मंगलवार, ३ असार, २०८२

जुम्लाको पातारासी गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता घोषणा

जुम्लाको पातारासी गाउँपालिकाले बालबालिकाको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण कदम चाल्दै “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना” घोषणा गरेको छ।

“स्थानीय स्रोतको उपयोग र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ आयोजित विशेष कार्यक्रममा गाउँपालिकाले सबै बालबालिकालाई राष्ट्रिय खोप तालिकाअनुसार सम्पूर्ण खोप प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रम वडा नं. २ का वडा अध्यक्ष तथा कार्यवाहक गाउँपालिका अध्यक्ष बल बहादुर बोहराको सभाध्यक्षतामा भएको थियो।

जिल्ला जनस्वास्थ्य कार्यालय, जुम्लाका प्रमुख कृष्ण सापकोटा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी र स्वयंसेवीहरूको बाक्लो सहभागिताले कार्यक्रमको महत्वलाई उजागर गरेको थियो।

कार्यक्रमको मुख्य उद्देश्य पातारासी गाउँपालिकाका सबै बालबालिकालाई खोपको पूर्ण पहुँच सुनिश्चित गर्नु थियो।

स्वास्थ्य शाखा इन्चार्ज रतन बुढाथोकीका अनुसार, गाउँपालिकामा ५ वर्षमुनिका ५२७ बालबालिका छन्, जसमध्ये ०–१५ महिनाका २१९ र १६–५९ महिनाका ३०८ छन्। तीमध्ये २४८ बालबालिकाले पूर्ण खोप प्राप्त गरिसकेका छन्।

बाँकी खोप छुटेका बालबालिकालाई पहिचान गरी खोप प्रदान गर्ने योजना बनाइएको छ। यो प्रयासले बाल मृत्युदर घटाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा छ।

कार्यक्रममा स्थानीय तहको स्वामित्व र नेतृत्वमा खोप कार्यक्रमलाई प्रभावकारी बनाउने कुरामा जोड दिइयो। प्रमुख सापकोटाले पालिकाहरूले पूर्ण खोप सुनिश्चितता हासिल गरेपछि वार्षिक रूपमा जिल्ला र प्रदेशस्तरमा प्रमाणीकरण गरिने बताए।

सभाध्यक्ष बोहराले बाल स्वास्थ्यलाई गाउँपालिकाको पहिलो प्राथमिकता बनाउँदै खोप कार्यक्रमलाई दीगो र प्रभावकारी बनाउने प्रतिबद्धता जनाए।

सहभागी सरोकारवालाहरूले सामुदायिक स्तरमा खोपको पहुँच र जनचेतना अभिवृद्धि गर्न सामूहिक उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा जोर दिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार