मंगलवार, ३ असार, २०८२

मारवाडीहरू आफ्नै देश फर्किंदै, नेपाल र नेपालीको कन्तविजोग!

निजी बैंकमा मारवाडीहरूको लगानी छ। अनि मारवाडीले नेपाल छोड्नासाथ सर्वसाधारणको पैसा पनि डुब्ने पक्का छ। हामी जनताले पनि कहिल्यै सोचेनौँ कि निजी बैंक सरकारको होइन, मारवाडीको हो।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भन्थे, ‘नेपालबाट मारवाडी हटाउनुपर्छ।’ तर, अहिले मारवाडीहरू आफैं भाग्न थालेका छन्। मारवाडीहरूले धमाधम नेपाल छोड्न थालेका छन्। नेपालमा मारवाडीहरूको लगानी विभिन्न क्षेत्रमा छ। विशेष गरी व्यापार व्यवसायमा मारवाडीको लगानी रहेको पाइन्छ।

यहाँ ठूला व्यापार, व्यवसाय तथा उद्योग सञ्चालन गर्दै आएका उनीहरू पछिल्लो समय नराम्ररी डुबेका छन्। मारवाडीहरूले आफ्नो उत्पादन साना व्यापारी तथा व्यवसायीलाई बेच्ने गरेका छन्। अधिकांश कारोबार उधारोमा हुने गर्छ। तर, भुक्तानी नपाएपछि मारवाडीहरू भाग्नुपर्ने अवस्थामा पुगेका छन्।

किराना वा खुद्रा पसलबाट बिग मार्ट, सुपरमार्केट, भाटभटेनीसहित अन्य विविध व्यवसायीले मारवाडीबाट लिएको सामानको भुक्तानी नदिएको बजारमा व्यापक चर्चा छ। उधारो कारोबारले व्यापार व्यवसाय चौपट हुनुका साथै ऋणको भारी भएपछि मारवाडीहरू आफ्नो देश फर्किन थालेका छन्। नेपालमा गर्दै आएका व्यापार व्यवसाय उनीहरूले बन्द गरिसकेका छन्।

खुद्रा पसलहरूले पाँच लाख भुक्तानी दिएपछि विश्वासको आडमा मारवाडीहरूले २० लाख रुपियाँसम्मको सामान उधारोमा दिन्थे। विश्वासमा पर्दा उनीहरू डुबेका छन्। नेपाली व्यापारी तथा व्यवसायीहरूले भारत र चीनबाट सामान आयात गर्दै आएका छन्। एउटै व्यापारीबाट सामान ल्याएपछि उधारो कारोबार हुन्छ। एक करोड भुक्तानी दिएर तीन करोडसम्मको सामान ल्याइन्छ।

विश्वासको आडमा त्यहाँका व्यापारी तथा व्यवसायीले उधारोमा सामान दिन्छन्। जसको फाइदा यहाँका अधिकांश व्यापारीहरूले उठाउँदै आएका छन्। एउटै व्यापारीबाट धेरै पटक सामान ल्याएर उधारो रकम बढी भएपछि उनीहरू सम्बन्धित व्यापारी तथा व्यवसायीको भुक्तानी नदिई सम्पर्कविहीन हुने गरेको सुनिन्छ।

अहिले भारत र चीनका अधिकांश व्यापारी तथा व्यवसायी नेपाललाई सामान दिन मान्दैनन्। केही गरी माने तत्काल भुक्तानी गर्नुपर्छ। तर, पैसा नहुँदा सामान ल्याउन सकिएको छैन। यहाँ भएका मारवाडी पनि आफ्नो देश फर्किन थालेका छन्। नभए उनीहरूलाई फकाएर भए पनि सामान ल्याइन्थ्यो। भएका मारवाडीहरू उधारो कारोबार नगर्ने अडानमा छन्।

सामान नै नपाएपछि यहाँका व्यापारी, व्यवसायीहरू पलायन हुनुपरेको छ। पहिला उधारोमा सामान पाइन्थ्यो। सहकारीले ऋण दिन्थ्यो। जसले गर्दा व्यापारीहरूलाई निकै सहज भएको थियो। तर, मारवाडीहरूको विश्वासको फाइदा उठाएर कतिपय व्यापारी तथा व्यवसायीले आफू मात्र कमाउन खोजे।

उनीहरूबाट सामान त भटाभट ल्याएर बेच्ने, तर भुक्तानी दिने बेला विभिन्न बहाना बनाउने। अति भएपछि मारवाडीहरू अब सामान नै नदिने निर्णयमा पुगेका छन्। बरु आफैं पलायन हुने, भुक्तानी नदिएसम्म सामान नदिने भन्नेमा उनीहरू पुगेका छन्। अहिले तोकिएको समयमा भुक्तानी नदिए सम्बन्धित व्यापारी, व्यवसायीको पसलबाट मारवाडीहरूले सामान उठाउँछन्।

पछिल्लो समय सटरहरू धमाधम खाली भएका छन्। मन्दीका कारण सटर खाली भएको बताइए पनि भित्री कुरा भने यस्तो छ। मारवाडीहरूले सामान नै नदिएपछि पसल खाली भएका छन्। अनि खाली पसल राखेर मात्र के गर्नु? जब व्यापार गर्न सामान नै छैन। त्यसैले, व्यापारीहरूले भटाभट सटर छोडिरहेका छन्। नेपालीहरूले अरूलाई ठग्न सिके।

आफ्नो स्वार्थ मात्र पूरा गर्न खोज्दा आज हामी जनताकै कारण देश सङ्कटमा परेको छ। हामी आफ्नो बारेमा मात्र सोच्छौँ। आफूले खाए पुग्छ। चुनावको बेला लोभलालचमा परेर गलत व्यक्तिलाई जिताउँछौँ। अनि फेरि नेताले काम गरेन, भ्रष्टाचार मात्र गर्‍यो भन्दै कराउँछौँ। हामी आफैँले गलत व्यक्तिलाई त्यहाँ पुर्‍याएका होइनौँ र? अनि गलत व्यक्तिबाट देशमा विकास, समृद्धिको आशा गरेर हुन्छ?

विकास, समृद्धि चाहिएको थियो भने चुनावको बेला लोभलालचमा फस्नुहुँदैनथ्यो। जनता आफ्नो बारेमा मात्र सोच्छन्। नेता, कर्मचारीलाई भ्रष्टाचार गर्न पाए पुग्छ। अरूको खोस्ने, आफ्नो चाहिँ मुठी पार्ने प्रवृत्ति मौलाउँदै गएको छ। जसले आज देशलाई क्षति पुर्‍याइरहेको छ। यदि यहाँका व्यापारीहरूले मारवाडी तथा विदेशी व्यापारीको विश्वासमा घात नगरेको भए आज सटर खाली हुने थिएन।

सामान नपाएकै कारण व्यापार व्यवसायबाट पलायन हुनुपर्ने थिएन। यहाँ व्यापार व्यवसाय गरेर राज्यलाई राजस्व तिर्दै आएका मारवाडीहरू आफ्नो देश फर्किंदैनथे। न त छिमेकी देशका व्यापारी, व्यवसायीको नजरमा नेपालको बदनाम हुन्थ्यो। तर, यहाँ त आफ्नो धोक्रो भर्न देशकै प्रतिष्ठामाथि आँच आउने काम गरियो।

मारवाडीहरूको सामानमा यहाँका व्यापारी, व्यवसायीहरूले रजगज चलाउँदा घरधनीहरू पनि मालामाल भएका थिए। एउटै सटरको मासिक ३० हजारदेखि १९ लाख रुपियाँसम्म भाडा असुले। खाली सटर त २० देखि ६० लाखमा किनबेच गरियो। अहिले मारवाडीहरू आफ्नो देश फर्किन थालेपछि यहाँका सटर त खाली भए नै, घरधनीहरूको निद्रा र भोक पनि हराएको छ।

घर बनाउँदा लिएको ऋण कसरी तिर्ने? भन्ने चिन्ताले उनीहरूलाई सताइरहेको छ। हुन त मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भनेका थिए, ‘यो देश मारवाडीले चलाइरहेको छ।’ उनको यो भनाइ सत्य सावित भएको छ। किनकि मारवाडीहरू नेपाल छोड्न थालेसँगै देश नै ध्वस्त वा टाट पल्टिने अवस्थामा पुगेको छ। अब अर्थतन्त्र सुध्रिने होइन, झन् जटिल अवस्थामा पुग्दै छ।

सरकारले पनि मारवाडीहरू सधैँ नेपालमा बस्छन्, कर तिर्छन् भनेर सोच्यo। तर, कुनै पनि देशका व्यापारी, व्यवसायी अर्को देशमा तबसम्म बस्छन्, जबसम्म उनीहरूलाई फाइदा भइरहन्छ। घाटा हुनासाथ जुनसुकै बेला पनि उनीहरूले अरूको देश छोड्न सक्छन्। यद्यपि, सरकारले यसबारे नसोच्दा आज देशको अर्थतन्त्र धरापमा परेको छ।

मुलुकमा सरकारी बैंक तीन वटा मात्र छन्—नेपाल बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंक। यी बैंकमा सरकारको ५१ प्रतिशत सेयर लगानी छ। अन्य निजी बैंकमा मारवाडीहरूको लगानी छ। अनि मारवाडीले नेपाल छोड्नासाथ सर्वसाधारणको पैसा पनि डुब्ने पक्का छ। हामी जनताले पनि कहिल्यै सोचेनौँ कि निजी बैंक सरकारको होइन, मारवाडीको हो। मारवाडी भाग्नासाथ हामी पनि डुब्छौँ भनेर नागरिकले कल्पनासम्म गरेनन्।

मारवाडी त आफ्नो देश फर्किन्छन्, तर त्यसको असर नेपालमा धेरै पर्ने देखिन्छ। किनकि मारवाडीले देश छोड्नासाथ सटर मात्र होइन, कोठा, फ्ल्याट पनि खाली हुन्छन्। व्यापार व्यवसाय नै चौपट हुन्छ भने बैंकमा सर्वसाधारणले बचत गरेको खर्बौँ रकम सङ्कटमा पर्छ। मारवाडीका कारण अब नेपाल र नेपालीको कन्तविजोग हुने देखिन्छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार