आमाले हामीलाई जीवन दिन्छिन् भने देशले हामीलाई पहिचान दिन्छ। आमाको काखमा हुर्किएको सन्तानले जीवनको पहिलो अनुभूति पाउँछ भने देशको काखमा हुर्किएको नागरिकले आफ्नो संस्कार, संस्कृति र स्वाभिमान निर्माण गर्छ।
मानिसको जीवनमा सबैभन्दा गहिरो र पवित्र सम्बन्ध आमासँगको सम्बन्ध हो। आमा त्यो शक्ति हुन् जसले सन्तानलाई जन्म दिन्छिन्, दुःख सहेर हुर्काउँछिन् र जीवनको पहिलो शिक्षा दिन्छिन्।
आमा केवल एक व्यक्ति मात्र होइनन्, उनी माया, त्याग र समर्पणको प्रतीक हुन्। ठीक त्यस्तै, देश पनि केवल भौगोलिक सीमाभित्र सीमित भूमि मात्र होइन, देश हाम्रो अस्तित्व, पहिचान र स्वाभिमानको आधार हो। यही कारणले गर्दा हाम्रो समाजले देशलाई मातृभूमि भनेर सम्बोधन गरेको छ।
यदि हामी गहिरो रूपमा हेर्ने हो भने आमा र देशबीच तुलनात्मक हिसाबले धेरै फरक देखिँदैन। दुवैको भूमिका हाम्रो जीवनमा अत्यन्त महत्वपूर्ण छ।
आमाले हामीलाई जीवन दिन्छिन् भने देशले हामीलाई पहिचान दिन्छ। आमाको काखमा हुर्किएको सन्तानले जीवनको पहिलो अनुभूति पाउँछ भने देशको काखमा हुर्किएको नागरिकले आफ्नो संस्कार, संस्कृति र स्वाभिमान निर्माण गर्छ।
आमाको माया निस्वार्थ हुन्छ। सन्तानका लागि उनले अनगिन्ती दुःख सहन तयार हुन्छिन्। सन्तानको सुखमा आमा खुशी हुन्छिन् र सन्तानको दुःखमा आमा रोइरहेकी हुन्छिन्। त्यस्तै देशले पनि आफ्ना नागरिकलाई संरक्षण, अवसर र स्वतन्त्रता प्रदान गर्छ।
देशले आफ्ना नागरिकलाई सुरक्षित वातावरण दिन प्रयास गर्छ, जसले गर्दा नागरिकले आफ्नो भविष्य निर्माण गर्न सकून्। यही कारणले गर्दा देशलाई पनि आमासँग तुलना गरिएको हो।
तुलनात्मक रूपमा हेर्दा आमा र देश दुवै त्याग र समर्पणका प्रतीक हुन्। आमाले आफ्नो व्यक्तिगत सुख त्यागेर सन्तानको भविष्य बनाउँछिन्। देशले पनि आफ्ना सन्तान अर्थात् नागरिकहरूको प्रगति र सुरक्षाका लागि विभिन्न संरचना र व्यवस्था निर्माण गर्छ।
यदि आमाले सन्तानलाई हुर्काउने काख दिएकी हुन्छिन् भने देशले पनि नागरिकलाई बस्ने घर, काम गर्ने अवसर र बाँच्ने आधार प्रदान गरेको हुन्छ।
यही आधारमा एउटा महत्वपूर्ण प्रश्न उठ्छ, के आमा र देशप्रतिको सम्मानबीच सम्बन्ध छ ? यसको उत्तर स्पष्ट छ। जसले आफ्नी आमाको सम्मान गर्न सक्दैन, उसले देशलाई पनि सच्चा अर्थमा माया गर्न सक्दैन।
किनकि आमालाई सम्मान गर्न नसक्ने व्यक्तिमा कर्तव्यबोध र संवेदना कमजोर हुन्छ। त्यस्तो व्यक्तिले देशको स्वाधीनता र स्वाभिमानका लागि त्याग गर्न सक्दैन।
तर जसले आफ्नी आमाको सम्मान गर्छ, उसले देशको मूल्य पनि बुझ्छ। आमाको आँसुको मूल्य बुझ्ने मान्छेले देशको पीडा पनि बुझ्न सक्छ।
यस्तो व्यक्ति जस्तोसुकै कठिन परिस्थितिमा आए पनि देशको रक्षा गर्न तयार हुन्छ। इतिहासमा धेरै वीरहरूले देशलाई आमाजस्तै मानेर यसको स्वतन्त्रता र सम्मानका लागि संघर्ष गरेका उदाहरणहरू प्रशस्त छन्।
तुलनात्मक दृष्टिले हेर्दा आमा र देशबीचको सम्बन्ध केवल भावनात्मक मात्र होइन, नैतिक पनि हो। आमाबाट सिकेको संस्कारले नै नागरिकलाई जिम्मेवार बनाउँछ।
यदि एउटा व्यक्तिले घरभित्र आमाको सम्मान गर्न सिक्यो भने उसले समाज र राष्ट्रको सम्मान गर्न पनि सिक्छ। त्यसैले आमा र देशबीचको सम्बन्धलाई केवल तुलना मात्र नभई परस्पर जोडिएको मूल्यको रूपमा पनि बुझ्न सकिन्छ।
आजको समयमा हामीले देखिरहेका छौं कि आधुनिकता र स्वार्थको दौडमा कतिपय मानिसहरूले आफ्नो मूल संस्कार बिर्सिँदै गएका छन्।
आमाप्रतिको सम्मान कमजोर हुँदै जाँदा समाजमा नैतिकता र जिम्मेवारीको भावना पनि कमजोर हुँदै गएको देखिन्छ। यस्तो अवस्थामा देशप्रेम पनि केवल नारामा सीमित हुने खतरा बढ्छ।
त्यसैले आजको आवश्यकता के हो भने नयाँ पुस्तालाई केवल ज्ञान र प्रविधि मात्र होइन, संस्कार र मूल्य पनि दिनु।
उनीहरूलाई सिकाउनुपर्छ कि आमा केवल घरको व्यक्ति होइनन्, उनी जीवनको आधार हुन्। र देश केवल राजनीतिक संरचना होइन, देश हाम्रो अस्तित्व र पहिचानको आधार हो।
के तपाईंहरू पनि आफ्नी आमालाई सम्मान गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने तपाईं साँचो देशभक्त हो। जसले आमाको सम्मान गर्छ, उसैले देशको सम्मान गर्न सक्छ।
र जसले आमाको माया बुझ्छ, उसैले देशको स्वाधीनता र स्वाभिमानका लागि जस्तोसुकै परिस्थितिमा पनि लड्न सक्छ।















