शुक्रबार, ६ चैत्र, २०८२

निर्वाचनको महिना दिन नबित्दै उपत्यकाबासीको गुनासोः रास्वपाका सांसद न फोन उठाउँछन् न भेट्न दिन्छन् !

रास्वपाका उपसभापति डा स्वर्णिम वाग्लेले केही दिनअघि सचिवहरुलाई फोन गर्दै ठूला निर्णय नगर्न निर्देशन दिए । रास्वपाले गौरीबहादुर कार्कीको आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न रोक लगाइरहेको छ । अनि रास्वपामा सुशासन छ ? त्यो प्रतिवेदन त सार्वजनिक गरेर कार्यान्वयनमा लैजान लगाउनुपर्थ्यो

राष्ट्रिय स्वतन्त्र पार्टीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं उपत्यकामा क्लिन स्विप गर्यो । उपत्यकाभित्रका १५ वटा क्षेत्रमै रास्वपाका उम्मेदवार विजयी भए । प्रत्यक्ष र समानुपातिक गरेर रास्वपाले कूल १८२ सिटमा जित निकालेको छ। तर, अहिले नै रास्वपाप्रति उपत्यकाबासीको गुनासो शुरु भइसकेको छ । न फोन उठाउँछन् न सम्पर्क कार्यालयबारे जानकारी दिन्छन् । पुराना पार्टीझैं जितेपछि रास्वपाका सांसद दुलोभित्र छिरेको उपत्यकाबासी बताउँछन् । भोट माग्न घरमा आउँदा यो–त्यो भन्ने र चुनाव जितेपछि हराउने परिपाटी पुरानै हो।

जनतालाई बेवास्ता गर्दाको असर अहिले पुराना दलले भोगिरहेका छन् । रास्वपा पनि पुरानै दलको बाटोमा गएको छ । यहीँ पारा देखाउने हो भने रास्वपा पनि पाँच वर्षपछि बढारिन्छ । रास्वपाले आफूलाई आवाजविहिनको आवाज बताउँदै आएको छ । आफूलाई परिवर्तनको पार्टी भएको दाबी रास्वपाले गर्छ यद्यपि, रास्वपाको भनाइ र गराइ देखिइसकेको छ । रास्वपाले पुरानै दलको सिको गरिरहेको छ । हालै रास्वपाले नवनिर्वाचित सांसदहरुलाई दुई दिने अभिमुखीकरण तालिम दिएको छ । खुला चौरतिर तालिम दिनसक्ने भएतापनि रास्वपाले करोडौं खर्चेर पाँच तारे होटल बुक गरेको हो।

त्यत्रो पैसा कहाँबाट आयो ? कि कुनै व्यापारीको स्पोन्सर पो हो कि । परिवर्तनको नारा लगाउनेले पाँच तारेमा त्यत्रो कार्यक्रम गर्छ ? परिवर्तन भन्नेले त जनतालाई सादगी देखाउनुपर्ने हो । पुराना दलहरुले पनि यसरी नै पाँच तारेमा कार्यक्रम गर्थें । उनीहरुको हविगत के भयो ? देखिइसकेको छ। त्यसबाट रास्वपाले पाठ सिक्नुपर्ने थियो । विडम्बना, सिकेको देखिएन । हुन त रास्वपाले जतिसुकै परिवर्तन लगाएपनि प्रायः विवादित पात्रलाई सांसद बनाएको छ । तिनीहरु राजनीतिमा कमाउन आएका हुन् भन्ने कुरामा दुईमत छैन । जनताले पाँच वर्षको जिम्मेवारी दिइहाले, त्यसपछि सांसद भए नि, नभएनि तिनलाई के मतलब ?

यही पाँच वर्षमा कमाउँछन्, जान्छन्। काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट रास्वपा सांसद बदनकुमार भण्डारीले फेसबुकमा दुई दर्जन बुँदा लेख्दै जागिर माग्न, स्कुल भर्ना गर्न आफूकहाँ नआउनु भनेका छन् । हिजो भोट माग्दा जागिर दिन्छु भन्ने रास्वपा नै होइन । अहिले जागिर माग्न नआउनु भन्न मिल्छ ? पढ्न पाइएन भने आफ्‌ना जनप्रतिनिधिलाई नभनेर अरु कसलाई भन्ने ? पढ्न पाउने त सबैको अधिकार होइन ? अनि स्कुल भर्ना गर्नका लागि आफूकहाँ नआउनु भन्न मिल्छ ? सांसदले यस्तो भनेपछि जनता आफ्‌नो दुःखपीडा सुनाउन कहाँ जाने ? रास्वपामा जनमुखी नेता छन् भन्नु भ्रम मात्र हो।

आगामी प्रधानमन्त्रीका दाबेदार बालेन्द्र साहले २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट काठमाडौं महानगरपालिकाको मेयर जिते । उनमा कति जवाफदेहिता, पारदर्शिता छ ? भन्ने कुरा मेयर हुँदै छर्लङ्ग भइसकेको छ । उनी कहिल्यै जनताको माझमा आएनन्। जनता भेटिन्छ भनेर उनले महानगरमा आफू र आफ्‌ना आसेपासे चढ्ने छुट्टै लिफ्‌ट बनाए । पार्टी सभापति रवि लामिछानेकै पृष्ठभूमि केलाउने हो भने रास्वपा कस्तो पार्टी हो ? प्रमाणित हुन्छ । अमेरिकादेखि नेपालसम्म रवि मुद्दा खेपिरहेका छन् । उनीमाथि ड्राइभरदेखि पत्रकार मारेको आरोप छ।

यस्ता व्यक्ति पार्टीको सभापति छन् भने सांसद कस्ता होलान् ? रविले कतिसम्म जनता झुक्याउन सक्छन्, २०७९ मंसिर ४ गते भएको निर्वाचनबाटै थाहा हुन्छ । नेपालीलाई फ्रि टिकट र फ्रि भिसामा नेपाल फर्काउने बताएका उनले पछि ‘टिकट बन्द छ र, आफैं काट्ने आउने’ भनेका थिए। निर्मला पन्त प्रकरणमा दोषी पत्ता लगाएरै छोड्ने दाबी गरेका उनको त्यो कुरा पनि ‘हात्ती आयो, हात्ती आयो, फुस्सा’ जस्तै भयो । रास्वपा दुईपटक सरकारमा जाँदा सिन्कोसमेत भाँचेन । अहिले सहकारीको बचतकर्ताको पैसा फिर्ता दिने प्रलोभन देखाएर रास्वपाले चुनाव जितेको छ।

कहाँबाट ल्याएर दिने ? खाने बेला आफूहरु खाने अनि जनताले तिरेको करबाट दिने ? रास्वपाले १६५ क्षेत्रमै आफ्‌नो उम्मेदवार उठाएको थियो । त्यसमध्ये १३२ जना नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी छोडेर गएकाहरु छन् । तिनले चुनाव जितेका छन् ।
अर्को पार्टीमा बसेर फाइदा हुञ्जेल उठाएर अनि रास्वपामा प्रवेश गरेका त्यस्ता व्यक्तिहरुले जनताको हितमा काम गर्छन् ? एनजिओ सञ्चालन गरेर बस्नेले पनि रास्वपाबाट टिकट पाएका छन् । टिकट पाउनेपनि पुराना दलका कार्यकर्ता, भोट हाल्नेपनि दलका कार्यकर्ता । कतिले टन्न कमाएर बचाउन रास्वपामा गएका छन्, कति कमाउने मौका नपाएर रास्वपा प्रवेश गरेका छन्।

२०५४ सालमा एमाले फुटेर माले बन्यो । एमालेबाट फुटेर वामदेव गौतम, गोविन्दनाथ उप्रेती, सानो प्रधानलगायत माले भए । चुनाव भएको एक महिना पनि भएको छैन । तर, रास्वपा फुट्ने बहस शुरु भइसकेको छ । वरिष्ठ नेता बालेन्द्र साह रास्वपाको कुनै कार्यक्रममा देखिएका छैनन्। जसले जनतामा आशंका पैदा गरेको छ । पञ्चायती व्यवस्थाविरुद्ध वर्षौं जेल बसेर नेताहरु पछि गएर अलगअलग बने । १० वर्ष जनयुद्ध गरेर राजतन्त्र फ्याँकेको माओवादी त टुक्राटुक्रा भयो भने रास्वपा फुट नहोला भन्न सकिँदैन । राजनीति परिवर्तनमा रास्वपाका नेताहरुको कुनै योगदान छैन। उनीहरु खारिएका नेता पनि होइन । रास्वपाका नेतामा इगो धेरै देखिन्छ । विगतबाट पाठ सिकेर जनताले रास्वपालाई मतदान गरेका हुन् । एकल सरकार बनेन र काम गर्न सकिएन भन्ने गुनासो सँधै पुराना दलको हुन्थ्यो । त्यसैले जनताले रास्वपालाई दुईतिहाई नजिक पुर्याएका हुन्।

अब उनीहरुले काम गर्नुपर्छ, देशमा समृद्धि ल्याउनुपर्छ, सिण्डिकेट तोड्नुपर्छ । रास्वपाले पनि काम गर्न सकेन भने राजनीतिक दलमाथिबाट जनताको विश्वास हराउँछ । चुनाव जितेपछि हराउने होइन, जनताको बीचमा बसेर काम गर्ने नेतृत्व देखियोस् । अहिले नै गुनासो सुन्न थालिइसकिएको छ। रास्वपाका नेताहरुले गुनासो सम्बोधन नगर्ने हो भने देशमा पुनः अर्को विद्रोह हुनसक्छ । देश सँधै आन्दोलनको चपेटामा परिरहनेछ । मौका दिँदा काम नगर्ने र अर्कोपटक गुनासो गर्ने प्रवृत्ति रास्वपामा नदेखियोस् । जनतालाई सुशासन चाहिएको छ।मँहगी नियन्त्रण, रोजगारी चाहिएको छ।

रास्वपाका उपसभापति डा स्वर्णिम वाग्लेले केही दिनअघि सचिवहरुलाई फोन गर्दै ठूला निर्णय नगर्न निर्देशन दिए । रास्वपाले गौरीबहादुर कार्कीको आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न रोक लगाइरहेको छ । अनि रास्वपामा सुशासन छ ? त्यो प्रतिवेदन त सार्वजनिक गरेर कार्यान्वयनमा लैजान लगाउनुपर्थ्यो।

तर, रास्वपाले त्यसो गरेन। ठूला निर्णय नगर्नु भन्न सक्नेले पेट्रोलियम पदार्थ र ग्याँसमा मूल्यवृद्धि हुने किन बोलेनन् ? कारण हो–सुशीला कार्कीमाथि दोष थुपार्ने । रास्वपाको नियत पनि प्रष्ट छ । त्यस्तालाई जनताले भोट दिएर जिताएका छन् । यिनीहरुको सरकार बनेपछि के के देख्नपर्छ ? हेर्नलाई ठिक्क भएर बसौं ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार