सँगै विमान उड्दा वा अवतरण गर्दा प्रयोग हुने रुटको जग्गा (माथि उल्लेखित ठाउँ) पनि गुठीकै हो । तर, भूमाफिया, दलालहरुले सरकारी कर्मचारी, राजनीतिक दल र कानून व्यवसायीको मिलेमतोमा व्यक्तिको नाममा लगे । र, आम सर्वसाधारणलाई महँगोमा भिडाए । महँगोमा त्यस्तो जग्गा किनेर घर बनाएकाहरुको अहिले निन्द्रा न भोक छ ।
२०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजा चाहियो भन्दै हजारौंलाई सडकमा उतारे । शान्तिपूर्ण भनिएको आन्दोलन हिंसामा परिणत हुँदा दुई जनाको मृत्यु र करोडौंको धनमालमा क्षति पुग्यो । निजी तथा सरकारी सम्पत्तिमा अन्धाधुन्न आगो सल्काइएको थियो ।
त्यस्तै, भदौ २३ गतेको जेनजी आन्दोलनमा सहभागी हुन काठमाडौं महानगरपालिकाका तत्कालिन मेयर बालेन्द्र साह (बालेन) र त्यतिबेला नख्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरे । बालेन फेसबुकमा स्टाटस लेख्दै २८ वर्ष मुनिका सबैलाई आन्दोलनमा सहभागी हुन भनेका थिए ।
रविले पनि विज्ञप्ति नै जारी गरेर आन्दोलनमा समर्थन जनाएका थिए । यो आन्दोलन पनि शान्तिपूर्ण नै भनिएको थियो । भदौ २३ गते बिहानैदेखि माइतीघर मण्डलामा कलेज ड्रेमा विद्यार्थी तथा युवाहरु भेला हुन थाले । उनीहरु नाराबाजी गर्दै नयाँ बानेश्वरतर्फ लागे । तबसम्म सबै शान्त रह्यो । तर, प्रदर्शनकारीहरुले संसद् भवन तोडफोड गर्न खोजे ।
कानूनमा स्पष्ट लेखिएको छ कि सार्वजनिक तथा निजी सम्पत्तिमा आन्दोलनले क्षति पुर्याउन खोजेमा प्रहरीले खुँडामुनि गोली चलाउन पाउँछ । प्रदर्शनकारीहरुले नटेरेपछि प्रहरीले बाध्य भएर त्यो दिन गोली चलायो । त्यसक्रममा १९ जनाले ज्यान गुमाए । देश शोकमा डुबेको थियो । तर, बालेन र रविले यसैको फाइदा उठाए ।
बालेनले फेसबुकमा जथाभावी स्टाटस लेख्दै हिंसा भड्काउने काम गरे भने रविले आफ्ना सबै सांसदलाई राजीनामा दिन निर्देशन दिए । भोलिपल्ट बिहानैदेखि प्रदर्शनकारीहरु सडकमा ओर्लिएका थिए । उनीहरुले प्रहरीलाई लखेटे । राजनीतिक दलका नेताहरुको घर जलाए । त्यसपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए ।
योसँगै प्रदर्शनकारीको माग पूरा भयो तर उनीहरु रोकिएनन् । आन्दोलनको मौका छोपेर रास्वपाका नेता–कार्यकर्ताले नख्खु जेलमा रहेका रविलाई निकाले । उनी निस्किएलगत्तै देशभरका अदालत छानीछानी जलाइयो भने बालेनका समर्थकहरुले सिंहदरबारमा आगो सल्काएकोमा दुईमत छैन । सार्वजनिक सम्पत्ति त खरानी बनाइयो नै निजी सम्पत्तिमा समेत आगो लगाइयो । देश खरानी बन्यो ।
७६ जना युवाले ज्यान गुमाए । त्यसपछि बालेनले फेसबुकमा लेखे–हाम्रो आन्दोलन सफल भयो अब संसद् विघटन गरेर सरकार गठन गर्नुपर्छ । योबाट प्रष्ट छ कि यो आन्दोलन जेनजीको नभई बालेन र रवि मिलेर गरेका थिए । स्मरण रहोस्, जेनजी आन्दोलनमा होस् या दुर्गा प्रसाईं नेतृत्वको दुवै आन्दोलनका क्रममा सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आगजनी गर्न खोजिएको थियो । तर, सुरक्षाकर्मीले गोली हान्ने चेतावनी दिएपछि उनीहरु पछि हटेका थिए ।
त्रिभुवन एयरपोर्ट केबल एयरपोर्टमात्र होइन, यो निकै संवेदनशील र जोखिमपूर्ण ठाउँ पनि हो । यहाँ आयल निगमका इन्धनको डिपो छन् । थानकोटमा पनि निगमको डिपो छन् । हरेक आन्दोलनमा एयरपोर्ट र निगमका डिपोहरु प्रदर्शनकारीको नजरमा पर्ने गरेको छ । भिड भड्किनेबित्तिकै उनीहरुले यहाँ आगो सल्काउन पुगिहाल्छन् ।
तर, सुरक्षाकर्मीले बल्लबल्ल जोगाउँछन् । एयरपोर्ट वा थानकोटमा सानो दुर्घटना भएमा पनि ठूलो क्षति हुनेछ । केही गरी डिपोमा आगो सल्किएमा उपत्यका नै ध्वस्त हुनसक्छ । यही जोखिमलाई मध्यनजर गर्दै सरकारले ०८१ साउन २८ गते सिनामंगलको डिपो गुहेश्वरीमा सार्ने निर्णय गरेको थियो ।
यद्यपि, अहिलेसम्म डिपो सार्न सकिएको छैन । यहाँ डिपो दुर्घटना एकदमै जोखिम बढेको छ । त्रिवि एयरपोर्टभित्र वा आसपास विमान दुर्घटना हुँदै आएको छ । त्यतिबेला यो डिपोमा लागेमा हुनसक्ने क्षतिबारे कल्पनासमेत गर्न सकिँदैन । ०७४ फागुन २८ गते बंगलादेशको ढाकाबाट काठमाडौं आएको युएस–बंगला विमानसेवा फ्लाइट २११ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै दुर्घटनामा परेको थियो ।
त्यसक्रममा ५१ ज्नाले ज्यान गुमाए । ०८१ साउन ९ गते पनि एयरपोर्टभित्रै विमान दुर्घटना हुँदा १९ जनाको निधन भयो । १४ वर्षअघि नरेफाँटस्थित बालुवाखानीमा पनि भएको विमान दुर्घटनामा दर्जनौंले ज्यान गुमाएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा खुला रहन्छ । बिहान, दिउँसो, राति नै एयरपोर्टमा विमान ओहोरदोहोर गर्छन् ।
विमान उड्दा वा अवतरण गर्दा टिकाथली, जडीबुटी, नरेफाँट, लोकन्थली, पेप्सीकोला, काँडाघारी, मूलपानी, गोठाटार, दक्षिण ढोका, जोरपाटी, नयाँबस्ती, बौद्ध, गौरीघाट, चावहिल, गौशाला, सिनामंगल, एयरपोर्ट, पिंगलथान, माइती नेपाल, गैरीगाउँ, शान्तिनगर, तीनकुने, कोटेश्वर रुट प्रयोग गरिन्छ ।
अथवा यी ठाउँको माथिबाट प्लेन उड्छ । यो एरियामा एकदमै घना बस्ती छ । यहाँ ठूला र अग्ला घर, भवनदेखि पेट्रोल पम्प, ग्यास डिपो, पाटी प्यालेन्सलगायत सञ्चालन भएका छन् । यसले जोखिम अत्यन्त बढेको छ । अहिले यी एरियामा घर भएकाहरु रातभर सुत्न सक्दैनन् । एकातिर २४ सै घण्टा विमानको आवाज आइरहन्छ, अर्कोतिर विमान खस्ने हो कि भन्ने डर उत्तिकै छ । त्रिभुवन एयरपोर्ट सञ्चालित जग्गा पशुपति गुठीको हो ।
सँगै विमान उड्दा वा अवतरण गर्दा प्रयोग हुने रुटको जग्गा (माथि उल्लेखित ठाउँ) पनि गुठीकै हो । तर, भूमाफिया, दलालहरुले सरकारी कर्मचारी, राजनीतिक दल र कानून व्यवसायीको मिलेमतोमा व्यक्तिको नाममा लगे । र, आम सर्वसाधारणलाई महँगोमा भिडाए । महँगोमा त्यस्तो जग्गा किनेर घर बनाएकाहरुको अहिले निन्द्रा न भोक छ ।
उनीहरुलाई डर र त्रासमात्रै छ, एउटै कुराको । त्यो हो विमान आफ्नो घरमाथि खस्ने । सँगै हरेक आन्दोलनमा एयरपोर्ट निशानामा पर्ने भएकाले त्यस आसपास घर बनाएकाहरु आफ्नो घर पनि ध्वस्त हुने चिन्तामा देखिन्छन् । विमान कहिले, कसरी र कहाँ दुर्घटनामा पर्नसक्छ ? कसैले भन्न सक्दैन । किनकि यो आकस्मिक हो । सेकेण्डमै प्लेन दुर्घटनामा पर्नसक्छ ।
अहिलेसम्म भएका दुर्घटना घना बस्तीमा परेको छैन । तर, भविष्यमा पनि पर्न सक्दैन भन्न सकिँदैन । र, यदि यस्तो भएमा हुनसक्ने जनधनको क्षतिबारे सोच्नसमेत सकिँदैन । त्यसैले, अब सरकारले कि त एयरपोर्ट र डिपो अन्यत्र सानुृपर्छ होइन भने घना बस्ती हटाउनुपर्छ । विदेशमा विमानस्थल बस्तीभन्दा निकै टाढा राखिएको पाइन्छ ।
यसले दुर्घटना हुँदा ठूलो जनधनको क्षतिबाट रोक्छ । हामी कहाँ एयरपोर्टको जग्गा सीमित व्यक्तिहरुले आफ्नो नाममा ल्याएर सर्वसाधारणलाई बेची घना बस्ती बसाए । अहिले यसले एकातिर जोखिम बढेको छ, अर्कोतिर राज्यको सम्पत्ति कब्जा भएको छ । त्यसैले, सरकारले यसबारे बेलैमा सोचोस् । नभए राज्य आफैंले भविष्यमा ठूलो क्षति व्यहोर्नुपर्नेछ ।
यदि सरकारले पहिल्यै एयरपोर्ट आसपासको सबै जग्गा अधिग्रहण गरेको भए वा घरलगायत संरचना बनाउन स्वीकृति नदिएको भए आज जोखिम बढ्ने थिएन । यद्यपि, अझै समय छ, सरकारले कदम चालोस् । किनकि दुर्घटना परेर सबै ध्वस्त भएपछि कदम चालेर केही पनि हुनेछैन ।
















