अहिले बैंक, वित्तीय संस्था, निजी कम्पनी वा व्यक्तिका घरमा कम्पनीमार्फत खटिएका सेक्युरिटी गार्डहरूले तीनदेखि छ महिनासम्म तलब नपाएको बताउँछन्। यसको भित्री कुरा बुझ्दा बैंक, वित्तीय संस्था, निजी कम्पनी वा व्यक्तिहरूले नै तलब दिन नसकेको बुझिन्छ। अधिकांश सेक्युरिटी गार्ड भन्छन्, ‘तलब माग्दै कम्पनी जाँदा हामीले नै पैसा पाएका छैनौँ, तपाईंहरूलाई कसरी दिने भन्छन्।’
सुरक्षा निकायबाट अवकाशप्राप्त वा बेरोजगार व्यक्तिहरूलाई सेक्युरिटी गार्डको जागिर दिने भन्दै बाठा–ठगहरूले कम्पनी र फर्महरू खोलेका छन्। यसका लागि शुरुमै आवेदन फारम भर्दा एक हजारदेखि तीन हजार रुपैयाँसम्म बुझाउनुपर्छ। साथै, शैक्षिक योग्यताको प्रमाणपत्र र पहिला सुरक्षा निकायमा काम गरेको भए त्यसलाई पुष्टि गर्ने कागजात पनि पेश गर्नुपर्छ।
फारम बुझाएको केही समयपछि जागिर दिलाइन्छ। प्रायः बैंक तथा वित्तीय संस्थाको गार्ड वा कतिपय व्यक्तिको घरमा पनि सुरक्षाकर्मीका रूपमा खटाइन्छ। उनीहरूलाई मासिक १२ हजारदेखि बढीमा २० हजार रुपैयाँ तलब दिइन्छ। बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म काम लगाइन्छ। सार्वजनिक बिदा वा चाडपर्वको बेलासमेत छुट्टी दिइँदैन।
न त दसैँ पेश्की वा उपचार खर्च नै दिइन्छ। उल्टै बिरामी हुँदा बिदामा बसे तलब काटिन्छ। सेक्युरिटी गार्ड कम्पनी र फर्महरू पछिल्लो समय राम्ररी फस्टाएका छन्। अरूलाई शोषण गरेर यिनीहरूले कमाइरहेका छन्। काम गर्नेलाई कम तलब दिने, तर सम्बन्धित बैंक, वित्तीय संस्था वा व्यक्तिसँग भने मोटो रकम असुल्छन्।
यस्ता कम्पनीहरूले एउटै सेक्युरिटी गार्डको तलब मासिक ३० हजारदेखि ५० हजार रुपैयाँसम्म लिने गरेका छन्। तर, कामदारलाई त्यसको आधा तलबसमेत दिँदैनन्। यति मात्र होइन, सम्बन्धित बैंक, वित्तीय संस्था वा व्यक्तिबाट मासिक तलब उठाउँछन्, तर सेक्युरिटी गार्डलाई भने दुई–तीन महिनामा मात्र तलब दिन्छन्। दसैँ पेश्की लिन्छन्, तर गार्डलाई भने दिँदैनन्।
अहिले बैंक, वित्तीय संस्था, निजी कम्पनी वा व्यक्तिका घरमा कम्पनीमार्फत खटिएका सेक्युरिटी गार्डहरूले तीनदेखि छ महिनासम्म तलब नपाएको बताउँछन्। यसको भित्री कुरा बुझ्दा बैंक, वित्तीय संस्था, निजी कम्पनी वा व्यक्तिहरूले नै तलब दिन नसकेको बुझिन्छ। अधिकांश सेक्युरिटी गार्ड भन्छन्, ‘तलब माग्दै कम्पनी जाँदा हामीले नै पैसा पाएका छैनौँ, तपाईंहरूलाई कसरी दिने भन्छन्।’
सेक्युरिटी गार्ड कम्पनीहरूले पहिला बीचमा बसेर नाफा कमाए। अहिले भने सम्बन्धित संस्थाले तलब नदिएको भन्दै टारिरहेका छन्। बैंक, वित्तीय संस्था, निजी कम्पनी वा व्यक्तिले तलब भुक्तानी नगरे पनि आफूले पहिला कमाएको पैसाबाट तलब दिनुपर्ने हो। सेक्युरिटी गार्ड पेशा निकै जोखिमपूर्ण छ।
यसमा अरूको सुरक्षा गर्दा आफ्नो ज्यानै जोखिममा पर्न सक्छ। कोही पनि व्यक्ति यत्तिकै सेक्युरिटी गार्डको जागिर खान आउँदैनन्। आर्थिक अवस्थाका कारण उनीहरू ज्यान जोखिममा राखेर यो जागिर गर्छन्। जागिरबाट आउने तलबले नै उनीहरूको जीविकोपार्जन चल्छ। तर, तलब नै नपाएपछि के गर्ने ? के खाने ? बालबच्चा छन् भने कसरी पाल्ने ? कसरी पढाउने ?
ढोकामा बसेकै कारण हाकिमलाई दिनमै पटक–पटक सलाम ठोक्नुपर्छ। तर, त्यही हाकिमले उनको तलब दिइरहेको छैन। गार्डहरू भोको पेट बसेर संस्थाको सुरक्षा गर्छन्, ज्यानै जोखिममा राखेर। फेरि त्यही गार्डको तलब दिन भने आलटाल गरिन्छ। जतातिरबाट पनि उनीहरू पीडित छन्।
सेक्युरिटी गार्डले मात्र होइन, पछिल्लो समय बैंक, वित्तीय संस्था, बिग मार्ट, सुपरमार्केट, भाटभटेनी, निजी संघ–संस्था, होटल, रेस्टुरेन्ट तथा घरहरूमा काम गर्नेहरूले पनि तलब नपाएको व्यापक गुनासो छ। सरकारले श्रमिकको तलब मासिक १७ हजार तीन सय रुपैयाँ तोकेको छ। बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मात्र काम लगाउन पाइन्छ।
दसैँ पेश्की र उपचार खर्च दिनुपर्छ। विडम्बना, अहिले पनि मानिसहरू मासिक तीन हजारदेखि बढीमा दस हजार तलबमा बिहान ७ बजेदेखि बेलुका ७–८ बजेसम्म काम गर्न बाध्य छन्। उनीहरूलाई बिदाको दिनसमेत छुट्टी दिइँदैन। न त दसैँमा पेश्की न बिरामी हुँदा उपचार खर्च नै दिइन्छ। सरकारले बजार चलायमान भएको दाबी गर्छ।
यदि साँच्चिकै बजार चलायमान भएको भए, व्यापार–व्यवसाय नभएको जनाउँदै श्रमिकको तलब रोक्ने निजी संघ–संस्था, बैंक, वित्तीय संस्था, होटल, रेस्टुरेन्टलगायतलाई किन कारबाही गरिएको छैन ? अर्कोतर्फ, ढोकामा बस्ने गार्डको तलब दिन नसक्ने बैंक र वित्तीय संस्थाहरूले बचतकर्ताको निक्षेप फिर्ता गर्न सक्छन् त ? प्रश्न उठेको छ।
होटल र रेस्टुरेन्टमा छिर्दा तीन–चार दिनको बासी खानेकुरा दिइन्छ। जसले गर्दा मानिसहरू झन् होटल र रेस्टुरेन्ट जान छोडेका छन्। भाटभटेनी, सुपरमार्केट, बिग मार्टहरूमा पनि पछिल्लो समय ग्राहक देखिँदैनन्। यसको कारण मानिससँग पैसा नभएर हो, कुहिएको गुणस्तरहीन सामान भएर हो, वा सामान धेरै महँगो भएर हो ? यो सर्वसाधारणलाई नै थाहा होला।
बजारमा मन्दी छ। मन्दीका कारण व्यापार–व्यवसाय सुस्ताएको छ। जसको मार सम्बन्धित संघ–संस्था वा कम्पनीमा काम गर्ने सेक्युरिटी गार्डसहित कर्मचारीहरूमा परेको छ। यता, जनताले तिरेको करबाट प्रधानमन्त्री केपी शर्मा ओलीसहित भिआइपीहरूको सुरक्षामा खटिएका सेना, प्रहरी र सशस्त्र प्रहरीहरूले तलब–भत्ता खाइरहेका छन्।
भिआइपीहरूलाई सलाम ठोकेकै भरमा सेना, प्रहरी र सशस्त्र प्रहरीले तलब–भत्ता बुझिरहेका छन्। उनीहरूको काम सलाम ठोक्नुबाहेक केही हुँदैन। राजनीतिक दलका नेतालाई हिँड्न नसकेर सुरक्षाकर्मीहरूले हात समातेकोसमेत देखिन्छ। यसरी आफ्नै खुट्टामा उभिन नसक्नेहरूले देश विकास गर्छु भनेर ठूलाठूला भाषण गर्छन्।
यस्ता नेताबाट जनताले विकासको आशा गर्नु लज्जास्पद छ। कोही सुरक्षाकर्मी उठ्न नसक्नेलाई उठाएर वा सलाम ठोकेकै भरमा तलब–भत्ता बुझिरहेका छन्, कोही सेक्युरिटी गार्ड भने ज्यान जोखिममा राखेर भोको पेट काम गर्दासमेत तलब पाउँदैनन्। त्यसैले, अब तलब नपाएका सेक्युरिटी गार्डहरूले हाकिमलाई सलाम ठोक्ने होइन, कालोमोसो दल्नुपर्छ।
बूढापाकाले भन्थे, ‘बोल्न सक्नेको पिठो पनि बिक्छ, बोल्न नसक्नेको चामल पनि बिक्दैन।’ हामीकहाँ यस्तै भइरहेको छ। ओलीले आठ कक्षा मात्र पास गरेका छन्। तैपनि पटक–पटक देशको प्रधानमन्त्री बनिसके। अनि पीएचडी होल्डरहरू भने देशमा काम नपाएर भौँतारिरहेका छन्। अधिकांश त विदेश पलायन भइसके। अब यस्तै अवस्था रहिरहे देशमा युवा एउटै पनि हुने छैनन्।