मंगलवार, ३ असार, २०८२

नक्कली दस्तावेज र झुटो बैंक ब्यालेन्सको आडमा अमेरिका, अस्ट्रेलिया पुगिँदै, काम नपाउँदा डिप्रेसनदेखि आत्महत्यासम्म!

नक्कली दस्तावेज र झुटो बैंक ब्यालेन्स देखाएर अमेरिका, अस्ट्रेलिया त पुगिन्छ। तर, त्यहाँ पुगेर काम नपाएपछि अधिकांश नेपालीहरू मानसिक समस्या र डिप्रेसनमा परेका छन्।

वैदेशिक अध्ययनका निम्ति देश छोड्ने युवाहरूको संख्या वर्षेनी बढ्दो छ। नेपालीहरू पढ्नका लागि विकसित मुलुकतर्फ पलायन भइरहेका छन्। अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापान, फ्रान्सलगायत विभिन्न विकसित देशमा लाखौँ रकम खर्च गरेर युवाहरू गइरहेका छन्। पढ्न जाँदा आम्दानीको स्रोत र बैंक ब्यालेन्स देखाउनुपर्छ।

तर, नक्कली दस्तावेज तयार पारेर विदेश जाने क्रम पछिल्लो समय निकै बढेको छ। जग्गाजमिन र आम्दानी केही नभए पनि पैसाको आडमा नक्कली दस्तावेज तयार पारिन्छ। बैंकका कर्मचारीलाई घुस खुवाइन्छ। झुटो बैंक ब्यालेन्स देखाउन लगाइन्छ। बचतकर्ताको रकम उसको खातामा देखाइन्छ। यसबापत बैंकका कर्मचारीले दुई लाख रुपियाँ लिन्छन्।

साथै, भिसा नलागेसम्म खातामा राखिएको त्यो रकमको ब्याज पनि असुलिन्छ। यसरी नक्कली दस्तावेज र झुटो बैंक ब्यालेन्स देखाएर भिसाका लागि पठाइन्छ। अनि बैंक ब्यालेन्स र आम्दानी देखेपछि अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत देशले अध्ययनका निम्ति भिसा दिन्छन्। उनीहरूलाई के थाहा कि ती सबै दस्तावेज र बैंक ब्यालेन्स नक्कली हुन्? यता, विदेश उड्नेबित्तिकै उसको खाता रित्तो हुन्छ।

किनभने उनीहरूबीच पहिल्यै यसबारे सम्झौता भएको हुन्छ। जसअनुसार त्यो व्यक्ति विदेश उड्नुअघि नै चेकमा हस्ताक्षर गर्न लगाइएको हुन्छ र सम्बन्धित देश पुग्नासाथ बैंकले उसको खातामा जम्मा गरिएको रकम निकाल्छ। अनि, सम्बन्धित खातावालाको खातामा जम्मा गरिदिन्छ। नक्कली दस्तावेज र झुटो बैंक ब्यालेन्स देखाएर अमेरिका, अस्ट्रेलिया त पुगिन्छ। तर, त्यहाँ पुगेर काम नपाएपछि अधिकांश नेपालीहरू मानसिक समस्या र डिप्रेसनमा परेका छन्।

फर्किन परिवारसँग पैसा समेत हुँदैन। विद्यार्थी भिसामा गएपछि काम पाइँदैन। काम खोज्न महिनौँ भौँतारिनुपर्छ। त्यसमाथि, विद्यार्थी भिसामा गएकाले काम गरेको त्यहाँको सरकारले थाहा पाएमा कारबाही गर्न सक्छ। यसले त्यहाँ लुकेर काम गर्नुपर्छ। एकातिर कलेजको शुल्क तिर्नुपर्ने हुन्छ, अर्कोतिर पैसा हुँदैन। अनि यही तनावले कतिपयले आत्महत्यासमेत गरेका छन् भने लाश ल्याउन समेत परिवारको हैसियत हुँदैन।

नक्कली दस्तावेज बनाएर अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत विकसित मुलुक पठाउने कन्सल्टेन्सीहरू थुप्रै छन्। पाँच लाखदेखि दश लाख रुपियाँसम्म लिएर उनीहरूले नक्कली दस्तावेज तयार गरी नेपाली विद्यार्थीहरूलाई त्यहाँ पठाउने गरेका छन्। कतिपय भने भिजिट भिसामा अमेरिका, अस्ट्रेलिया गएर त्यतै लुकेर बस्छन्। जसका कारण अन्तर्राष्ट्रिय स्तरमा नेपालको बदनाम भएको छ।

बैंकमा भएको पैसा सर्वसाधारणको हो। तर, बैंकका कर्मचारी, सञ्चालक र अध्यक्षहरूले आफ्नो स्वार्थका निम्ति जनताको पैसा जथाभावी लगानी गरेका छन्। बचतकर्ताहरू आफ्नो पैसा बैंकमा राखेपछि भौचरको भरमा घर फर्किन्छन्। बैंकमा आफ्नो रकम सुरक्षित छ भनेर उनीहरू ढुक्क भएर घरमा बस्छन्।

विडम्बना, बैंकका सञ्चालक, कर्मचारी र अध्यक्षहरूले छिटो कमाउन बचतकर्ताको रकम जोखिमपूर्ण क्षेत्र वा जथाभावी लगानी गरिदिन्छन्। झुटो बैंक ब्यालेन्स देखाउनदेखि घरजग्गा, गाडी, सेयरजस्ता जोखिमपूर्ण क्षेत्रमा बचतकर्ताको खर्बौँ रकम लगानी गरिएको छ। यसमा लगानी गर्दा बैंकका हाकिम र कर्मचारीलाई घुस आएपछि बचतकर्ताको रकम भने संकटमा पर्छ। स्मरण रहोस्, घरजग्गा, गाडी र सेयरमै लगानी गरेका कारण सहकारीहरू भाग्नुपरेको छ।

सहकारीमा बचत गरेका बचतकर्ताहरूको रुवाबासी भएको छ। वर्तमान सरकारमा ऊर्जामन्त्री दीपक खड्का छन्। उनले विभिन्न बैंकबाट १४ अर्ब ऋण लिएको तर साँवा र ब्याज नतिरेको वर्षौँ भइसक्यो भन्ने चर्चा बजारमा व्यापक छ। यस्तै, मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि बैंकबाट ११ अर्ब ऋण लिएका छन्। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले विभिन्न बैंकबाट ५३ अर्ब ऋण लिएका छन्। यद्यपि, दुवैले बैंकको साँवा र ब्याज नतिरेको बताइन्छ।

यो त उदाहरण मात्रै हो। बैंकले अन्य ठूला व्यापारी तथा व्यवसायीलाई अर्बदेखि खर्बसम्म ऋण दिएको छ। अनि, सर्वसाधारणले दुखले कमाएको पैसा बैंकका हाकिम र कर्मचारीको मिलेमतोमा व्यापारी र व्यवसायीमाथि मनलाग्दी रूपमा खर्च हुँदा सरकार भने मौन छ। सरकारले न त त्यस्ता बैंकलाई कारबाही गर्छ, न त बचतकर्ताको रकमको ग्यारेन्टी गर्छ। किनभने भोलि त्यो व्यापारीले ऋण नतिर्नेबित्तिकै डुब्ने भनेको जनता हुन्। बैंकका सञ्चालक, अध्यक्ष र कर्मचारी त भागिहाल्छन्।

सरकार भन्छ, ‘राज्यको ढुकुटी रित्तो छ। देशमा पैसा छैन।’ पढ्ने नाममा वर्षेनी लाखौँ विद्यार्थी विदेश पलायन भएका छन्। उनीहरूसँगै खर्बौँ रकम विदेशिएको छ। अमेरिका, अस्ट्रेलिया जान एउटै विद्यार्थीले २० देखि ३० लाख रुपियाँसम्म खर्च गर्ने गरेका छन्। आफ्ना छोराछोरी विकसित मुलुक पठाउन अभिभावकले जायजेथा सबै बैंकमा धितो राखेर ऋण लिएका छन्। अहिले छोराछोरी त्यहाँ पुगे पनि राम्रो आम्दानी नभएपछि उनीहरूले ऋण तिर्न सकेका छैनन्।

बैंकको साँवा र ब्याज दिनहुँ बढिरहेको छ। आम्दानी भने केही छैन। उनीहरू ऋण तिर्न नसक्ने अवस्थामा पुगिसकेका छन्। यसैले, कतिपयले त हातै उठाइसकेका छन्। आफ्नो धितो लिलाम गर्न भनिसकेका छन्। तर, केही वर्षयता घरजग्गा, गाडी र सेयरमा आएको मन्दीका कारण धितो लिलाम गरेर बेचे पनि सम्पूर्ण ऋण असुल हुन सक्ने अवस्था छैन।

आफ्नो निक्षेप बैंकले जथाभावी लगानी गरेको थाहा पाएपछि सर्वसाधारण धमाधम आफ्नो पैसा निकालिरहेका छन्। जोखिम भएपछि घरमै पैसा लुकाएका छन्। किनभने उनीहरू सहकारीका बचतकर्ताको अवस्थामा पुग्न चाहँदैनन्। मुलुकमा मन्दी आउनुमा बैंक र वित्तीय संस्थाहरू प्रमुख कारण हुन्। सोचविचार नगरी घुसको आडमा बैंक, वित्तीय संस्थाका सञ्चालक, अध्यक्ष र कर्मचारीहरूले जथाभावी लगानी गर्दा जनता त डुबे नै, देश पनि संकटमा परेको छ।

गाडी छिटो कुदाएमा दुर्घटना हुन सक्छ। त्यसरी नै छिटो कमाउने लोभमा अघि बढेका बैंक र वित्तीय संस्थाका हाकिम र कर्मचारीका कारण आज देशको अर्थतन्त्र धराशायी अवस्थामा पुगेको छ। हुन त बैंक र वित्तीय संस्थाको नियत नै अरूलाई ठग्नु र लुट्नु हो। बाहिर सभ्य भएर भित्रभित्रै बचतकर्ता र ऋणीलाई डुबाउने।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि भने, ‘यसअघि प्रधानमन्त्री हुँदा अहिलेजस्तो पैसाको हाहाकार थिएन।’ देशलाई यो अवस्थामा कसले पुर्‍यायो त? बैंक र वित्तीय संस्थाले होइन र! छिटो कमाउन जनताको रकम जथाभावी लगानी गरिदिए। आज देश र जनता दुवै कंगाल भएका छन्। जनता कर तिर्न त परको कुरा, बाँच्न पनि नसक्ने अवस्थामा पुगेका छन्। अनि, जनताले कर नतिरेपछि देशको ढुकुटी रित्तो नभएर के हुन्छ?

अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले अब बैंक र वित्तीय संस्थालाई बचतकर्ताको रकम जथाभावी लगानी गर्नबाट रोक्नुपर्छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार