सोमबार, ९ भाद्र, २०८२

धित नमरेको रारा यात्रा

पहिलोचोटी जमिनमुनिबाट भुलभुलेमा पानीको खोलो बगेको देख्दा आश्चर्यचकित भएँ। लंक दाजुले “घुच्चीको पाटन आउँदैछ, झन् रमाइलो छ”, भन्दै कौतूहलता जगाइरहनु भएको थियो। मलाई मेरो मनमा ‘त्यस्तो के होला?’ भन्ने लागिरहेको थियो।

जुम्ला सदरमुकाम खलंगाबाट पहिलो चेरेँचौर, डाँफे लेक, खाली बाटो थारमारे, न्याउरीगाढ, काभ्राओढार, भाड, चौथा, भुलभुले हुँदै जुम्ला र मुगुको सिमाना घुच्ची पुग्नु भन्दा करिब १५ मिनेट यतैको भित्री बाटो भएर भालुलेख हुँदै राराताल जान छोटो बाटो रोज्न सकिन्थ्यो। दोस्रो बाटो घुच्चीलेक हुँदै रैँसेडी प्रहरी चौकी, बालाईँ गाउँ हुँदै मुगु सदरमुकाम गमगढी पुगेर जान सकिन्छ।

म पहिलो पटक जिल्ला सरकारी वकील कार्यालय मुगुको खरिदार पदमा पास गरेर २०५३ साल भाद्र महिनामा पुनरावेदन सरकारी वकिल कार्यालय बिजयनगर खलंगा, जुम्लाबाट नियुक्ती लिई २६ गते बिहान घरमै खाना खाई आमाको हातबाट टीका लगाएर राउतबाडा ठिन्के रुखनेर (आचार्यबाडा) जुम्ला घर भई कृषि विकास कार्यालय, मुगुको खरिदार पदमा कार्यरत लंकबहादुर अधिकारी दाजुको साथमा बिहान करिब ९:१५ बजेतिर उहाँकै साथमा गमगढीतर्फ प्रस्थान गरेको थिएँ।

धर्मपत्नी पूर्णिमा चार महिनाकी गर्भवती थिइन्। भाइ देवेन्द्र एसएलसी दिने थिए, यसै वर्ष। जता गए पनि यो वर्ष आमालाई कुदाकुद र चटारो थियो। दोजिया हुनु अघि आमाले गर्ने काम पूर्णिमाले खोसेकी थिइन्। घरको सामान्य काम र खाना आमाले बनाउनुहुन्थ्यो। खेतिपातीदेखि बाहिरको काम पूर्णिमाले सघाएकी थिइन्। बुवा सरुवा भएर दाङ जानुभएको थियो। बुवाले भैपरी काममा सघाउनु भएको थियो। बाबु–नानी जन्मेका थिएनन्। मलाई २०५३ भाद्रसम्म राराताल पुग्ने न दिन जुरेको थियो, न साईत मिलेको थियो। संयोगले १ सिट खुलेको थियो, त्यसैमा पाँच जनाको लिखित परीक्षामा नाम निस्केको थियो। अन्तर्वार्ता समेतबाट मेरो नाम सिफारिस भई मुगु जान तव अवसर जुरेको थियो।

बाटोमा भण्डारीबाडा, बुढ्थापा गाउँ, सिमखाडा गाउँ, कर्णाली प्राविधिक शिक्षालय, चेरेँचौरसम्म बिस्तारै जाँदा पनि लगभग बाह्र बजिसकेको थियो।

भिनाजु गोपीचन्द्र चेरेँचौरको खर्कमा गाईभैँसी लिएर बस्नुभएकोले हामी दुई जनालाई टन्न दही खुवाएर बिदाई गर्नुभयो। हामी भने दहीको साईत परेकोले यात्रा मंगलमय हुनेमा विश्वस्त हुँदै डाँफे लेकको उकालो चढ्यौँ। हामी घरीघरी जुम्ला बजार हेर्दै डाँफे लेक पुग्यौँ लगभग १ घण्टा लगाएर। डाँफेलेकबाट जुम्ला बजार भाद्र महिनामा जतासुकै हरियाली, धान झुलेर लहलह, क्षितिजमा जाजरकोटका डाँडाहरू देखिन्थे। मानौँ यो समय डाँफे लेकबाट जुम्ला हेर्न पाउनु एउटा स्वर्ग मिलेको अनुभूति भयो। डाँफेलेकबाट पटमारा लेक र पातारासी हिमाल पनि देखिने रहेछ। हामी अग्लो लेकबाट प्रकृतिका सुन्दर दृश्य हेर्दा हेर्दै लोभले भुतुक्क भएका थियौँ।

मैले हिउँ परेको बेला डाँफे लेकबाट हिँड्नु हुँदैन, हिउँ पैरो आउँछ भन्ने सुनेको थिएँ, साँच्चिकै डर लाग्दो रहेछ। हामी एकछिन खाली भन्ने ठाउँ होटेल रहेछन्, चिया पिएर थारमारे हुँदै न्याउरीगाढको ओरालो झर्यौँ। लंक दाजु साँच्चै रसिलो, मज्जाको हुनुहुँदोरहेछ, बीचबीचमा ठट्टा गर्दै, गफ गर्दै दुई घण्टा जतिमा न्याउरीगाढ पुर्याउनुभयो। मैले भोजपत्र, बाँझ र झुलका रुख अनि निगालाको झाडी देखेको थिइनँ। न्याउरीगाढको ओरालोका जंगलमा देखेको थिएँ।

न्याउरीगाढमा ४/५ वटा होटेल, घर थिए। न्याउरीगाढमा लंक दाजुले चिया पिउँ, थकाई मारेर जाउँ भनेपछि हामी चिया पिएर काभ्राओढारतर्फ लाग्यौँ। नजिकै न्याउरीगाढ बडो फुर्तिले उर्लिरहेको थियो, हिउँदमा सजिलै वारपार गर्न सकिने न्याउरीगाढको यस बेला किनारमा जाने तागतै थिएन। हामी किनारैकिनार काभ्राओढारतर्फ लाग्यौँ। ओढारमा पुग्ने बेला ठाडो उकालो रहेछ। ठूलो ढुङ्गाको ओढारमुनि दुईवटा घर थिए– एउटा खाने र अर्को सुत्ने। थाकेको ज्यान भएकोले लखतरान हुँदै हामी नौ बजेनै सुतिहाल्यौँ। चाँडै निदाएछौँ, बिहान उठ्दा ५:३० बजेको थियो।

चिया पिएर भाड हुँदै चौथा, साउने भण्डारीको चिया पसलमा फेरि चिया थप्यौँ। भुलभुलेतर्फ खोलखोलै ठाडो उकालो लाग्यौँ। साढे आठ बजेतिर सल्यानी साहुनीको भण्डारी पसलमा पुग्यौँ, त्यही खाना खाने निधो भयो। साहुलाई खानाको अर्डर गरेर हामीले नुहाईदुहाई सक्यौँ। आलु–काउलीको तरकारी, भाँगोको चटनी, सिमीको दाल, मार्सी चामलको भात, दाल जिम्मुले झानेका रहेछन्। लेकको यात्रामा यति मिठो खाना खान पाएपछि हामीले थपिथपि खायौँ।

एकछिन आराम गरेर लगभग दश बजेतिर हामी हिँड्यौँ। पहाड, खोला, खाल्सी, पानीको कर्णप्रिय छङछङ आवाजले यात्रालाई थप मनोरञ्जन दिइरहेको थियो। माथितिर रारा राष्ट्रिय निकुञ्जको पहाड, तलतिर पाखोवारी थियो, जहाँ भुलभुलेका भण्डारीहरूले वर्षमा एकबाली फल्ने हिउँदे जौँ, गहुँ र वर्षामा फल्ने फापर र आलु लगाउने रहेछन्।

पहिलोचोटी जमिनमुनिबाट भुलभुलेमा पानीको खोलो बगेको देख्दा आश्चर्यचकित भएँ। लंक दाजुले “घुच्चीको पाटन आउँदैछ, झन् रमाइलो छ”, भन्दै कौतूहलता जगाइरहनु भएको थियो। मलाई मेरो मनमा ‘त्यस्तो के होला?’ भन्ने लागिरहेको थियो। साँच्चिकै त्यहाँ पुगेपछि मुगु पिना गाउँको खरक रहेछन्, जहाँ धेरै गाईभैँसी थिए। घोडा–घोडी, भेडाका धेरै बथान र तिनलाई हेर्ने खरक, गोठ बनाएर बसेका गोठालाहरू। बाह्य सुरक्षाका लागि घाँटीमा घण्टी लगाएका ठूला–ठूला जाडे र भोटे कुकुर बाँधेका थिए, कुकुरको आवाजै परपरसम्म सुनिने ‘भ्वाङभ्वाङ’ आवाज।

हामीले एकछिनमा घुच्चीको देउराली सिमालाई ढोगेर मुगुको ओरालो रैँसेडी प्रहरी चौकीतर्फ लाग्यौँ। ओरालोमा अडिन कठिन हुने ठाडो ओरालो रहेछ। यस्तो कठिन बाटो जीवनको पहिलो पटक हिँडेको थिएँ। क्षितिजपारी अग्लाअग्ला मुगुका हिमाल देखिन्थे। कुहिरो माथि निलो आकाश, आकाशमुनि पहाडका टाकुरा– यसरी बादलले लुकामारी खेलीरहेको थियो। हामीले रैँसेडीको धारामा पानी पियौँ। नजिकको पिना गाउँ, जहाँ शाही र बम ठकुरी जातिको बाहुल्यता रहेछ। त्यहीँ पर माथि डाँडामा बन्दै गरेको ताल्च विमानस्थल रहेछ।

हामी ओरालो बाटो हिँड्दै दिउँसो ४:०० बजेतिर बालाईँ गाउँमा पुग्यौँ। हामीले थकाई मार्न चिया पसल हेर्‍यौँ, पानी र चिया पिएपछि अन्तिम बिन्दु गमगढीतर्फ लाग्यौँ। केही पर पुगेर उकालोबाट ओरालोतर्फ पसारिएको डाँडामाथिको गमगढी बजार देखियो। जतिजति नजिक जान्थ्यौँ, टिनका जस्ता पाताले छाएका सरकारी भवन, व्यापारी अनि स्थानिय घरानाका घरले बजारमय देखिएको थियो। हामी चैनगाउँ हुँदै गमगढी बजारको उकालो चढ्यौँ।

लंक दाजु स्थानीय ठाउँबारे बताइरहनु भएको थियो। हामी एकछिनमा बिच बजारमा रहेको जिल्ला सरकारी वकील कार्यालयमा पुग्यौँ। त्यहाँ मोरङ घर भएका का.मु. सरकारी वकील महानन्द दाहाल र अन्य कर्मचारीमा अस्थायी करार सुब्बा बर्दियाका गम्भीर राना मगर, एक जना दैलेखका मुखिया एवं कार्यालय सहयोगीमा रामबहादुर बुढा र जर्नबहादुर महतारा रहेछन्। सबैले स्वागत र अभिवादन गरे।

त्यो दिन खानाको बन्दोबस्त महानन्द सरले मिलाउनु भयो। सुत्ने खाट–खटियाको पनि बन्दोबस्त भयो। लंक दाजु आफ्नो अफिसतिर लाग्नु भयो। उहाँलाई आरामसाथ ल्याइ पुर्‍याएकोमा धन्यवाद दिई बिदाई गरेँ। साँझ परेपछि डर लागेको थियो। मुगुमा बिजुली त पुगेको छैन, कसरी उज्यालो हुन्छ होला? सुनेको थिएँ सोलार पावर छ भनेर। संयोग या खुसीको खबर नै भन्नुपर्छ, त्यही सोलारले बिजुली बत्तीको काम गरेको रहेछ।

एक रुपैयाँको नोटमा भएको दुईवटा पहाडको चुचुरा सहित कस्तुरी खेलेको चंखेली लेक, मुगु र हुम्लाको सिमानामा पर्दछ, जुन मुगुको सदरमुकाम गमगढी बजारबाट सहजै देखिन्छ भन्ने सुनेको थिएँ। कतिखेर रात जाला र भोलि बिहान मिर्मिरे उज्यालो सँगै बजार र चंखेली लेक हेरौँला भन्ने भैरहेको थियो मलाई।

भोलिपल्ट सबेरै बिहान नुहाई कृषि विकास कार्यालयमा गएँ, लंक दाजु उठेर अफिस अघि हुनुहुँदो रहेछ। दाजु भन्नुभयो, “बजार घुमौँ र चंखेली लेक हेरौँ”। उहाँले बजारसँगै महाकाली मावि सम्म पुर्‍याएर “उ चंखेली लेक” भनी देखाउनुभयो। आँखा अगाडि देख्न पाउँदा अत्यन्त खुशी भएँ। केही सपना पुरा भएको अनुभूति भयो।

फोन पुगेको थिएन। भोलिपल्ट, तत्कालै भाद्र २९ गते नै दूरसञ्चारबाट “आरामसाथ गमगढी पुगेको छु” भनेर सन्देश पठाएँ घरमा। अनि हुलाकबाट चिठ्ठी पनि। जिल्ला सरकारी वकील कार्यालय, मुगुको खरिदार पदमा पदस्थापन भई बहाल भई अनि हाजिर भएको जानकारी पनि श्री महान्यायाधिवक्ताको कार्यालय काठमाडौं र पुनरावेदन सरकारी वकील कार्यालय, जुम्लालाई विलम्ब नगरी लेखी पठाएँ।

हाजिर भएपछि निजामती सेवामा प्रवेश गर्दै गर्दाको करिब एक वर्षको अध्याय सकिएको थियो। अब मुगु, गमगढीको सिरानमा रहेको नेपालकै सुन्दर ताल रारा—कतिखेर पुग्ने भन्ने हुटहुटी बाँकी थियो। त्यो मृगतृष्णा थियो। म भाद्र २८ गते हाजिर भएर २९ गते नै रारा हेर्न जाने वातावरण बनाएँ।

यसको लागि लंक दाजु र कार्यालय सहयोगी जर्नबहादुर महतारालाई लिएर बिहानै रारा तर्फ लागि हाल्यौँ। जतिजति उकालो चढ्दै जान्थेँ, रारालाई देख्न आतुर थिएँ। “रारा स्वर्गकी अप्सरा” भन्ने मविवि शाहको कविताबाट प्रभावित भएको थिएँ। कर्णाली अञ्चलका वरिष्ठ साहित्यकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ रत्नाकर देवकोटाको “नेपालको गौरव गहना रारा दह” भन्ने लेख पढेको थिएँ।

यसका अतिरिक्त रारा राष्ट्रिय निकुञ्जबारे, यसको लम्बाइ, चौडाइ र क्षेत्रफल पनि पढेको थिएँ। नेपालको सुन्दर र सबैभन्दा ठूलो सफा ताल भन्ने पनि पढेको थिएँ। गमगढीबाट तीन घण्टा जति लाग्छ भन्ने सुनेको थिएँ। बिहानै ढिला नगरी सरासर उकालो चढ्यौँ।

ढाई घण्टा जति लागेपछि हामीले सल्लाघारीको आँखीझ्यालबाट राराताल टिल्पिलाइरहेको देख्यौँ। अनि सोधेँ, “यही हो ताल?” लंक दाजु र जर्न महताराले भने, “हो यही हो।” अनि हामी राराको पूर्वी भाग हेर्न झर्यौँ।

शान्त, निश्चल, सुन्दर ताल, किनारमा जातजातका राता, पहेँला सिम्फुलले भुइँ सिँगारिएको थियो। हामी पूर्वी भागबाट आर्मी क्याम्प, वार्डेन कार्यालय, तालको निकास हुँदै मिलीचौरतर्फ बढ्यौँ, जहाँबाट ताल र निकुञ्ज सुन्दर देखिरहेको थियो।

राराताल हेर्दै जब मध्य भागतिर पुग्यौँ, ताल निश्चल, कञ्चन, विशाल देखिएको थियो। हावा चल्दा पानी टिलपिल टिलपिल गर्नेरहेछ। रारातालमा भालुलेक र चंखेलीको छायाँ देखिने रहेछ। सबैभन्दा छायाँनाथ र हिमाली दृश्य देखिने रहेछ।

रारातालको सुन्दरताको व्याख्या एक घण्टामा, एक दिन, एकै मौसममा घुमेर सकिने रहेनछ। दिन जति ढल्किन्छ, उति दृश्य रारातालमा देखिने रहेछन्। भदौ महिनाको बादलसँग रारातालको लुकामारी, र हिउँ परेको बेलाको रारातालको मनोरञ्जन लिन त्यही समय पुग्नु पर्दछ।

हिउँदको समयमा यो ताल र निकुञ्ज हिउँले ढपक्कै ढाकिन्छ नै। वर्षामा राराताल वरिपरि जात–जातका राता, पहेँला, सेता फूल र हरियालीले ढपक्कै ढाकेको दृश्यले सबै पीडा बिर्सेको थिएँ। जति हेरे पनि धितै मरेन।

देशका आन्तरिक र विदेशी पर्यटकको प्रमुख रोजाइमा पर्ने मुगु जिल्लाको राराताल समुन्द्री सतहबाट २,९९० मिटर उचाइमा अवस्थित छ। यस तालको औसत लम्बाइ ५ किलोमिटर, चौडाइ ३ किलोमिटर र गहिराइ १६७ मिटर रहेको छ।

एक अध्ययन अनुसार, रारा राष्ट्रिय निकुञ्जमा ५१ प्रजातिका स्तनधारी जनावर, २७२ प्रजातिका चराचुरुंगी र विश्वमै अन्यत्र नपाइने ‘स्नो टाउट’ प्रजातिको माछा यस तालमा पाइने रहेछ। रारातालको पूरा आकृति हेर्न मुर्मा टपमा पुग्न सके राम्रो तस्बिर आउँछ भन्छन् स्थानीयहरू।

रारातालको फन्को मार्न ५ घण्टा लाग्ने अनुमान छ। ताल फेरि हेर्ने इच्छा राख्दै मेरो मानसपटलमा कैद भएको गजल:

चित्र–परी सँगै छुंझैँ लाग्ने पानी छल्काई चल्दा खेरी
एति धेरै मज्जा आयो छालमा आँखा डुल्दा खेरी।

परी सँगै छुँ झैँ लाग्ने पानी छल्काई चल्दा खेरी
एति धेरै मज्जाआयो छाल् मा आँखा डुल्दा खेरी।

घरी नजर् ताल् मा जान्थे घरी नजर माछा तीर
एति धेरै मोहित भएँ ताल् मा माछा खेल्दा खेरी।

शिर शिर हावा चल्दै थियो मन् रारामा कुद्दै थियो
छायाँनाथ र चंखेलीले रारा तालमा पौड्दा खेरी।

स्विकार् गरिन् हुन्छ भनी नमानेर लाज उनले
लठ्ठ नहोेउ भन्दै थिइन् रारा सँग खेल्दा खेरी।

मीठो त्यो लेकको गर्मी फूल सँगै ताल हेर्दा
सुगन्धको आभाष् हुन्थ्यो जमिनपनि मोल्दा खेरी।

रारासँग प्रस्ताव राख्यो प्रिती लाउन यो देवकोटाले
गैह्रो माया बसि दियो उनी राजी हुँदा खेरी।

(‘प्रशान्त’ २०८२/०४/२० मंगलवार)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार