मंगलवार, १० चैत्र, २०८२

बजारमा चरम महंगी, अभाव र कालोबजारी, रास्वपा चुपचाप

दलालीदेखि सहकारीका बचतकर्तासम्मले घण्टीमा भोट हालेका छन् । घरजग्गा, गाडी र सेयरको मूल्य र कारोबार बढ्ने आशामा दलाली परिवारले नै रास्वपालाई मतदान गरे । रास्वपा सरकार गठनको एक सय दिनमै आफ्‌नो निक्षेप फिर्ता आउने आशामा वित्तिय पीडितहरुले घण्टीमा भोट हालेका हुन्।

बजारमा ग्यास र पेट्रोलियम पदार्थको चरम अभाव छ । जताजतै गुनासो सुनिन्छ–एकातिर भाउ बढेको छ, अर्कोतिर जहाँ गएपनि ग्यास, पेट्रोल, डिजेल पाइँदैन । केही दिनअघि नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ, डिजेलमा १०, ग्यासमा प्रतिसिलिण्डर २१६ रुपैयाँ मूल्यवृद्धि गर्यो । ग्यास र पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै व्यापारीहरुले अन्य सामानको पनि ह्‌वात्तै भाउ बढाएका छन्।

एक सयको सामान पाँच सय रुपैयाँ पुर्याएका छन् । फागुन २१ ग्ते प्रतिनिधिसभा सदस्य निर्वाचन भयो । पुराना दलहरु (कांग्रेस, एमाले, माओवादी, नेकपा एस, मधेशी दल) केही गरेनन् भनेर जनताले योपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घण्टी चिन्हमा भोट हाले । प्रत्यक्षतर्फ १६५ मा रास्वपाले १२५ सिट जित्यो । त्यस्तै, समानुपातिकमा ५७ सिट जितेको छ । योसँगै रास्वपा संसद्को पहिलो दल बन्यो।
अब रास्वपा नेतृत्वको बहुमत सरकार बन्दैछ।

पुराना दलले देश र जनताका निम्ति केही गरेनन्, आफ्‌नालाई मात्र पोसे भन्ने जनतामा आक्रोश थियो। त्यही आक्रोश उनीहरुले चुनावमा घण्टीलाई भोट हालेर पोखे । तर, योपटक पनि जनता निराश नै बन्ने निश्चित छ । किनकि रास्वपाका पात्रहरु पनि पुरानाभन्दा कम छैनन्। सभापति रवि लामिछानेमाथि मुद्दैमुद्दा छ । अमेरिकादेखि नेपालसम्म उनीमाथि ठगीलगायतको दर्जनौं मुद्दा छन्।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहले चुनावी प्रचारप्रसारका क्रममा व्यापारीले दिएको अर्बौको गाडी चढेका थिए । यतिमात्र होइन, गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा पनि उनीहरुकै संलग्नता थियो । बालेनले फेसबुकमार्फत र रविले जेलमा बसेर आन्दोलन भड्काएका थिए । आन्दोलनको नाममा मुलुकको इतिहास सिंहदरबार जलाइयो । यसमा बालेनको संलग्नता रहेको कुरा नकार्न सकिन्न।

किनकि ०८० भदौ १६ गते शनिबार आफ्‌नी श्रीमती चढेकी सरकारी गाडी ट्राफिकले एक मिनेट रोक्दा बालेनले फेसबुकमा स्टाटस लेखेर सिंहदरबार जलाइदिने चेतावनी दिएका थिए । नभन्दै सिंहदरबार खरानी बन्यो । उता, आन्दोलनका क्रममा रवि जेलबाट भागेपछि देशभरका न्यायालय छानीछानी जलाइयो । देश खरानी बनाउनेहरुलाई सजाय दिनुको साटो जनताले उल्टै भोट दिएर जिताए ।
यसको परिणाम जनताले भोग्न पनि थालिसके । चुनावअघि वा रास्वपाको बहुमत आएपछि बजारमा अधिकांश भन्थे, ‘अब महंगी स्वाट्टै घट्छ । विकासको बाढी आउँछ । भ्रष्टाचारीलाई कारबाही हुन्छ ।’ तर, रास्वपाले चुनाव जित्नेबित्तिकै ग्यास र पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि भएको छ। अझै भाउ बढ्ने छ । अनि हिजोसम्म घण्टीको गुनगान गाउनेहरु आज किन चुपचाप छन् । चुनावका बेला रास्वपा कार्यकर्ताहरुले पुराना दललाई भोट हाल्नेहरु भेडा हुन्‌जस्ता अश्लील गालीगलौज गरेका थिए।

अहिले रास्वपाले बहुमत ल्याउँदासमेत महँगी र कालोबजारी मौलाएको छ । त्यसैले, रास्वपा कार्यकर्ताहरु कुटिने डरले घरबाट बाहिर निस्कनै छोडेका छन् । धेरैजसोले रास्वपा सरकार बनेपछि महँगी घट्छ, ग्यास र पेट्रोलियम पदार्थ सहजै पाइन्छ, तलब बढ्छ, वृद्धभत्ता बढ्छ, रोजगारी पाइन्छजस्ता आशामा घण्टीलाई भोट हालेका थिए । तर, केही समयमै उनीहरु पछुताउन थालेका छन् ।
बजारमा कालोबजारी मौलाउँदा, ग्यास र पेट्रोलियम पदार्थमा अचाक्ली मूल्यवृद्धि र हाहाकार हुँदासमेत रास्वपा चुप छ । जनताको सहजताका निम्ति रास्वपाले केही गरेको छैन । सरकार गठन नहुँदा त जनताको गुनासो र पीडा अनदेखा गर्ने रास्वपाले सरकार बनेपछि जनताको हितमा काम गर्छ भनेर आशा गर्नु नै हास्यास्पद छ । रास्वपाको दिनगन्ती शुरु भइसक्यो।

देशभित्रै त यस्तो समस्या निम्तिसक्यो । विदेशमा झन् युद्ध लम्बिँदो छ । इजरायल, अमेरिका र इरानबीचको युद्धले भयावह रुप लिँदैछ । यो युद्ध खाडी मुलुकसम्म फैलिएको छ । खाडीमा आक्रमण बढ्दो छ । त्यहाँ ३० लाख बढी नेपाली श्रमिक छन् । नेपालीको प्रमुख श्रम गन्तव्य खाडी नै हो । खाडीबाटै सबैभन्दा धेरै रेमिट्यान्स आउने गरेको छ । तर, युद्धसँगै खाडीमा रहेका लाखौं नेपालीको ज्यान खतरामा परेको छ।

उनीहरु उद्धारको पखाईमा छन् । जुन तत्काल सम्भव देखिँदैन । अब बन्ने रास्वपा सरकारले खाडीमा रहेका नेपालीको उद्धार गर्न नसके नेपालमा रहेका उनीहरुका आफन्त सडकमा आउने नै छन् । अनि रास्वपाले केही गरी उनीहरुलाई उद्धार गरेर नेपाल ल्याएपनि रोजगारीसँग जोड्न सक्दैन । अनि रोजगारी नपाउनेबित्तिकै फेरि आन्दोलन शुरु भइहाल्छन्।

युद्धकै कारण पेट्रोलियम पदार्थ र ग्यासको पनि अभाव बढेको छ । योसँगै सरकारले सवारीसाधनमा जोर र बिजोर प्रणाली लागू गर्ने तयारी गरेको छ । यसो हुनेबित्तिकै अधिकांश सवारीसाधन थन्किछन् । सार्वजनिक यातायातको भाडा अहिले नै बढिसक्यो अब झन् बढ्नेछ । अनि एकातिर महंगी, अर्कोतिर अभावले जनतामा आक्रोश त बढ्नेछ र त्यो आक्रोशको सिकार रास्वपा सरकार हुनेछ। रास्वपाले पुराना दलमाथि हिलो छ्यापेर बहुमत त ल्यायो । तर, यो बहुमत उसैलाई भारी पर्ने देखिँदैछ । किनकि सरकार बाहिर भएर जति कराउन, आरोप लगाउन सजिलो छ, उत्तिकै गाह्रो छ सरकारमा पुगेर काम गर्न । रास्वपा आफैंले केही समयपछि सरकार छोडेर भाग्नेछ।

रास्वपा जनताको अपेक्षामा खडा हुन सक्दैन । किनकि जुन अपेक्षाले जनताले घण्टीमा भोट हालेका छन्, त्यो पूरा गर्न पैसा चाहिन्छ।राज्यको ढुकुटी भरिभराउ हुन आवश्यक छ । जुन अहिले रित्तो छ । पाँच वर्षयता बजारमा मन्दी छ । सरकारले राजस्वको प्रमुख स्रोत बनाएको घरजग्गा, गाडी र सेयर कारोबार ठप्प छ । महँगीले जनताको ढाड सेकिएको छ । गरिब बढ्दो छ । सहकारी, लघुवित्त र फाइनान्समा करोडौंको निक्षेप डुबेको छ।

दलालीदेखि सहकारीका बचतकर्तासम्मले घण्टीमा भोट हालेका छन् । घरजग्गा, गाडी र सेयरको मूल्य र कारोबार बढ्ने आशामा दलाली परिवारले नै रास्वपालाई मतदान गरे । रास्वपा सरकार गठनको एक सय दिनमै आफ्‌नो निक्षेप फिर्ता आउने आशामा वित्तिय पीडितहरुले घण्टीमा भोट हालेका हुन् ।
उनीहरुको अपेक्षा पूरा नहुनेबित्तिकै सडकमा जम्मा भइहाल्छन् । त्यसमा विपक्षी दलहरुले साथ दिइहाल्छन् अनि त्यो आन्दोलनले लिने रुपबारे कल्पनासमेत गर्न सकिँदैन । भदौमा देश खरानी बनाएको कुरा सबैले सिकिसके।

जुन रास्वपाले नै सिकाएको हो । नभए रास्वपामा देश खरानी बनाउनेहरु सांसद हुने थिएन ।
आगो लगाएपछि सरकारमा पुग्ने रहेछ भनेर जनताको दिमागमा छाप बसिसक्यो । यही छाप केही समयपछि रास्वपा सरकारविरुद्ध चर्किने आन्दोलनमा अवश्य देखिनेछ । तब केपी शर्मा ओलीभन्दा नाजुक हालत हुनेछ बालेन र रविको । स्मरण रहोस् कि भोक र अभावले जनताले जे पनि गराउन लगाउनेछ ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार