गुठिचौर गाउँपालिकाले महोत्सवलाई मनोरञ्जनको दृष्टिले सीमित नराखि साहसिक पर्यटनसँगै स्थानीय आर्थिक विकासको प्रमुख आधार बनाउन खोजेको छ।
जुम्ला गाउँपालिकाको गुठिचौर अब साहसिक पर्यटन र रोमाञ्चको नयाँ गन्तव्यको रूपमा चिनिन थालेको छ। यही सन्देशलाई साथ लिएर आइतबारदेखि गुठिचौरमा दोस्रो आकासे पर्व प्याराग्लाइडिङ महोत्सव सुरु हुँदैछ।
गाउँपालिकाको पहलमा आयोजना हुन लागेको यस महोत्सवले जुम्ला पर्यटनलाई नयाँ उचाइ दिने लक्ष्य राखेको छ। गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाका अनुसार यो महोत्सव केवल मनोरञ्जनको कार्यक्रम मात्र नभई साहसिक पर्यटन प्रवर्द्धनको ऐतिहासिक अवसर हो।
उनका शब्दमा, “यो महोत्सव गुठिचौरलाई साहसिक पर्यटनको नक्सामा राख्ने अवसर हो। आकाशबाट उड्दै गर्दा स्याउबगान, हरियाली बन, हिमशृङ्खला र गाउँघरको मनमोहक दृश्य एकै साथ देख्ने अनुभवले यहाँ आउने जो कोहीलाई जीवनभर सम्झनामा बाँध्नेछ।”
महोत्सवमा सहभागी हुने पर्यटकले २० देखि ३० मिनेटसम्म प्रशिक्षित पाइलटको साथमा सुरक्षित उडान भरिनेछ। गाउँपालिकाले सेवाशुल्क पनि स्पष्ट पारेको छ, स्थानीय पर्यटकका लागि ३५ सय रुपैयाँ र बाहिरी पर्यटकका लागि ४५ सय रुपैयाँ तोकिएको छ।
उपाध्यक्ष शान्तिकुमारी मल्ल ‘भण्डारी’ले यसबारे भनिन्, “यो केवल आकाशमा उड्ने कुरा होइन, यो जीवनभर सम्झनामा रहने क्षण हो। कर्णालीका पहाड, वन र हिमाललाई आकाशबाट नियाल्दा त्यो क्षण शब्दभन्दा परको रोमाञ्च हुनेछ।”
गुठिचौर गाउँपालिकाले महोत्सवलाई मनोरञ्जनको दृष्टिले सीमित नराखि साहसिक पर्यटनसँगै स्थानीय आर्थिक विकासको प्रमुख आधार बनाउन खोजेको छ।
प्रमुख प्रशासकीय अधिकृत मायाँ लक्ष्मी बुढाका अनुसार, “हाम्रो क्षेत्र अब केवल कृषिमा सीमित छैन। हामी पर्यटनमैत्री गन्तव्यको रूपमा अघि बढ्दैछौं।”
“यो महोत्सव गुठिचौर मात्र नभई सम्पूर्ण जुम्लाको पहिचान बदल्ने सम्भावना बोकेको छ। स्याउको रस, हिमालको दृश्य र आकाशको छातीमा उड्ने साहसिकता, यी सबै अब जुम्लामा एकैसाथ पाउन सकिन्छ,” उनले थपिन्।
साहसिक पर्यटनप्रति पछिल्लो समय बढ्दो आकर्षणलाई गुठिचौरले अवसरको रूपमा लिएको छ। हिमाल, स्याउबगान र स्वच्छ वातावरणले भरिएको यो गाउँपालिकाले पर्यटकलाई आकाशबाट दृश्य अवलोकन गर्ने विशेष अनुभव दिन सके जुम्ला मात्रै नभई कर्णाली प्रदेश नै साहसिक पर्यटनको नयाँ गन्तव्य बन्ने अपेक्षा गरिएको छ।
महोत्सवका तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ। आवश्यक पूर्वाधार निर्माण, सुरक्षा व्यवस्था र पाइलट व्यवस्थापन पूरा भइसकेको छ।
महोत्सवमा सहभागिता जनाउने पर्यटकलाई प्रशिक्षित पाइलटसहित सुरक्षित र रोमाञ्चक उडान उपलब्ध गराइनेछ। सुरक्षाका लागि स्वास्थ्यकर्मी र आवश्यक उपकरण समेत तयारी अवस्थामा राखिए पालिकाले जानकारी दिएको छ।
स्थानीयका अनुसार, यस किसिमका महोत्सवले उनीहरूको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्नेछ। होटल, रेष्टुराँ, यातायात, गाइड सेवा लगायतका क्षेत्रमा रोजगारी बढ्ने अपेक्षा गरिएको छ। साथै, स्थानीय उत्पादनलाई बजारमा पुर्याउने अवसर पनि यसले दिनेछ।
अघिल्लो वर्ष पनि आयोजित यस महोत्सवलाई गुठिचौरले वार्षिक पर्वका रूपमा संस्थागत गर्ने योजना पनि बनाए अध्यक्ष बुढाको भनाइ छ। यसबाट निरन्तर पर्यटक भित्र्याएर गाउँपालिकाको आर्थिक आधार मजबुत बनाउन सकिने आशा लिइएको छ।
उनका अनुसार साहसिक पर्यटनलाई व्यवस्थित गर्ने यो कदमले भविष्यमा अन्तर्राष्ट्रिय स्तरका खेलाडी र पर्यटकलाई समेत आकर्षित गर्ने सम्भावना छ।














