा काका केशव अधिकारी सपरिवार रोल्पाबाट दाङ बसाइ सर्ने क्रममा चिनो स्वरुप मलाई काठको सानो बाकस दिनुभएको थियो। पुराना सामग्री संकलन गर्ने मेरो शोख पनि हो।

मैले आफ्नो कोठामा राखेको सो काठको बाकसमा मैले अंशमा पाएका थाल, कचौरा, गिलास, लोटा र सानो गाग्रो राखेको थिएँ। पछि सो काठको बाकस भाइले अन्य काममा प्रयोग गरेको देखियो। घिउ राख्ने काठको भाँडो अर्थात् हर्पे पनि मैले तखतामा राखेको थिएँ त्यो पनि बेपत्ता भएछ। केही दिनअघि जन्मथलोको घरको भित्तामा ठोकिएको काठको मोटो किलामा झुण्ड्याइएको बाँसको ढुंग्रो अहिले पनि झुण्ड्याइएको छ भने कुनामा फ्याँकिएको मदानीका चार पोरामध्ये दुई पोरा झरिसकेको छ। मही पार्दा थाममा बाँधिएको तरी पनि देखिदैन।

चेतनाको अभावमा अस्वस्थकर खानपानः

जनस्वास्थ्यविद्हरुका अनुसार चार घन्टाभन्दा बढी लगातार तताइएको तेलमा पकाइने खाद्यवस्तुमा ट्रान्सफ्याटको जोखिम रहने कुरा बताइरहँदा उपभोक्ताहरु भने त्यतातिर ध्यान नदिई ढुक्क भएर त्यस्ता तेलमा तयार पारिएका खाद्यवस्तुहरु सेवन गरेको पाइन्छ। त्यस्तै उपभोक्ताहरु कोलेस्ट्रोलको खतराबाट बच्नेतिर पनि लागेको देखिदैन।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार