जुम्ला कर्णाली प्रदेशस्थित सिंजा गाउँपालिकाले इन्धनको निरन्तर मूल्यवृद्धिलाई मध्यनजर गर्दै सवारी साधन प्रयोगमा कडाइ गर्ने निर्णय गरेको छ।
गाउँ कार्यपालिकाको कार्यालय नराकोटले जारी गरेको सूचनाअनुसार अब जनप्रतिनिधि तथा कर्मचारीहरूले अत्यावश्यक र आधिकारिक कामबाहेक सवारी साधन प्रयोग गर्न नपाउने भएका छन्।
नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०८२ चैत २२ को निर्णयअनुसार सरकारी कार्यालयमा शनिबार र आइतबार सार्वजनिक विदा दिने व्यवस्था लागू भइसकेको सन्दर्भमा गाउँपालिकाले आफ्ना सीमित स्रोतसाधनको उचित व्यवस्थापन तथा आर्थिक भार न्यूनीकरण गर्न यस्तो कदम चालेको हो।
सूचनामा अत्यावश्यक कामका लागि सवारी साधन प्रयोग गर्नुपरेमा सम्बन्धित शाखा प्रमुख वा प्रमुख प्रशासकीय अधिकृतको पूर्व स्वीकृति लिनुपर्ने उल्लेख गरिएको छ। साथै इन्धनको मितव्ययी र प्रभावकारी उपयोगमा विशेष जोड दिइएको छ।
गाउँपालिकाले जारी गरेको सूचनालाई बेवास्ता गर्दै सवारी साधनको दुरुपयोग गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ।
















