हामी वैदिक सनातन हिन्दू हौँ भनेर गर्व गर्ने, तर आफ्नै देशमा छुवाछुत गर्ने, घृणा गर्ने र खाडी पुगेपछि नौकर बन्ने? आफ्नै देशमा हुँदा ठूलो जात, सानो जात भनेर घृणा गर्ने, यो सानो काम, त्यो सानो काम भन्दै हेप्ने, आलसी गर्ने अनि विदेश पुगेपछि त्यो घमण्ड के हुन्छ?
म नियाल्दैछु एक एक कण, एक–एक थोपा। जुन पञ्चामृतले यो शरीर बनेको छ, जसको ऋण यो जन्ममा चुकाउन छ।
यो थोपा, यो कण कहाँको होला जस्तो लाग्छ? नेपाल आमाकै त होला नि! त्यसैले मलाई आफ्नै आमाको सपूत बन्नुछ र हरेक नेपालीलाई बनेको देख्नुछ।
हजुर, आफूलाई नेपाली हुँ भनेर कहिले महसुस गर्नुहुन्छ? छातीमा हात राखेर हेर्नुहोस् त! ढाका टोपी, दौरा–सुरुवाल लगाउँदा? कि मधेसको पगडी, कुर्ता लगाएको बेला?
हो, जसको ऊन, रङ र सिल्ने मेसिन विदेशबाट आएको छ? कि आफ्नो देशको राष्ट्रिय गान सुनेको बेला? हो, जुन बज्ने बाजा, बिजुली विदेशबाट आएको छ? कि विद्यार्थी भएर “मेरो देश” भन्ने निबन्ध पढ्दा?
जसको एक एक पाना, एक एक अक्षर विदेशबाट कपी पेस्ट भएर आएको छ? कि दशैंमा रातो टीका लगाएर, सेलरोटी खाएर, मोटरगाडीमा घुमेको बेला? जुन यहीँको माटोमा फलेको चामल, चिनी, तेल विदेशी बनेर आएको हुन्छ?
कि कहिले वीर गोर्खाली, पृथ्वीनारायण शाहको एकीकरणको गाथा टिभी, रेडियो, मोबाइलमा हेर्दा? कि माता जानकी, गौतम बुद्ध जन्मेको देश हो भनेर सम्झँदा, जबकि यहीँ अशान्ति र अराजकता फैलिएको छ? जहाँ विदेशी नाराबाजी र समर्थन देखिएको छ?
कि मिथिला, तराईवासीलाई “भारतीय”, हिमाल पहाडवासीलाई “चिनियाँ”, मुसलमानलाई “पाकिस्तानी” भनेको बेला? हो भने नेपाली को त?
जसको शरीर यो माटोको पञ्चामृतले बनेको छ, ती सबै होइनन् र? एउटा मानिसले मेरो आफ्नै सन्तान होस्, आफ्नै घरको छानो होस्, मेरो आफ्नै लुगा होस्, मेरो आफ्नै भोजन होस्, मेरो आफ्नै पहिचान होस्, मेरो आफ्नै सम्मान होस्, भन्ने चाहना राख्छ भने, हाम्रो समग्र नेपाल आमा र हामी नेपालीका लागि यीमध्ये के के छन् जस्तो लाग्छ?
कहिलेसम्म हामी बिचरा र दयाको पात्र भएर बस्ने? एक अर्कालाई दोष दिँदै बस्ने? “म वीर गोर्खाली हुँ” भनेर गर्व गर्ने, तर जब देशको सुरक्षाको कुरा आउँछ, तब पटाका समेत विदेशबाट ल्याउनुपर्ने?
हामी वैदिक सनातन हिन्दू हौँ भनेर गर्व गर्ने, तर आफ्नै देशमा छुवाछुत गर्ने, घृणा गर्ने र खाडी पुगेपछि नौकर बन्ने? आफ्नै देशमा हुँदा ठूलो जात, सानो जात भनेर घृणा गर्ने, यो सानो काम, त्यो सानो काम भन्दै हेप्ने, आलसी गर्ने अनि विदेश पुगेपछि त्यो घमण्ड के हुन्छ?
हो भने, यस्ता समस्या उत्पन्न किन भए? किनकि कुनै यस्ता स्वार्थ छन्, यस्ता भ्रम र गलत धारणाहरू छन्, यस्तो भ्रमात्मक विदेशी व्यापारिक जाल छ,
यस्तो ज्ञानको कमी छ, यस्तो मजबुरी छ, यस्तो आलस्य छ, यस्तो अनावश्यक घमण्ड छ। आफ्नो विवेक र ज्ञान प्रयोग नगरी अरूको कुरा सुनेर पछ्याउने बानी परेको छ, जो यो माटोभन्दा प्रिय बनेको छ। र त्यसको कारण के हो? आफू स्वाभिमानी नहुनु हो कि, आफू आलसी हुनु हो? हामीलाई जे पनि रेडिमेड चाहिन्छ।
चाहे जे खाएर होस्, हेपिएर, होचिएर होस्, जे भए पनि मेहनत नगरी पाउने होस्, छिटो होस्, के यही नै हाम्रो वास्तविक पहिचान र अस्तित्व हो?
यदि हामी यस्तै चाहन्छौँ भने, हामी आफू चाहिँ कहिले आफ्नै बन्ने? हामी नेपाली कहिले हुने र कसरी हुने? यसबारे कहिल्यै गम्भीर चिन्तन गर्नुभएको छ? यसका लागि यो माटोप्रतिको माया चाहिन्छ।
आफ्नो स्वार्थ, आफ्नो सम्मान, आफ्नो स्वाभिमानभन्दा पनि आफ्नो भावी पुस्ताको सम्मान, स्वाभिमान र आत्मनिर्भरता प्रतिको चिन्ता चाहिन्छ।
हामी सबैले जन्मदेखि नै आफ्ना ग्रन्थ, पाठ, अभिभावकबाट यही त्याग, यही प्रेरणा सिकेकै होइनौँ र? जो आफू केही नहुँदा पनि, केही नपाउँदा पनि आफ्ना सन्तानका लागि ठूला–ठूला सपना देख्छन्, ती महान अभिभावकहरू।
ती सपना पूरा गर्न सक्छन् भने, हामी पनि आफ्नो सन्तानको भविष्यप्रति जसरी चिन्तित हुन्छौँ, त्यसरी नै यो देशका जिम्मेवार नागरिकको दायित्व पूरा कहिलेदेखि गर्ने?
हामी समग्र नेपालीले भोलिको नेपालका लागि सामूहिक सपना कोर्नै पर्छ र ती सपना पूरा गर्नै पर्छ। त्यो कुरा रातारात हुने होइन।
तर हरेक ठूलो परिवर्तनको एउटा सानो सुरुवात हुन्छ। र त्यो सुरुवात हामी आफैँबाट हुन जरुरी छ। जय देश।














