आजकल भोजभतेरमै करोडौं खर्चिन थालिएको छ । पहिलातिर घरमा भोज राखिन्छ भने अहिले पाटी प्यालेसमा राखिन्छ । त्यहाँ खानाको परिकार र प्लेटअनुसार मूल्य तोकिएको हुन्छ । एक प्लेट खानाकै तीन हजारदेखि दश हजार रुपैयाँसम्म हुन्छ ।
पछिल्लो समय संस्कृति, चाडपर्व महंगिँदै गएको छ । आजकल विवाह, व्रर्तबन्ध, बर्थ डे, पास्नी, न्वारनलगायत नेपाली संस्कृति निकै खर्चिलो बनिरहेको छ । लाखदेखि करोडौं खर्च गरेर यी संस्कृति मनाउन थालिएको पाइन्छ । बर्थ डेमा समेत लाखौं खर्च गरी ठूलो पाटी राख्ने चलन बढ्दो देखिन्छ ।
संस्कृति हाम्रो गहना हो । जगेर्ना हो । यसको संरक्षण गर्ने हो । नाकि देखावट । दुर्भाग्य केही समययता देखासिकी एकदमै बढेको छ । अरुलाई देखाउनकै लागि भएपनि लाखौं खर्चिएर बिहे, व्रर्तबन्ध, एनिभर्सरीजलगायत मनाउने क्रम बढ्दो छ । यसले संस्कृतिको संरक्षण नगरी मासिने चिन्ता बढिरहेको छ ।
पहिलापहिला साधारण तरिकाले विवाह गरिन्थ्यो । घरमै विवाह गर्ने चलन थियो । घरमै भएका सामान र सीमित स्रोतको प्रयोग गरेर बिहे गरिन्थ्यो । अहिले यसको ठ्याक्कै उल्टो छ । बिहेमा लाखौं, करोडौं रकम खर्चिन थालिएको छ । घरजग्गा बेचेर भएपनि भव्य रुपमा बिहे गरिएको पाइन्छ । अनि एक दिनको भव्यताले जीवनभर दुःख दिन्छ ।
यतिमात्र होइन, बिहेपछि समेत अनेकौं भोजभतेर गरिन्छ । बिहेको भोलिपल्ट वा केही दिनमा रिसेप्सन राखिन्छ । त्यसमा पनि लाखौं खर्च गरिन्छ । त्यहाँ आउनेहरु सुनका गहनाले झपक्क भएर आउँछन्, महँगा महँगा कपडामा । बेहुला–बेहुलीको कपडा पनि एकदम महँगो हुन्छ । उनीहरुलाई गिफ्ट दिनुपर्छ ।
अनि आफ्नै परिवार वा नातागोताभित्र विवाह हुँदा आर्थिक अवस्था कमजोर भएकाहरु त जाँदै जाँदैनन् । उनीहरुसँग न राम्रो, महँगो कपडा हुन्छ न महँगो गिफ्ट दिनसक्ने हैसियत । साधारण कपडा र गिफ्ट बोकेर भएमा खिल्ली उडाइन्छ । कुरा काटिन्छ । अरुको सामु बेइज्जत हुनुभन्दा बिहेमै नगएको बेस गइँदैन ।
उता, निमन्त्रणा दिँदासमेत नआएपछि परिवार वा आफन्तबीचको सम्बन्धमै दरार उत्पन्न हुन्छ । खर्चिलो संस्कृतिले केबल अनावश्यक रुपमा पुँजीको बर्बादमात्र गरिरहेको छ, पारिवारिक सम्बन्धमा द्धन्द्ध निम्त्याउने काम पनि गरिरहेको छ । केही महिनाअघि सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय रुपैयाँ पुग्यो ।
सुन बनाएको ज्याला ४० हजार अलग्गै । चाँदी चाँहि ज्यालासहित १० हजार रपैयाँ पुगेको थियो । त्यतिबेला सुन व्यापारीहरु भन्थे–सुन पाँच लाख पुग्छ । चाँदी १५ हजार पुग्छ । सुन वि.सं. २०२२ सालसम्म् प्रतिोला ८० रुपैयाँ थियो । चाँदी त बिक्री नै हुँदैन्थ्यो । कानूनले सुनचाँदीलाई विलासित वस्तु भनेको छ । अर्थात् यसको केही पनि काम हुँदैन । यो अनुत्पादक वस्तु हो । सँगै घरजग्गा, गाडी र सेयर पनि विलासित वस्तु नै हुन् । तर, मानिसहरुले आफूसँग भएको रकम यीनै क्षेत्र वा वस्तुमा लगानी गरे । त्यो पनि ऋण लिईलिई ।
सुनको मूल्य बढे पनि बजारमा किन्ने कोही छैनन् । व्यापारीहरु सुन बेच्छन् तर किन्न मान्दैनन् । पैसा छैन भन्दै सुन बेच्न आएका सर्वसाधारणलाई फिर्ता पठाइदिन्छ । अनि जतिसुकै मूल्य बढेपनि आपतविपतमा काम नलाग्ने सुनको के काम ? हामी कहाँ विवाह, व्रर्तबन्ध, बर्थ डे, एनिभर्सरी, पास्नी, न्वारनमा सुन लगाउने चलन छ ।
घाँटीभरि सुनका गहना लगाइन्छ । पछि त्यसैले सुन लिन्छ । केही वर्षअघि राजधानीमै सुनको सिक्रीका लागि एक महिलाको विभत्स हत्या भएको थियो । सुनको लागि मान्छेको ज्यान लिन वा सुन लगाइएको शरीरका भाग (हात, कान) काट्नसमेत अपराधीहरु पछि पर्दैनन् । यसबारे थाहा हुँदाहुँदै नेपाली समाजमा भने अरुलाई देखाउनकै लागि सुन लगाएर हिँडेको पाइन्छ ।
यसले के बुझ्ने ? जनतामा चेतना नभएको कि चाहिनेभन्दा धेरै बुद्धिजीवी हुँदाको परिणाम ? हुन त यसमा सरकार पनि दोषी छ । शरीरभरि करोडौंको सुन लगाएर जनता हिँडिरहँदा राज्य त्यसको आयस्रोतबारे बेखबर देखिन्छ । कसरी कमाएर त्यत्रो सुन किनेको हो ? कतै भ्रष्टाचार र राजस्व छलेको पैसाबाट त किनिएको होइन ? यदि होइन भने उसको आयस्रोत के हो ? जस्ता विषय खोजतलासमा सरकारको ध्यान गएको पाइँदैन ।
जनताले जेसुकै गरेपनि सरकारलाई मतलब छैन । कालोधनलाई सेतोधन बनाइरहँदा सरकार आफ्नै पारामा छ । अनि जनताले आफ्नो मनमर्जी चलाउनु स्वभाविक हो । अर्कोकुरा, लाखौंदेखि करोडौं खर्चिएर संस्कृति मनाउने बढिरहँदा यसतर्फ पनि सरकारले चासो दिएको पाइँदैन । त्यसको आयस्रोतबारे सरकार बेखबर छ ।
आजकल भोजभतेरमै करोडौं खर्चिन थालिएको छ । पहिलातिर घरमा भोज राखिन्छ भने अहिले पाटी प्यालेसमा राखिन्छ । त्यहाँ खानाको परिकार र प्लेटअनुसार मूल्य तोकिएको हुन्छ । एक प्लेट खानाकै तीन हजारदेखि दश हजार रुपैयाँसम्म हुन्छ । सयौं मानिस आएका हुन्छन् । परिवारका पनि उत्तिकै हुन्छन् । अनि एउटैलाई हजारौंको खाना खुवाउँदा सयौंको हकमा लाखदेखि करोडौं खर्च हुन्छ ।
साधारण व्यक्ति वा कर्मचारीले यत्रो खर्च गर्न सक्दैन । किनकि उनीहरुको मासिक तलब ३० हजारदेखि बढीमा एक लाख हुन्छ । यो तलबले घर चलाउनुपर्यो, बालबच्चा पढाउनुपर्यो । बिरामी पर्दा उपचार गर्नैपर्यो । अनि भोजभतेर गर्ने पैसा कसरी आयो त ? जवाफ सहज छ, घुस, भ्रष्टाचार वा कमिशन । सरकारी कर्मचारीहरु घुसबिनै काम गर्देनन् ।
हरेक सामान खरिदमा कमिशन खान्छन् । ठेक्कापट्टामा भ्रष्टाचार गर्छन् । उता, व्यापारीहरु रजनीतिक पहुँचमा राजस्व छुट लिन्छन्, त्यो पैसाले नेताहरुलाई महँगा गिफ्ट दिन्छन् । उदाहरण भन्नुपरेमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीदेखि पुष्पकमल दाहाल प्रचण्डसहितको हातमा बाँधिरहेको लाखौंदेखि करोडौंको घडी हो । यहाँ जनतादेखि नेतासम्म इमान्दार भएनन् ।
सबैलाई आफ्नो रोटी सेक्न पाए भयो । जनता राज्यलाई कर तिर्न नपरोस् सोच्छन् त नेताहरु गिफ्ट पाएपछि ठूलाबडा व्यापारीलाई अर्बौ, खर्बौ कर छुट दिन्छन् । कर नउठेपछि देश कसरी विकास हुन्छ । सरकारी कर्मचारी कसरी धानिन्छ । हाम्रो खर्च एकदम बढी छ तर आम्दानी शून्य बराबर । राजस्व नउठाएकै कारण मुलुकले झण्डै ३० खर्ब ऋण बोकिसकेको छ । अझ यो बढ्दो क्रममा छ ।
अर्कोतर्फ, मुलुक कालोसूचीमा पर्ने जोखिम उत्तिकै छ । एक वर्षभित्र ग्रि लिष्टबाट ननिकाले देश कालोसूचीमा पर्छ । तब विदेशमा रहेका सबै नेपालीलाई स्वदेश नै फर्काइन्छ भने नेपाललाई विदेशीले ऋण र अनुदान नै दिने छैन । देश भ्रष्टाचारमा लिप्त छ । अनि सरकार चाँहि विकासको नारा लगाउँछ । निर्माण व्यवसायीको ४५ अर्ब, कोरोना बीमाको २४ अर्ब, स्वास्थ्य बीमाको ४३ अर्ब, दुध तथा उखु किसानको सात अर्ब बक्यौता दिन बाँकी छ ।
गत भदौमा भएको जेनजी आन्दोलनले ८४ अर्ब ७७ करोड ४५ लाखको सरकारी सम्पत्ति र २७ खर्बको निजी सम्पत्ति खरानी बनेको छ । सीमित व्यक्तिहरु (बालेन र रवि) ले आफ्नो स्वार्थका निम्ति देश नै खरानी बनाइदिए । मुलुक दशकपछि धकेलिएको छ । यही अवस्थाले अब नेपाल नै नरहने बहससमेत बजारमा शुर भइसकेको छ । अनि सरकार ऋण ल्याउनमा व्यस्त, जनता भोजभतेरमा मस्त ।
















