यो गजलको मात्र यात्रा होइन। यो दुई साथीको समझदारीको यात्रा हो। एउटा साथी गजल लेख्छ, अर्को साथी गजल मन पराउँदैन। तर दुवै साथी एकअर्कालाई सम्मान गर्छन्।
गजल लेख्ने भएर मैले महेन्द्र उपाध्यायलाई चिनेको होइन। राम्रो कथा लेख्न सक्ने मान्छे भनेर चिनेको हुँ। उसका कथाहरू पढ्दा लाग्थ्यो, यो मान्छे शब्दलाई मात्र होइन, मान्छेलाई पनि बाँचेर लेख्छ।
उसलाई सुरुमा मसँग खास चासो थिएन। मलाई थियो। त्यही चासोले कोट्याउँदै कोट्याउँदै चिनजान गरेको हुँ। फेसबुकको म्यासेन्जरबाट सुरु भएको कुराकानीले छिनमै भेट गराइदियो।
मान्छे सहज रहेछ। बोल्दा नअड्किने, सुन्दा नथाक्ने। दोस्ती निभाउन जान्ने।
पहिले इन्जिनियर हो भनेर थाहा थियो। पछि मात्र बुझेँ, समाज बुझ्ने मामलामा ऊ ठूलो घरको नक्सा बनाउनुभन्दा पनि मसिनो गरी सोच्छ। एउटा सानो घटनालाई पनि ऊ यति गहिराइमा पुगेर हेर्छ कि म भाउन्निन्छु।
म त घटनालाई घटनामै छोडिदिन्छु, ऊ घटनाभित्रका मान्छेहरूको मन खोज्छ र त्यहीँ पस्छ।
त्यही स्वभावले मन पर्यो उसलाई। आनीबानी त मिल्दैन हाम्रो। ऊ राति अबेरसम्म जाग्न सक्छ, म बिहानै उठ्छु।
म चिया पिउँदै काममा निस्कन्छु, उ चिया पिउँदै चिन्तन गर्छ। तर स्वभाव मिल्छ। दुवै जनाको झूटो सान्त्वना दिने बानी छैन। दुवै जना एकअर्काको कमजोरी देखेर हाँस्छौँ, तर हाँसोमा कुनै कटुता हुँदैन।
मलाई गजल विधा मन पर्दैनथ्यो। अहिले पनि उस्तो रुचि छैन। खासगरी नेपाली गजलको त्यो एउटै लय, आफ्नै मात्र सुनाउने तर अरूको नसुन्ने प्रवृत्ति।
म त्यै विचार गर्थें। ऊ मौन सुनिरहन्थ्यो। कहिल्यै मेरो विरोध गरेन। समर्थन पनि गरेन। तर उसको मौनता बोल्थ्यो। एक खालको शालीन विद्रोह थियो, त्यो।
एकदिन गोविन्द सुनारले जुम्लामा खोलेको ‘अन्नी घर’ मा बसेर गफिँदै थियौँ। चिया सेलाउँदै थियो। बाहिर जुम्लाको चिसो बतास चलिरहेको थियो।
कुरैकुरामा उसले भन्यो, ‘मेरो गजल संग्रह छापिएको छ नी, ‘एक’ नामको।’ म हाँसे, मेरो हाँसो फिक्का थियोे। जुन विधाको म घृणा गर्थें, त्यही विधाको किताब लेख्ने मेरो साथी रहेछ। ग्लानी भयो।
धेरै दिनसम्म मनमा खेलिरह्यो, त्यो कुरा। एकदिन, ‘तपाईंको गजल संग्रह पढौँ न,’ भनेँ। उसले हाँस्दै भन्यो, ‘नपढ्नुस्।’ मैले सोधेँ, ‘किन?’ उसले उत्तर दिएन।
मैले पढिनँ। उसले भनेको मानेर बसेँ। किन मानेर बसेँ, त्यो उसैले जानोस्। मलाई चाहिँ लाग्यो, यो मान्छेले मलाई मेरो स्वतन्त्रता दियो।
म उसको किताब पढ्न बाध्य थिइनँ। ऊ मलाई आफ्नो गजल मन पराउन बाध्य पार्न चाहँदैनथ्यो। त्यही दिनदेखि उसप्रति अझै गहिरो सम्मान बढ्यो।
पहिलो पटक कोरोना आयो। संसारले दूरी सिक्यो। हामीले नजिकिने बाटो खोज्यौँ। दिनदिनै भेट हुन थाल्यो। गफिन थाल्यौं।
कुरा धेरै ठूला थिएनन्, स-साना। तर ती साना कुराले हाम्रो दूरी छोट्याउँदै गयो। कोरोना गएपछि मान्छेहरू भौतिक रूपमा नजिकिए। हामी भावनात्मक रूपमा झन् नजिक भयौं।
विस्तारै भेट कम हुन थाल्यो। दुवैको काम, दुवैको दायित्व।
यही बीचमा एउटा मेसो मिलाएका छौँ। मैले दसैँ तिहारको बीचमा तराई यात्रा गरेँ। त्यही यात्राको एउटा ठूलो उपलब्धि बन्यो यो योजना।
उपलब्धि भन्नु कुटीरोले तय गरेको ‘अतलको यात्रा’। महेन्द्र उपाध्यायको गजल यात्रा। देशभर कम्तीमा १० सहरमा पुग्ने यो कार्यक्रम जुम्लाबाट सुरु हुँदैछ। मंसिर ११ गते।
कैलालीको मान्छेलाई जुम्ला किन चाहियो? धेरैको प्रश्न हुन सक्छ यो। म एउटा मात्र कारण भन्छु। बाँकी कारणहरू उसैले जानोस्।
महेन्द्र उपाध्यायले सिंजा बुझेको छ। खस सभ्यताको मुटु बुझेको छ। मष्टो परम्पराको गहिराइ छामेको छ। यहाँको भाषा, संस्कृति, पीडा र गर्व उसँग जीउँदो छ।
उसले यी विषयमा कथा मात्र होइन, गजल पनि लेखेको छ। त्यसैले यो यात्रा जुम्लाबाटै सुरु गर्नु स्वाभाविक भयो। त्यसमाथि यहाँको विकास निर्माणमा धेरथोर योगदान पनि छ।
ऊ ‘महेन्द्र’ न्वारानबाट ‘एमपी कियरलेस’ हुँदै ‘अतल’ सम्म आइपुगेको छ। यो नामहरूको यात्रा मात्र होइन, उसको साधनाको यात्रा हो।
कुटीरो यो कार्यक्रमको आयोजक हो। किनभने कुटीरोले यसअघि पनि एकल कविता वाचन र गीत गजलको यात्रा गर्दै आएको छ।
ऊ यो यात्रामा जोडिएको एउटा पात्र मात्र हो। यो यात्राका अरू पात्रहरू गर्भमै छन्। उनीहरू बिस्तारै जन्मिनेछन्। कोही कवि, कोही गायक, कोही कथाकार, गजलकार। सबै मिलेर यो यात्रालाई एउटा उत्सव बनाउनेछौँ।
जुम्लामा कार्यक्रम सकिएपछि हामी कर्णाली हुँदै सुर्खेत, नेपालगञ्ज, कोहलपुर, लम्की, धनगढी, महेन्द्रनगर पुग्नेछौँ। अनि पूर्वतिर लाग्नेछौँ। कम्तीमा दस ठाउँ। सायद त्योभन्दा बढी।
यो गजलको मात्र यात्रा होइन। यो दुई साथीको समझदारीको यात्रा हो। एउटा साथी गजल लेख्छ, अर्को साथी गजल मन पराउँदैन। तर दुवै साथी एकअर्कालाई सम्मान गर्छन्।
म उसको गजल सुन्न तयार छु। ऊ मेरो असहमति सुन्न तयार छ। यो के हो? यसको यसलाई के भनेर परिभाषा दिऊँ? होस! यत्तिकै मीठो सुनिन्छ। परिभाषा दिएर बाँध्नु छैन।
मंसिर ११ मा जुम्लाको चिसोमा जब ऊ पहिलो गजल वाचन गर्नेछ, म त्यहाँ हुनेछु। उसले गजल सुनाउँदै गर्दा म सोचिरहेको हुनेछु, त्यो दिन मैले उसको किताब नपढ्दा ठीक गरेछु।
किनभने अब म उसको गजल किताबबाट होइन, उसको आवाजबाट सुन्नेछु। जीउँदो स्वरमा। उसले लेखेका शब्दहरू उसकै ओठबाट निस्कँदा मलाई कस्तो लाग्छ, मलाई थाहा छैन। मात्र महसुस गर्नेछु।
के थाहा त्यो दिन मेरो गजलप्रतिको धारणा बदलिन सक्छ। बदलिनुपर्छ भन्ने छैन। तर बदलियो भने पनि मजाले बदलियोस्।
यो यात्रा सकिएपछि हामी फेरि पुरानै ठाउँमा फर्किनेछौँ। हामी भेटिएर वा भर्चुअल सम्बाद गर्नेछौं। ऊ कैलाली हुन्छ, म जुम्ला। तर हाम्रो दूरी फेरि कहिल्यै लामो हुनेछैन।
किनभने अब हामीबीच एउटा साझा सम्झना हुनेछ, ‘अतलको यात्रा’। एउटा यस्तो यात्रा, जसको सुरुवात एउटा असहमतिबाट भएको थियो र अन्त्य सायद एउटा ठूलो समझदारीमा हुनेछ।
उसले भनेझैँ, मैले अझै पनि उसको गजल संग्रह पढेको छैन। तर अब उसलाई सुन्नेछु। जुम्लाबाट सुरु गरेर देश डुल्दै गर्दा उसले जे भन्न खोज्यो, म सुन्न तयार छु। साथीको नाताले होइन, एउटा इमानदार पाठकको नाताले।
अतलको यात्रा होस्, प्रेमिलो होस् र लामो होस्। उसकै भाषामा बाँकी प्रेम छ!














